प्रधानमन्त्री भारत जाने, दुई जना मन्त्री चीन

प्रधानमन्त्री भारत जाने, दुई जना मन्त्री चीन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने निधो भएको छ । उच्च स्रोतका अनुसार उहाँ सम्भवतः आगामी १५ गते सरकारको तर्फबाट अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट पेश गरेपछि भारत जाने निश्चित भएको छ । 

‘संसदमा बजेट पेश गरेलगत्तै जाने भनिएको छ, उहाँ १७ वा १८ गते गएर तीन दिनमा फर्कने कार्यक्रमलाई अन्तिम रुप दिईंदैछ,’स्रोतले भन्यो । भारतीय प्रधानमन्त्री जापान,पपुवा न्युगिनी र अष्ट्रेलियाको भ्रमणमा निस्केका छन् । उनी आगामी बिहीबार मात्रै नयाँदिल्ली फर्कने कार्यक्रम छ ।

यता प्रधानमन्त्री प्रचण्ड नेतृत्वको क्याबिनेटका दुईजना मन्त्री उत्तरको छिमेकी चीनको भ्रमणमा जाने तयारी भएको बुझिएको छ । चीन सरकारको निम्तोमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसाल,भौतिक पूर्वाधार र यातायातमन्त्री प्रकाश ज्वाला चीन जान लाग्नुभएको हो । दुबै मन्त्री जेठ महिनाभित्र चीन भ्रमणमा जानेगरी आवश्यक तयारी थालिएको बताइन्छ । 

यसअघि घोषित कृषिसम्बन्धी विभिन्न परियोजनामा चीनको सहयोग उपलब्ध गराउन कृषिमन्त्री डा. भुसाललाई चीनबाट भ्रमणको निम्तो आएको स्रोतको दाबी छ । प्रधानमन्त्रीको भारत भ्रमणछि जेठ महिनाभित्र मन्त्री चीन जानेगरी तयारी थालिएको हो ।
यता,रसुवागढी जाने सडक स्तरोन्नतिबारे थप छलफल गर्न भौतिक योजनामन्त्री प्रकाशलाई पनि चीनले निम्तो दिएको छ । भ्रमणको क्रममा चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) अन्तर्गत नेपाललाई थप सहयोग गर्नेबारे छलफल हुने र भ्रमणमा भौतिक सहयोगका नयाँ क्षेत्र पहिल्याइने बताइएको छ ।

दाहाल नेतृत्वको क्याबिनेटमा रहेका नेकपा एकीकृत समाजवादीका मन्त्रीहरु भुसाल र ज्वाला दुबै जना मन्त्री चीनको निम्तोमा भ्रमणमा जान लागेको सम्बन्धमा सरकारी अधिकारीहरुले भने केही बताएका छैनन् ।

 

टिप्पणीहरू