लोकतान्त्रिक संस्थाविरुद्ध मोहभंग पैदा गर्ने प्रयास भैरहेको छ, संसद सचेत हुनुपर्छ - प्रधानमन्त्री प्रचण्ड

लोकतान्त्रिक संस्थाविरुद्ध मोहभंग पैदा गर्ने प्रयास भैरहेको छ, संसद सचेत हुनुपर्छ - प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पछिल्लो समय सार्वजनिक बहसको स्तर खस्किंदै गएको भन्दै चिन्ता जनाउनुभएको छ ।  

आज प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो । चौतर्फी अविश्वास खडा गरेर लोकतान्त्रिक संस्थाविरुद्ध मोहभंग पैदा गर्ने प्रयासस्वरूप यस्तो भैरहेको प्रधानमन्त्री प्रचण्डको बुझाई छ । 

‘हाम्रो सार्वजनिक बहसको स्तर खस्केको छ । चौतर्फी अविश्वास खडा गर्ने र लोकतान्त्रिक संस्थाविरुद्ध मोहभंग पैदा गर्ने प्रयास भइरहेको छ', उहाँले भन्नुभयो ।

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले संसदमा मूख्य विषयले भन्दा सहायक कुराले बढी महत्व पाउँदा जनतामा भ्रम उत्पन्न भैरहेकोतर्फ पनि सचेत गराउनुभएको छ । 

'संसदसँगै पनि मेरो गुनासो छ । भर्खरैको मेरो भारत भ्रमणमा वर्षौंदेखि रोकिएको नेपाल–भारत पारवहन सन्धि संशोधनसहित नवीकरण भयो । भारत र तेस्रो विश्वसम्म विद्युत निर्यातका लागि ऐतिहासिक ब्रेक थ्रुरु भएको छ । तर, हामीले यति ठूला उपलब्धिलाई छाडेर मुर्रा राँगो हो कि भैंसी भन्ने विवादमा संसदको लामो समय लियौं', प्रधानमन्त्रीले भन्नुभयो, 'यस्ता घटनाबाट जनतामा पर्ने प्रभावबारे यो सम्मानित संसद गम्भीर हो भन्ने मेरो आग्रह छ ।'

टिप्पणीहरू