सबैखाले ज्यान, अचुक अस्त्र रहेछ ध्यान

सबैखाले ज्यान, अचुक अस्त्र रहेछ ध्यान

– मेनुका शाही

विपश्यना जानेबारेमा सोच्दासोच्दै धेरै वर्ष बितेर गए । कहिले के नमिल्ने, कहिले के, मुख्य त मिलाउन गाह्रो समय नै थियो । आउने–जाने दुई दिन र दश दिन शिविर गरी १२ दिनको समय (अप्रिल १ देखि १२) छुट्याएँ ।

आठ महिनाअघि जमलको ज्योति भवनमा फर्म भर्नुअघि अनुशासनसंहिता पढ्न दिइएको थियो । जसमा बिहान ४ः३० देखि राति ९ः३० बजेसम्मको ध्यान तालिकासाथ ४ बजे उठ्नुपर्ने, दिउँसो १२ बजेपछि खान र श्रृङ्गार गर्न नहुने, आरामदायी बिछ्यौना प्रयोग गर्न नहुने, आफूले लाउने लुगा स्वच्छ र सफा हुनुपर्ने तर धोबीको व्यवस्था नहुने, महिलाले पछ्यौराको प्रयोग अनिवार्य गर्नुपर्ने, पुरुषहरूले हाफपाइन्ट लगाउन नहुने उल्लेख थियो । साधकहरूले शिविर अवधिभर आर्य मौन कायम (एक–अर्कामा इशारा र आँखा जुधाउनसमेत नमिल्ने) गर्नुपर्ने, कुनै पनि विषयका पुस्तक, पत्रपत्रिका, लेखन सामग्री साथमा लान नहुने, लेखपढका सामग्री र मोबाइल फोन शिविर आरम्भ हुनुअघि नै व्यवस्थापकलाई बुझाउनुपर्ने, सुर्तीजन्य तथा लागू एवं मादक पदार्थ, टेपरेकर्डर, क्यामेरा लान नपाइनेलगायत कुरासमेत उल्लेख थिए ।

जीवनमा सानैदेखि गर्दै आएको कामको बोझ केही दिनलाई बिसाउन पाइने, फेसबुक, ट्विटर, टेलिभिजन, अखबार, फोन, म्यासेज, कुराकानीलगायतको झ्याउँझ्याउँबाट मुक्ति पाइनेजस्ता कुराले मन रोमाञ्चित बनायो । कति मान्छे बीचैमा भागेर आएका पनि रहेछन् । शान्त वातावरण, वरिपरि रूखसहितको वासस्थान आनन्द लाग्यो । ध्यानको महत्व नबुझी जबर्जस्ती पठाइएकाहरूका लागि विपश्यना कष्टपूर्ण हो । बुझेर जानेहरूका लागि भने जिन्दगीको कठिन तर सुन्दर अनुभव । पाँच मिनेटको महत्व पनि विपश्यना गएपछि थाहा भयो । एक–डेढ घण्टा लामो ध्यानपछि हुने पाँच मीनेटको ब्रेकले दिने खुशी वर्णन गर्नै नसकिने प्रकारको हुन्थ्यो । जसरी कामबाट धेरै थाकेको बेला आँखा चिम्लिँदा आनन्द आउँछ, धेरैबेर ध्यान गरेर आँखा खोल्दा त्यस्तै आनन्द अनुभूति हुँदो रहेछ ।

साँझ करिब एक घण्टाको अनुशासन ओरिएन्टेसनपछि ध्यानहल (धम्म हल) मा जाने, उक्त ध्यानसँगै आर्य मौनको प्रारम्भ हुने । रुमपार्टनरसँग एकपल्ट पनि आँखा नजुधाउने । बिहानको नास्ता, दिउँसो र साँझको खाजापछि डेढ घण्टाको समय आँगनमा जम्मा भएर बस्ने तर कोहीसँग नबोली, चुपचाप । कोही टहलिने, कोही म्याट ओछ्याएर सुत्ने, कोही लुगा धुने, कोही ठूलो चिन्तामा भएझैँ एकोहोरो लागेर बोटबिरुवा र बाँदरहरूलाई हेरिरहने, कहिल्यै नदेखेको, नभोगेको माहौल । युरोप, अमेरिका, इरान, सिङ्गापुर, अष्ट्रेलिया, आयरल्याण्ड, रसियालगायत देशबाट आएका ध्यानीलाई हेर्दा यिनीहरू त्यति टाढाबाट कति पैसा खर्च गरेर आएका छन्, हामीचाहिँ यति नजिक भएर पनि बेवास्ता गर्ने जस्तो लाग्यो । विपश्यना पूर्ण रूपमा निःशुल्क हो ।

दिउँसो १२ बजेपछि पुराना साधकलाई कागतीपानी मात्रै खान दिइए पनि नयाँलाई ५ बजे मात्र खाजा दिइँदो रहेछ, त्यसपछि खान मिल्दैन । बिहान साढे ६ बजे नास्ता र दिउँसो ११ बजेको खाना मन लागेजति खान पाइन्छ । खाना सबै शाकाहारी ।

