क्रिकेटको खुशी - प्रधानमन्त्रीको सन्देश लिएर गृहमन्त्री कीर्तिपुरमा

क्रिकेटको खुशी - प्रधानमन्त्रीको सन्देश लिएर गृहमन्त्री कीर्तिपुरमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसिया कपमा छनोट हुन सफल भएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई ज्ञापन गर्नुभएको छ । 

आज फाइनल खेल सम्पन्न भएलगत्तै उहाँले खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित बधाई दिनुभएको हो । प्रधानमन्त्री प्रचण्डले सरकारको तर्फबाट खेलाडीहरुलाई थप प्रोत्साहन र पुरस्कृत गर्नेसमेत प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

'देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु', प्रधानमन्त्री प्रचण्डले भन्नुभएको छ ।

प्रधानमन्त्रीको निर्देशन बमोजिम उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खेलाडीहरुलाई हौसला बढाउन खेल मैदानमै पुग्नुभएको छ । उहाँले सम्पूर्ण खेलाडीहरुलाई बधाई दिनुहुँदै जितको खुसी साट्नु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

एसीसी प्रिमियर लिगको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधिसँगै एसिया कपमा स्थान पक्का गरेको हो । यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पुरा गर्यो । नेपालका लागि गुल्शन झा र भीम सार्कीले उत्कृष्ट साझेदारी गरे ।

हिजो टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा १०६/९ बनाएको स्थितिमा वर्षाले खेल रोकिएको थियो । आज बिहान सोही अवस्थाबाट खेल अघि बढाईएको थियो । यूएईले थप ११ रन जोड्दा बाँकी विकेट गुमायो ।

 ११८ रनको लक्ष्य पछ्याएर ब्याटिङ गर्न आएको नेपालको पनि सुरुआत राम्रो हुन सकेन । २२ रनमै तेस्रो विकेट गुमाएको नेपाल एक समय दबाबमा थियो । तर, गुल्सन र सार्कीले उत्कृष्ट साझेदारी गर्दै खेललाई अन्त्यसम्म पुर्याए । 

यो जितसँगै अब नेपालले भारत र पाकिस्तानसँग एसियन कप खेल्ने भएको छ ।


 

टिप्पणीहरू