सिंहदरबारको गेटमा सिर्सिया नदीको पानी !

सिंहदरबारको गेटमा सिर्सिया नदीको पानी !

वीरगञ्जबाट एउटा टोली अबको केही दिनमा काठमाडौँ पुग्छ । काँधमा झुण्ड्याइएका लट्ठीमा मिनरल वाटरको बोत्तल र त्यसभित्र सिर्सिया नदीको पानी बोकेका मानिस सिंहदरबार गेटमा पुग्नेछन् र त्यहाँ दूषित पानी पोख्नेछन् । 

निरन्तर सिर्सिया नदीमाथि बलात्कार भइरहेको भन्दै सुनिल यादव नेतृत्वको टोली वीरगञ्जबाट हिँडेरै काठमाडौँ पुग्न लागेको हो । मकवानपुरमा दुई रात बिताएको यो टोलीको नेतृत्व गरेका यादवसहितलाई संरक्षणकर्मीको साथ छ । 

ठूलाबडाले नदीमाथि निरन्तर अतिक्रमण गरिरहेको, उद्योग, कलकारखानाले प्रदूषण बढाएको, उत्तिकै फोहोर थुुपारिएको भन्दै त्यसलाई सरकारले नियन्त्रण गर्नुपर्ने माग राखेर यादव नेतत्वको टोलीले काठमाडौँ पुग्ने कोसिस गरिरहेको हो । ‘ठूूलाबडा र टाठाबाठाबाट सिर्सिया नदीमाथि भएको अपहरणलाई मुक्त गर्ने माग हाम्रो हो’, यादवले जनआस्थासँग भने–‘सरकारलाई सिंहदरबारको गेटमै पुुगेर यो कुरा सुनाउने र माग पूूूरा नभए माइतीघर मण्डला पुगी धर्नामा बस्नेछौँ ।’

काठमाडौँ पुगेपछि आफूूहरूले बोकेको पानीको ल्याब परीक्षण गराउने र त्यो रिपोर्ट सरकारलाई पनि देखाउने संयोजक यादवले बताए । माइतीघर मण्डलामा धर्ना बस्दा पनि सरकारले बेवास्ता गरिरहे आफूू आमरण बस्ने गरी मानसिक रूपमा तयार भएर आएको उनले सुनाए । ‘सिर्सिया, राजघाटलगायत भारतको रक्सौलतर्फ समेत दर्जनौँ गाउँ सिर्सिया नदीका कारण प्रदूषित छन्’, यादवले भने, ‘जतिसुकै पढेलेखेको र धनसम्पत्ति भएको बेहुुला भए पनि अहिले ती गाउँमा छोरी कसैले दिँदैनन्, ती गाउँहरूलाई नर्क भन्छन् ।’
 

टिप्पणीहरू