रौतहटमा ‘खोजौं र खोपौं’ अभियान ब्यापक

रौतहटमा ‘खोजौं र खोपौं’ अभियान ब्यापक

रौतहट जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला बनाउन ‘खोजौं र खोपौं’ अभियान शुरु गरिएको छ । असार मसान्तसम्म रौतहटलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने उद्धेश्यले उक्त अभियान थालिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद यादवका अनुसार जिल्लाका प्रत्येक वडाको चारदेखि पाँच स्थानमा खोप क्लिनिक सञ्चालन गरिएको छ । खोप लगाउन छुटेका १६ महिनादेखि ५९ महिनाका बालबालिकालाई खोप दिने कार्यकम धमाधम चलिरहेको उनले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार स्वास्थ्यकर्मीहरुले घरघरमा पुगेर पनि खोप दिइरहेका छन् । 

‘यो स्थानीय कार्यक्रम हो । बेलैमा खोप नलिएका वा छुटेकालाई लक्षित गरेर अभियान सञ्चालन गरिएको हो । असार मसान्तसम्म पूर्ण खोप लगाएको जिल्ला भनि घोषणा गर्ने लक्ष्य राखिएको छ’, यादवले भने । सरकारको पहिलो प्राथमिकतामा रहेको खोप कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी स्थानीय सरकारले पाएको छ । रौतहटसंगै अन्य जिल्लामा पनि खोप कार्यक्रम सञ्चालन गरिएको छ । 

बच्चा जन्मिनेबित्तिकै बिसिजी खोप लगाइन्छ । ६ हप्तामा रोटा, पोलियो, पीसीभी, डीपीटी, हेबवी–हिब खोप दिइन्छ । चौधौं हप्तामा चौथौं खोप दिइन्छ ।  यसमा पोलियो, एफआइपीभी, डीपीटी र हेबवी—हिब खोप पर्दछ । ९ महिनामा पाँचौँ खोप लगाइन्छ । जसमा एफआइपीभी, पीसीभी र रुवेला दादुरा खोप पर्छ । १२ महिनामा छैठौँपटक खोप दिइन्छ । यसपटक दिइने खोप जापानीज इन्सेफालाइटिस हो ।

१५ महिनामा सातौँ खोप दिइन्छ । यो खोप रुवेला दादुराको दोस्रो मात्रा हो । यसैबेला टाइफाइडको खोप पनि लगाइन्छ ।
 

टिप्पणीहरू