जब अध्यक्ष एक्लै खान तम्सिए

जब अध्यक्ष एक्लै खान तम्सिए

मोरङ, बेलबारी ११ को सिर्जना सामुदायिक वनका अध्यक्ष कांग्रेस सभापति छत्र लिम्बूले समितिका पदाधिकारी तथा सदस्यहरूलाई थाहै नदिई १८ लाखभन्दा बढीको काठ बिक्री गरेपछि अख्तियार र वन कार्यालय छानबिनमा उत्रिएका छन् । 

कार्यकाल सकिएर चुनावी साधारणसभा हुनुपूर्व लिम्बूले सामुदायिक वनको घाटगद्दीबाट काठ बिक्री गरेका हुन् । उनले विभिन्न उपभोक्ता तथा केही संस्थालाई किर्ते कागजात बनाई काठ बिक्री गरेको खुलेपछि सोबारे वन कार्यालयले छानबिन अगाडि बढाएको छ । लिम्बूले ४ सय २८ दशमलव २१ क्युबिक फिट सखुवाको लकडी, २ सय ३२ दशमलव १७ क्युबिक फिट बोटधगेरो र ३ सय २८ दशमलव १७ क्युबिक फिट गरी कूल ९ सय ८७ दशमलव ५५ क्युबिक लकडी बिक्री गरेको खुलेको छ । 

रकम हिनामिना गरेको खुलेपछि वनले अलाउद्दिन अन्सारीलाई अनुसन्धानका लागि खटाएको छ । अख्तियारले छानबिन तथा कारबाहीका लागि २ पटक पत्राचार गरिसकेको बताइएको छ । लिम्बूले बेलबारी ८ को धीरनाथ स्याम्फुल माविलाई ४ लाख बराबरको सहयोग गरेको दाबी गरेका थिए । स्कूलले भने सिर्जना सामुदायिक वनबाट कुनै सहयोग प्राप्त नभएको भन्दै छानबिन गरिरहेका वन अधिकृतलाई पत्राचार गरेको छ । लिम्बूले केही उपभोक्ताको नाममा काठ खरिद गरेको रसिद काटेका थिए । प्रतिक्युबिक फिट १ हजार ६ सयदेखि ३ हजारको दरले लकडी किनेको विवरण बनाइएको थियो । उपभोक्ताहरूले समेत आफूहरूले काठ नलिएको बताएपछि लिम्बूले काष्ठ मिलमा लगेर काठ बिक्री गरेको अनुमान गरिएको छ । 

वनका अध्यक्षले मनोमानीसँग काठ बिक्री गरेको बारे सोध्दा सिर्जना सामुदायिक वनका पूर्वसचिव कृष्ण हुमागाइँले अध्यक्ष एक्लैले काठ बिक्री गरेको बताए । त्यसो त विभिन्न माथापच्चीका बाबजुद सो सामुदायिक वनमा नयाँ समिति चयन भएको छ । एक आपसमा भिडेका कांग्रेसका २ उम्मेदवारलाई उछिन्दै मोरङ ३ का संघीय सांसद सुनिल शर्मालाई चुनावमा सघाएका जनता समाजवादीका देउमान लिम्बू अध्यक्ष बनेका छन् ।
 

टिप्पणीहरू