नक्कली शरणार्थी प्रकरण : पक्राउ पर्ने र प्रदर्शनकाे क्रम जारी

नक्कली शरणार्थी प्रकरण : पक्राउ पर्ने र प्रदर्शनकाे क्रम जारी

मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी काण्ड मच्चाउने सबैमाथि छानबिन र कारबाहीको माग गर्दै खबरदारी सभा गरेको छ । शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग राख्दै समाजले आज तेह्रथुमको म्याङ्लुङ बजारमा खबरदारी सभा गरेको बताइएको छ ।

सो क्रममा उनीहरुले कुशासन र दण्डहीनता अन्त्यका लागि राज्यको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए । त्यहाँ उपस्थित दर्जन बढी प्रदर्शनकारीहरुले सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता र जवाफदेहीता सुनिश्चितताको माग गरेका छन् ।

उनीहरुले ‘नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर’, ‘करप्सन इज द बिगेस्ट थ्रेट टु डेमोक्रेसी’, ‘भ्रष्टाचार हटाऊ, लोकतन्त्र बचाऊ’, ‘ठूला नेता मिलेकाः अर्बौं  निलेका’, ‘लोकतन्त्रको सबैभन्दा ठूलो शत्रुः कुशासन र दण्डहीनता’, ‘नक्कली भुटानी शरणार्थी प्रकरणः राष्ट्रिय अस्मितामाथि घात हो’, लगायत नारा लगाएका थिए ।

उक्त प्रकरणमा सहभागीहरुमाथि कारबाहीको माग गर्दै राजधानीको माइतीघरमा दिनहुँ विरोध प्रदर्शन भइरहेको छ । सँगसँगै काण्डमा संलग्न भएको आरोप लागेकाहरु एकपछि अर्को पक्राउ पर्ने क्रम जारी छ । 

आजै दुई जना पक्राउ परेका छन् । प्रहरीले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई काठमाडौंबाट पक्राउ गरेको छ । आजै बिहान नेपाल हज समितिका अध्यक्ष समशेर मिया सिंहदरबारबाट पक्राउ परेका हुन् । 

हालसम्म उक्त प्रकरणमा पक्राउ परेकाको संख्या १६ पुगेको छ । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकलगायत अन्य तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भए पनि उनीहरु फरार छन् ।

टिप्पणीहरू