दरबार हत्याकाण्डको पुन: छानविन हुनुपर्नेमा प्रधानमन्त्रीको जोड

दरबार हत्याकाण्डको पुन: छानविन हुनुपर्नेमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका भएका ठूल्ठूला हत्याकाण्ड र भ्रष्टाचारका घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने बताउनुभएको छ । 

प्रतिनिधिसभा बैठकमा सांसदद्वय प्रभु साह र अमरेशकुृमार सिंहले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले विगतमा भएका हत्याकाण्ड र भ्रष्टाचार प्रकरणको स्वतन्त्र अनुसन्धान गरिनुपर्ने बताउनुभएको हो । 

त्यसअघि सांसद साहले गौर हत्याकाण्डको छानविन के हुँदैछ र दोषीलाई कारबाही हुन्छ कि हुँदैन भनेर प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए । जवाफमा उहाँले विगतका भयानक हत्याकाण्डहरुको नयाँ शिराबाट छानबिन गर्नुपर्ने पक्षमा आफू रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले गौरहत्याकाण्डसहित दरबार हत्याकाण्ड र मदन-आश्रित हत्याकाण्डको पनि छानविन हुनुपर्नेमा जोड दिनुभयो । 

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार भएको भनेर बाहिर आएका सबै काण्डहरुको पनि छानविन र अनुसन्धान गरिने बताउनुभएको छ । सांसद अमरेशकुमार सिंहले बालुवाटार जग्गा काण्ड, वाइडबडी, यती, ओम्नीलगायत भ्रष्टाचार प्रकरणको छानविन हुन्छ कि हुँदैन भनेर सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डको त्यस्तो जवाफ आएको हो ।

टिप्पणीहरू