भुटानी शरणार्थी काण्डको सफल अनुसन्धानले जनतामा लोकतन्त्रप्रति विश्वास जागेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शरणार्थीको फाइल खोलेर सरकारले कानुनबाहिर जाने जोसुकै कारबाहीमा पर्ने सन्देश दिएको बताउनुभएको छ ।
आज प्रतिनिधिसभा बैठकमा बजेटबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा उहाँले यसले कानून सबैलाई समान हुन्छ भन्ने प्रमाणित भएको पनि बताउनुभयो । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा कानुनको सर्वोच्चता स्थापित भएको छ । लोकतन्त्रमा उब्जिएको समस्याको समाधान लोकतन्त्रबाटै हुन्छ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘उच्च पदस्थहरु कानुनमाथि छन् भन्ने बुझाई गलत सावित भएको छ ।'
कानुन सबैलाई समान हुन्छ भन्ने विश्वास जगाउन सक्नुलाई उहाँले लोकतन्त्रको सर्भिसिङ र शुद्धिकरणको अर्थमा व्याख्या गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास प्रकरणका आरोपितहरू पक्राउ पर्न थालेको पनि जानकारी दिनुभयो।
भ्रष्टाचारका घटनाको अनुसन्धान र कारबाहीले जनतामा विश्वास जागेको र यसले कानुनको सर्वोच्चता मात्र नभएर लोकतन्त्रको सर्वोच्चता पनि स्थापित गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
टिप्पणीहरू