नक्सा पासका लागि काठमाडौँ महानगरमा निवेदनको चाङ

नक्सा पासका लागि काठमाडौँ महानगरमा निवेदनको चाङ

नक्सा स्वीकृत नगरी घर निर्माण गरेका हजारौँ  घरधनीले नक्सा पास गरिदिन आग्रह गर्दै काठमाडौं महानगरपालिकामा निवेदन दिएका छन् । 

मापदण्ड पुगेका तर नक्सा स्वीकृत नगरी बनाइएका घरको नक्सा पास गर्न महानगरपालिकामा यति ठूलो संख्यामा निवेदन परेको हो । प्राप्त निवेदनमध्ये एक हजार ७३५ जनाको नक्सा पास भइसकेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले २०७९ भदौ २३ गते सूचना जारी गर्दै ९० दिनभित्र भवनको नक्सा पेश गर्न निर्देशन दिएको थियो । 

सूचनामा सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको नक्सा पेश गर्न सकिने उल्लेख थियो । सूचनापछि सात हजार बढीले नक्सा अद्यावधिक गर्न निवेदन दिएको महानगरपालिकाको भनाइ छ । 

त्यस्तै, गत साउनदेखि महानगरको शहरी विकास विभागले ९३२ वटा डीपीसी स्वीकृत गरेको छ । एक हजार ७३५ वटाको निर्माण सम्पन्न गरेर प्रमाणपत्र जारी गरिसकेको छ । महानगरपालिकाको अनुसार यस अवधिमा १० हजार स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल भएका ७२ वटा भवनको नक्सा स्वीकृत भएको छ । 

महानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ देखि ०७८/०७९ सम्ममा १० हजार स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल भएका २७८ वटा भवनको नक्सा स्वीकृत गरेको छ । शहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यका अनुसार यी आर्थिक वर्षहरुमा क्रमशः ८६ वटा, ७७ वटा, ६५ वटा र ५० वटा भवनको नक्सा स्वीकृत भएको हो । 

गत वैशाख १ गतेदेखि पाँच हजार स्क्वायर फिटसम्मका भवनको नक्सा स्वीकृत गर्ने अधिकार महानगरपालिकाले वडालाई दिएको छ ।

टिप्पणीहरू