मन्त्री छान्न चप्पल कारखाना नजिकै काँग्रेसीहरुको भेला
आन्तरिक किचलोले सरकारमा जाने मन्त्रीको नाम चयन गर्न नसकेको नेपाली काँग्रेसले त्यसबारे छलफल गर्न पदाधिकारी बैठक राखेको छ । आज अपरान्ह बैठक बसेको हो ।
महाराजगञ्ज चक्रपथस्थित चप्पल कारखाना नजिकै रहेको सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकमा मन्त्रिपरिषद्मा पठाउनेहरुको नाम टुंगो लगाउने भनिएको छ ।
वर्तमान गठबन्धन सरकारमा आठ मन्त्री पाएको काँग्रेसले आन्तरिक भागबण्डा नमिल्दा हालसम्म पाँच जनालाई क्याबिनेटमा पठाएको छ । उपनिर्वाचनपछि थप मन्त्रीको शपथ गराउने भनिएको थियो । तर, उपचुनाव सकिएको एक सातासम्म पनि काँग्रेसले नाम नदिँदा क्याबिनेटले पूर्णता पाउन नसकेको हो ।
काँग्रेसले नौ मन्त्री र एक राज्यमन्त्रीको दाबी गरेको छ । त्यसमध्ये छ जना संस्थापन पक्षबाट हुनुपर्ने सो पक्षको दाबी छ । तर, इतर खेमाले तीन मन्त्रीमा चित्त नबुझाएका कारण कुरा मिल्न नसकेको बताइन्छ ।
पदाधिकारी बैठकमा नीति अधिवेशन, भ्रातृ संस्थाको पूर्णता, विभाग गठनलगायत विषयमा पनि छलफल हुने बताइएको छ ।
टिप्पणीहरू