धेरै चिन्ता, तनाव भयो भने के सुझाव दिन्छन् ? प्रायःले भन्ने गर्छन्– वर्तमानमा रहने कोसिस गर्नुस् वा ध्यानमा बस्नुस् । अब प्रश्न आउँछ कसरी वर्तमानमा रहने ? ध्यान र वर्तमानबीच के सम्बन्ध छ ? यी प्रश्नको जवाफ विपश्यनाले दिन्छ । के हो त विपश्यना ? विपश्यनाको वास्तविक अर्थ हुन्छ– जुन वस्तु जस्तो छ त्यसलाई त्यही रूपमा जान्नु, बुझ्नु । विपश्यना एक ध्यान विधि हो, जसले मानिसलाई वर्तमानमा रहन वा जिउन सिकाउँछ । लगभग २५–२६ सय वर्षअगाडि गौतम बुद्धले अनुसन्धान गरी आमरूपमा स्थापित गराउनुभएको मान्यता हो यो । आफ्नो श्वास–प्रश्वासको निरीक्षण गर्दै शरीर र चित्तमा उत्पन्न हुने परिवर्तनशील घटनालाई तटस्थ भावले निरीक्षण गर्दै चित्तशोधन र सद्गुण बुद्धिको अभ्यास विपश्यनामा गरिन्छ ।

विपश्यना राग, द्वेष र मोहबाट विकृत भएको चित्तलाई निर्मल बनाउने साधना हो । दैनिक जीवनको समस्या र तनावग्रस्त चित्तलाई तनावमुक्त गर्ने एक सक्रिय अभ्यास पनि हो । यसको अभ्यासबाट मनलाई वास्तविक शान्ति प्राप्त हुन्छ ।

यसले चित्तलाई निर्मल बनाउनुका साथै चित्तको व्याकुलता र त्यसको कारणलाई हटाउँदै लैजान्छ । यसको निरन्तर अभ्यासले मानिसलाई विकारबाट मुक्त बनाउँछ । यसले नितान्त विमुख अवस्थासँग साक्षात्कार गराउँछ । यो साधना विधि दुःखबाट मुक्त हुने सक्षम उपाय हो । यो विधि हिन्दू, जैन, मुस्लिम वा जुनसुकै जातजाति अर्थात् राष्ट्रियता भएकाले पनि अपनाउन सक्छन् । यो ध्यान विधिको प्रयोगले मानिसभित्र रहेको विशाल अहंभाव छुट्नुका साथै एक स्वस्थ, सुखी, आत्ममंगल तथा सर्वमंगलको भावना सिर्जना हुन्छ ।

यो ध्यान विधिको ज–जसले अभ्यास गर्छन् उनीहरूमा विस्तारै परिवर्तन आउँदै जान्छ । उनीहरूले दुःखको कारण के हो र निराकरण कसरी गर्न सकिन्छ भन्ने कुरा बुझ्दै जान्छन् ।  चित्त शुद्ध पार्ने कला सिक्नका निम्ति १० दिनको अवधि साँच्चै नै कम हो । बाहिरी सम्पर्कबाट अलग हुनुपर्छ । पूजा, पाठ, माला जप्ने, भजनकीर्तन, ब्रत–उपवास तथा अन्य क्रियाकलाप गर्नुहुँदैन । पटक–पटक गरी दिनमा १० घण्टा बसेर ध्यान गर्नुपर्दछ । एक अर्कासँग कुराकानी गर्न पाइँदैन । त्यस्तै नयाँ साधकहरूले पञ्चशील (हिंसा, चोरी, नशालु पदार्थ सेवन नगर्नु, ब्रह्मचर्य पालना गर्नु, झूटो नबोल्नु) को पूर्ण पालना गर्नुपर्ने हुन्छ । नेपालमा हालसम्म जम्मा ११ वटा (दुईवटा निर्माणाधीन) विपश्यना केन्द्र छन् । काठमाडौंको सन्दर्भमा बूढानीलकण्ठ र कीर्तिपुरमा गरी दुईवटा छन् । 

विपश्यना अहिले नै प्राप्त हुने, स्वनिरीक्षणद्वारा चित्तशुद्धि गर्ने साधना हो । कठिन साधनाका लागि आफैंले कठोर परीक्षण गर्नुपर्छ । एउटा भनाइ छ नि ‘दुःखपछि सुख प्राप्त हुन्छ’ । हो दुई–तीन दिनसम्म धेरै नै गाह्रो भएको थियो । मनलाई नियन्त्रण गर्नु आफैंमा चुनौतीपूर्ण कार्य हो । तर विस्तारै आचार्यहरूको मार्गदर्शनअनुसार चल्दा पछिल्ला दिनहरूमा चञ्चल मन एकाग्र हुन थालेको थियो । एक दिन (शायद, शिविरको नवौं दिन हो) जब हलमा सामूहिक साधना भैरहेको थियो, करिब एक–दुई मीनेट मेरो पूरै शरीर शून्य अवस्थामा थियो । चञ्चल मन शान्त र मेरो वशमा रह्यो । पहिला पनि शान्त स्वभावको थिएँ । सुख–दुःखको अवस्थामा तटस्थ भावले हेर्न सक्ने अवस्था आएको थियो । जुन आज पनि छँदैछ । त्यसैले विपश्यनाबाट मानिसको जीवनमा आउने परिवर्तन मैले स्वयं अनुभव गर्न पाएकी छु ।
 

टिप्पणीहरू