रास्वपाका अर्का सांसदको संकल्प प्रस्ताव दर्ता

रास्वपाका अर्का सांसदको संकल्प प्रस्ताव दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठले प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएका छन् । प्रि–मनसुन र डेंगुलगायतका महामारी नियन्त्रणका लागि पूर्वतयारीको माग गर्दै उनले आज संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् । 

जेठको पहिलो हप्तादेखि नै शुरु भएको प्रि–मनसुनले सबैलाई झस्काएको उल्लेख गर्दै श्रेष्ठले सम्भावित महामारीपूर्व नै सावधानी अपनाउनुपर्ने बताएका छन् । उनले डेंगु रोगले महामारीको रुप लिनसक्ने सम्भावना रहेको र विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि डेंगु रोगको जोखिमयुक्त मुलुकको सूचीमा राखेको संकल्प प्रस्तावमा उल्लेख गरेका छन् । 

सांसद श्रेष्ठले विगतका कोरोना लगायतका महामारीले बेलैमा तयारीको लागि पाठ सिकाएको बताउँदै रोगसँग जुध्नुभन्दा रोगको कारणलाई निवारण गर्नु उपयुक्त हुने भएकाले यसपटक सो अनुसारको तयारी गराउन आफूले संसदमा संकल्प प्रस्ताव दर्ता गराएको बताएका छन् । 

डेंगु रोगको विषयमा व्यापक जनचेतना फैलाउन प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने, जनस्वास्थ्य निरीक्षकहरुलाई मुलुकभर परिचालन गर्नुपर्ने, वर्षायाम सुरु हुन अगावै महामारीको रोकथाम गर्नुपर्ने र उपचारको लागि विद्यमान अस्पतालको क्षमता वृद्धि गर्नुपर्ने उनको माग छ ।

यसअघि शुक्रबार रास्वपाक अर्का एक सांसदले सांसद विकास कोष भनेर चिनिने स्थानीय पूर्वाधार कार्यक्रम खारेजीको माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेका थिए ।

टिप्पणीहरू