धर्तीमै छ स्वर्ग, त्यो हो लिम्चुङबुङ

धर्तीमै छ स्वर्ग, त्यो हो लिम्चुङबुङ

हिउँदमा दोबाटे डाँडा (एभरेष्ट भ्यूटप)बाट हेर्दा रुवाझैं हल्का सेतै बादलहरूले पहाडी गाउँवस्तीहरूलाई सर्लक्क सुरक्षा दिन छोपेझैं देखिन्छ । जसरी एउटा आमा कुखुरीले चल्लाहरूलाई छोपेर सुरक्षा दिन्छिन्, त्यस्तै सुरक्षा दिएजस्तै लाग्छ, भीमकाय आकाशबाट । त्यसबेला बादलमाथि तैरिएको अनुभव बटुल्दा निकै रोमाञ्च महसुस हुन्छ ।

हो, बादलमाथि चिलगाडीले कावा हानेझैं मडारिएर प्रत्यक्षानुभूति गर्न सकिन्छ । पानी परेर आकाश खुल्नु मात्रै पर्छ । यो जादुमय क्षण दोबाटेको डाँडाबाट बिहानै अनुभव गर्न सकिन्छ । अलाउद्दिनको उड्ने गलैंचामा बसेर धर्ती हेरेझैं लाग्छ दोबाटे डाँडाबाट पहाडी बस्ती छोपिएका दृश्यहरू । लाग्छ, जो कोही पनि अलाउद्दिन बन्न सक्छ । आकाशमा जादुमयकालीन (गलैंचा) मा बसेर सयर गरेको अनुभव संगाल्न दोबाटेले अवसर जुटाइदिन्छ । आँखैअघि हलेसी झुम्मिन आइपुग्छ । आँखैअघि बाराहा, ताप्ली, रुम्जाटार, पाताले डाँडाहरू सघन बादलले ढाकिएर सुरक्षित बसेजस्तै लाग्छ । दोबाटेबाट यो दृश्यपान गर्दा जो कोहीलाई पनि बादलसँगै लुकामारी खेलेझैं अनुभव हुन्छ । बादलुको घुम्टोले छोपिएका पहाडी गाउँबस्ती झनै झनैं बादलसँग खुल्दै गएझैं लाग्छ । 

मंसिरदेखि माघ पहिलो हप्ताका अवधिमा बेला–बेला एभरेष्ट भ्यू टपमा हिउँका डल्ला फोर्न मन लागे खुरुरु दगुरेर पुग्न सकिन्छ । हिउँमा चिप्लेटी खेल्नु, हिउँ छ्यापाछ्याप गर्नु, हिउँका घर र खेलौना बनाउनु अनि हिउँमैं बुर्कुसी मार्दै रमाइलो गर्नु कसलाई मन नलाग्दो होला र ? हो, यस्तो मनको बात बुझ्ने गरेको छ दोबाटे डाँडाले र त्यसमाथि थपिँदैछ एभरेष्ट भ्यू टप । जुन ठाउँ मुर्कुच्चीभन्दा ३६ किमि उत्तरमा कच्ची सडक भएर पुग्न सकिन्छ । सम्भवतः सिराहा, सप्तरी, महोत्तरी, धनुषा, बारा, सर्लाही, पर्सा, उदयपुर, सुनसरी र मोरङलगायत पर्यटकहरूका लागि, हिमालको देशमा जन्मेर हिउँ नछुने र नदेख्नेहरूका लागि कम खर्चिलो र छोटो समयमा हिउँसँग साक्षात्कार हुने सबैभन्दा नजिकको थलो हो दोबाटे डाँडा । 

त्यसैगरी बिहार, पश्चिम बङ्गालका भारतीय पर्यटकहरू जो प्रकृतिसँग रमाउन चाहन्छन्, हिउँमा लडिबुडी गर्न मन पराउँछन्, हिमाल हेर्न रुचाउँछन् ती सबैका लागि झनै आकर्षक प्याकेज हो दोबाटे । दोबाटे डाँडा भई पूर्वको पशुपति हलेसी जाने सबैभन्दा छोटो र सुरक्षित बाटो निर्माण हुँदैछ । जसको लम्बाई मदन भण्डारी राजमार्गको मुर्कुचीबाट करिब ८५ किमि मात्रै छ । कच्ची बाटो त अहिले पनि छ । तर पक्की (कालोपत्रे) सडक बन्ने तरखरमा छ ।

कालोपत्रे सडक बन्नेबित्तिकै पशुपति (हलेसी)को दर्शन सिद्राको व्यापार अर्थात् लिम्चुङबुङको अनेकन अग्र्यानिक उत्पादन र एभरेष्ट भ्यू टपको स्वाद लिन चाहनेको संख्या लाखौंमा पुग्ने विश्वास लिन सकिन्छ । दोबाटे (एभरेष्ट भ्यू टप) हो, दोबाटेको डाँडामैं बसेर बादलसँग लुकामारी गर्न सकिन्छ । हुस्सु र कुहिरोमैं हराएर एकछिन प्रेमिल हुन सकिन्छ । साँच्चै यो जादु दोबाटेमा छ ।     
 

टिप्पणीहरू