विदेश जाने हाकिमहरु बेरोजगार

विदेश जाने हाकिमहरु बेरोजगार

दरबन्दीभन्दा कर्मचारी धेरै भयो भने के हुन्छ ? यतिबेला परराष्ट्र मन्त्रालयको अवस्था त्यस्तै छ । १३ वटा दरबन्दी भएको ठाउँमा १७ जना सहसचिव भएपछि कुर्सी अपुग छ । जिम्मेवारी नपाएपछि सहसचिवहरू दिनभरि रुम नम्बर ११७ मा थुप्रिन्छन् । राजदूत नेपाल आउँदा बस्ने कोठा उनीहरूका लागि ठिक्क भएको छ । 

चीनको बेइजिङ र न्यूयोर्कको नियोगमा उपप्रमुख नियुक्त गर्न सकिएको छैन । यता, भारतको नयाँ दिल्लीमा रहेको डिसिएम पद पनि खाली छ । यी तीनै मुलुकमा सहसचिवलाई पोस्टिङ गर्ने चलन छ । तर, जाने को ? टुंगो छैन । विदेशस्थित कतिपय नियोगमा सहसचिव उपप्रमुख हुने व्यवस्था छ । यद्यपि, सहसचिवहरू राजदूत पाएसम्म उपप्रमुख नबन्ने सोचमा देखिन्छन् । राजदूतको आकांक्षी बनेर बसेका सहसचिवहरू त्यता जान तयार छैनन् । गइयो भने राजदूत पद फुत्किने हो कि भन्ने भय देखिन्छ । यता, पुरानाहरू भने नयाँलाई त्यता पठाउन खोजिरहेका छन् । ‘सबै जना कुनै न कुनै नेताको निकटस्थ छन् । पहिले राजदूतको लागि कोशिश गर्छन् । नपाएको खण्डमा मात्र नियोगमा जालान् । 

परराष्ट्रमा यतिबेला तीन नयाँ सहसचिवको नाम चर्चामा छ । पहिलो नम्बरमा छन्, कांग्रेस नेता रामकृष्ण यादवका ज्वाईं कौशलकिशोर राय । पूर्वराष्ट्रपति रामवरण यादवको भतिजी ज्वाईं पर्ने उनी राजदूतका लागि सम्भाव्य उम्मेदवार हुन् । ‘कांग्रेसको छत्रछायाँमा परेकाले उनी राजदूत नबन्लान् भन्न सकिन्न । नपाएको खण्डमा न्युयोर्क जान्छु भनेर बसेका छन्,’ स्रोतले भन्यो । 
चीनका लागि कार्यवाहक राजदूतको भूमिका निर्वाह गरिसकेका छन् । अख्तियारमा भ्रष्ट्राचारको मुद्दा खेपिरहँदा उनी त्यहाँसम्म पुग्नु आफैंमा आश्चर्यचकित विषय हो । शाखा अधिकृतकै हैसियतसहित इजिप्टमा कार्यवाहक राजदूत रहेका उनले म्यानपावर व्यवसायीसँग ३४ लाख रूपैयाँ ‘बार्गेनिङ’ गरेको अडियो सार्वजनिक भएको थियो । 

लेबनानमा दुई सय जना सेक्युरिटी गार्ड ल्याउनका लागि रेडसि लजिस्टिकमार्फत आवश्यक मागपत्र प्रमाणीकरण गरिदिएबापत प्रतिव्यक्ति ६ सय डलर रकम माग गरेको अडियो छताछुल्ल भएपछि परराष्ट्रले स्पष्टीकरणसमेत सोधेको थियो । त्यतिबेला पनि उनी उल्टै उजुरीकर्ता अच्युत बुढाथोकीलाई उल्टै ५ हजार जरिवाना तिराएर ०७३ भदौमा २४ ‘ग’ अन्तर्गत तामेलीमा राख्न लगाउन सफल भएका थिए ।

पोस्टिङ हुन नसकेर तनावमा रहेका अर्का हाकिम हुन्, राहदानी विभागका महानिर्देशक सुरेन्द्रकुमार यादव । डोरनाथ अर्याल बहराइन गएपछि महानिर्देशक बनेका उनी अष्ट्रेलियाबाट फर्किएदेखि राहदानीमै छन् । जेनेभामै रहँदा पढाइ सिध्याउनका लागि अष्ट्रेलिया गएका उनी पनि कतै राम्रो पोस्टिङ पाउनेमा आशावादी देखिन्छन् । उनी वैवाहिक बन्धनमा नबाँधिएका कलिलो सहसचिवमा गनिन्छन् । पासपोर्ट विभागबाट साउदी अरेबियामा मिनिष्टर काउन्सिलर तथा नियोग उपप्रमुखको जिम्मेवारी सम्हाल्न गएका शरदराज आरणको एक महिनामै सहसचिवमा बढुवा भएको र तीनमध्ये कुनै एक मुलुकमा पोस्टिङ हुने निश्चितझैँ ठानिएको छ । 

‘रिटायर्ड’ हुने टोलीमा को–को ?

क्यानाडाका लागि नेपाली राजदूत भृगु ढुंगाना चार वर्षे कार्यकाल सकाएर यही महिना स्वदेश फर्किँदै छन् । त्यस्तै, जेठमा बैंककका लागि नेपाली राजदूत गणेश ढकाल फर्किने तय भएको छ । उमेरका कारण यी दुवैको अवकाश तत्काल हुँदैन । कुवेतका लागि नेपाली राजदूतको जिम्मेवारी वहन गरेका दुर्गा भण्डारी स्वदेश फर्किनेबित्तिकै  पेन्सन पकाएर घर गइसके । फ्रान्स हेरिरहेका दीपक अधिकारीले आउँदो असारपछि अवकाश पाउँदै छन् । उनको पदावधि असारसम्मका लागि थप गरिएको छ ।

जेनेभाका लागि नेपाली राजदूत मणि शर्माले पनि असार १५पछि अवकाश पाउने छन् । यता, न्युयोर्कमा रहेका अमृत राई र प्रवक्ता सेवा लम्साल सचिव हुने लाइनमा छन् । लम्साल केही समय सचिव चलाएर बीचमा जर्मनी, बेल्जियम वा कुनै मुलुकको राजदूत बनेर जाने सम्भावना उत्तिकै छ । लम्साल र राईपछि कृष्ण ढकालको सचिव बन्ने पालो छ । यता, सचिव भरतराज पौड्याल निजामती सेवा ऐन संशोधन नभएमा मंसिरमा ‘रिटायर्ड’ भएर घर जाँदै छन् । ऐन पारित हुन धेरै प्रक्रिया पुर्‍याउनुपर्ने छ ।

टिप्पणीहरू