लुम्बिनीमा अन्तर्राष्ट्रिय खेलकुद दिवसको विशेष तयारी

लुम्बिनीमा अन्तर्राष्ट्रिय खेलकुद दिवसको विशेष तयारी

अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा आगामी चैत २३ गते विशेष कार्यक्रम गरिने भएको छ । नेपाल ओलम्पिक कमिटीले भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा ‘इन्टरनेशनल डे अफ स्पोर्टस फर डेभलपमेण्ट एण्ड पिस’ कार्यक्रमको आयोजना गर्न लागेको बताइएको छ । 

त्यसको निम्ति कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषदले आपसी सहकार्यमा पिस म्याराथनसहित विभिन्न कार्यक्रमको आयोजना गर्ने सम्झौता गरेका छन्  । कमिटी अध्यक्ष तथा पूर्व पर्यटनमन्त्री जीवनराम श्रेष्ठ र लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।  

उक्त कार्यक्रमले लुम्बिनीको प्रचारप्रसारमा सहयोग गर्ने विश्वास लिइएको छ । सन् २०१३ मा संयुक्त राष्ट्रसंघले अप्रिल ६ लाई ‘इन्टरनेशनल डे अफ स्पोर्टस्’  घोषणा गरेको थियो । 
सोहीअनुसार हरेक वर्ष खेलकुदसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरेर यो दिवस मनाइँदै आएको छ । कमिटी अध्यक्ष श्रेष्ठले कार्यक्रमले लुम्बिनीको पर्यटकीय बजार विश्वस्तरमा विस्तार तथा प्रवद्र्धनमा समेत सघाउ पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

खेलकुद विश्वमा शान्ति तथा भाइचारा फैलाउन सबैभन्दा उपयुक्त माध्यम रहेको उल्लेख गर्दै उनले खेलकुद जीत र हारमा मात्र सीमित नरहेको उल्लेख गरे ।

टिप्पणीहरू