प्रहरीले फेरि पनि खुट्टा कमाउने खतरा

प्रहरीले फेरि पनि खुट्टा कमाउने खतरा

राम्रा र काविलले जेल र निलम्बनसम्म भोग्ने गरेको नेपाल प्रहरी नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा भने राजनीतिक सहभागिता ज्यादै पाइएको हुँदा विशेष सचेत देखिएको छ । अनुसन्धान गर्ने प्रहरीकै जागिर सेलिब्रिटि हाकिमहरुले धरापमा पार्ने र जेल पु¥याइदिने डरका कारण यो प्रकरणमा प्रहरी अधिकृतहरू फुकी फुकी पाइला चाल्न बाध्यभएको बताउँछन् । 

३३ किलो सुन काण्डमा मारिएका सविन शाक्य काण्डको अनुसन्धानमा खटिएका प्रहरी हुन् वा बहुचर्चित निर्मला पन्त बलात्कार काण्डमा अहोरात्र लाग्ने प्रहरी, कैयनले जेल भोगे, जागिर धरापमा पारे । अदालतले सफाइ दिएपछि मात्रै यिनले कर्तव्य पालना गर्दा भोगेको अन्यायबाट न्याय प्राप्त गरेका थिए । यी घटनापछि प्रहरी अधिकृतहरू सुन तस्करीको छानबिन गर्ने चाहना गर्दैनन् भने बलात्कार प्रकरणमा पनि एकदम सचेत रहन्छन् । सुन तस्करीमा समात्दा सुख नहुने, छाड्दा पनि बदनाम हुने भएकाले चाख राख्न छाडेको र बलात्कारजस्ता मुद्दामा सामाजिक सञ्जालबाट बदनाम हुने सम्भावना भएकाले ती निकै सचेत हुन थालेको बुझ्न सकिन्छ । 

एउटा संयोग के भने प्रहरी अधिकृतहरूमाथि चर्को धावा बोलिएका कतिपय प्रकरणहरूमा प्रधानमन्त्रीका रूपमा एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली गृहमन्त्री रामबहादुर थापा मगर बादल थिए । ६ वर्षअघिको ३३ किलो सुन तस्करी प्रकरणमा गृह मन्त्रालयका तत्कालीन सहसचिव र अहिले कोलकाताका निम्ति महावाणिज्यदूत ईश्वर पौडेलको नेतृत्वमा छानबिन कार्यदल बनाइएको थियो । सो कार्यदलमा राष्ट्रिय अनुसन्धान विभागका अहिलेका प्रमुख हुतराज थापा र एक दिन एआइजी भई रिटायर्ड भएका वसन्त लामा सदस्य थिए ।

सो कार्यदलकै सिफारिसमा सरकारी वकिलको कार्यालयले अनुसन्धान गर्ने प्रहरी र अपराधीलाई सँगसँगै राखेर अभियोगपत्र तयार गरेको थियो । त्यसबेला सास्ती खेप्ने प्रहरी अधिकृतमाथि ‘संगठित रूपमा सुनको अवैध चोरी, निकासी, पैठारी र अपहरण तथा कर्तव्य ज्यानमुद्दामा संलग्न भएको’ आरोपमा मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो, जसमा प्रहरीसहित जम्मा ७७ जना मुछिएको । तीमध्ये पूर्वएआइजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपी थिए । हाल एआइजी दिवेश लोहनी, विमानस्थल तत्कालीन एसएसपी श्यामबहादुर खत्री र एसपी विकासराज खनाल (हाल डिआइजी), डिएसपीहरू प्रजित केसी र सञ्जय राउत, सई बालकृष्ण सञ्जेल र जवान विष्णुबहादुर खड्का थिए । 

नेपाल प्रहरीको इतिहासमा अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरू नैं अनुसन्धानमा परेर अभियोग खेपेको यो सबैभन्दा बढी हो । उनीहरूलाई सुन तस्करीमा दाबी नपुग्ने भन्दै पछि अदालतले सफाइ दिए । यसैगरी, केही वर्षअघि ३५ किलो सुन समात्ने तत्कालीन सिआइबीका प्रमुख प्रकाश अर्याललाई पनि संसदीय लेखा समितिमा उभ्याउने प्रयास भएको थियो । सो प्रकरणमा अभियुक्तहरूलाई तीन घण्टाभित्रै पक्राउ गरी राष्ट्र बैंकमा सुन बुझाइएको थियो । 

त्यसैगरी, निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै हत्या, समिरमानसिंह बस्न्यातलाई भारतमा समातेर ल्याउने र बाराका एमाले नेता रामचन्द्र कुशबाहा प्यासी जेल पठाउने सई दीपेन्द्र अधिकारीलाई राजीनामा दिन बाध्य पारिएको घटनाको प्रहरीभित्र निकै चर्चा हुन थालेको छ । कोटेश्वरबाट मारवाडीको जत्था गाडीका पार्टपुर्जाको रूपमा ९५ किलो सुन तस्करी गर्नेलाई समात्ने प्रहरी अधिकारीविरुद्ध पनि ठूलै षड्यन्त्र भएको थियो । पछिल्लो पटक निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा खटेका सिआइबीका डिएसपी अंगुर जिसी, जुनियर अधिकृत तथा जवानहरू ज्ञानबहादुर सेठी, हरिहर धामी, रामसिंह धामी, एकेन्द्र खडा, जगदिशप्रसाद भट्ट र चाँदनी साउदले पनि निकै सास्ती र मानसिक यातना खेप्नुपरेकै हो । यस्ता घटना भोगी जान्ने र सुनी जान्ने प्रहरीले चोरलाई चौतारो र साधुलाई सुली हुने देश भएकाले पनि अहिलेको निष्पक्ष अनुसन्धानबापत भविष्यमा कोपभाजनको शिकार बन्नु नपर्ने ग्यारेन्टी खोजेको हुनसक्छ । 

 

टिप्पणीहरू