सहकारी, पत्नीलाई हपारी–कान्छीलाई सकारी

सहकारी, पत्नीलाई हपारी–कान्छीलाई सकारी सांकेतिक तस्विर

‘अपुग केही थिएन । प्रशस्त धन थियो र मन पनि । तर, उनलाई न धन पच्यो न मन । उखानै छ नि कुकुरलाई कहाँ पच्छ र घ्यु ?’ कल्पनाले ७ वर्षीय छोरालाई राम्रोसँग हुर्काउनुबाहेक अरु केही सोचेकी छैनन्, अहिले । सात जुनी सँगै बाँच्ने, सँगै मर्ने वाचा बन्धन गरेर श्रीमानले सिउँदोमा हालिदिएको एक धर्काे सिन्दुरले अहिले बर्बाद भएको छ जिन्दगी । एकैचोटी आएको भलबाढीले एकैपटक सबै बगाएर लगिदिएजस्तो । तैपनि, झिनो आशा बोकेर बालक सन्तानको मुख हेरी जसोतसो जीवनसँग लडिरहेकी, घिस्रिरहेकी छन् । एउटै ओछ्यानमा, एउटै सिरानी गरेर सँगै सुतेको श्रीमान्ले त विश्वासघात गर्छ भने यहाँ कसलाई आफ्नो भन्नु, अनि कसलाई पराइ ठान्नु ? 

सहकारीमा सँगै काम गर्दागर्दै चिनापर्ची भयो । एकबिना अर्काे बाँच्नै नसक्ने प्रणपछि बाँधियो विवाह बन्धनमा । कामै पैसा बटुल्ने र कमाउने संस्थामा, खासै दुःख भोग्नुपरेन । एकले कमाएको पैसाले घर धान्थ्यो, अर्काेले कमाएको बचत हुन्थ्यो । बैंक खातामा पाँच वर्षको राम्रै बचत भयो । त्यही रकम पछि ६ महिने मुद्दती खातामा समेत रूपान्तरण गरियो । यसरी मुद्दती खाता रूपान्तरणसँगै कल्पनाको शरीर पनि रूपान्तरण भयो । हिजो दुई शरीर थियो, अब थपिँदै थियो अर्काे शरीर । हुँदै थिए तीन ज्यान । पहिलोपटक आमा बन्न लाग्दा उनी थोरै निराशा थिइन् भने धेरै खुशी । 

भन्छन् नि सुख र खुशीको आयु छोटो हुन्छ । लामो आयु त दुःख, पीडा र दर्दको हुन्छ । जीवनको रीतै हो, सुख त एकैक्षण आउँछ र बिलाइजान्छ, दुःख नै साथी र मित हो, मान्छेको । उनको खुशी पनि धेरै समय टिक्न सकेन । सम्बन्ध भनेको घामपानी हुनुपर्छ । र, त घरपरिवार र सम्बन्ध अघि बढ्छ । नत्र भदौको भेलबाढीले बगाएजस्तो सबै बगाएर लगिहाल्दो रहेछ । कल्पनाले धर्तीमा पाइला राख्दै गरेको शिशु र श्रीमानबाहेक केही सोचेकै थिइनन् । सम्पत्ति भन्नु नै उनीहरू थिए । कल्पना दुई जिउकी भएपछि राजेशको काँधमा जिम्मेवारी थपियो । घरपरिवारसँगै बाहिरी बोझ थेग्नुपर्ने भयो । र, केही समय दैनिकी व्यवस्थापनमा केही सास्ती भयो तर कल्पनाले सकेजति पहाड उठाइन्, श्रीमान्लाई सघाइन् ।

एउटै ओछ्यानमा, एउटै सिरानी गरेर सँगै सुतेको श्रीमान्ले त विश्वासघात गर्छ भने यहाँ कसलाई आफ्नो भन्नु, अनि कसलाई पराइ ठान्नु ? 

छोरा पेटमा आउनुअघि नै उनीहरूले काम गर्दै आएको सहकारी छाडेर नयाँ सहकारी खोलिसकेका थिए, आफू सर्कलमा साथीभाइसँग मिलेर । सहकारीको म्यानेजिङ डिरेक्टर (एमडी) पदमा थिए राजेश । क्यासियरको जिम्मेवारीमा कल्पना । कल्पना दुई जीउकी भएपछि दिनमा एकपटक कार्यालय पुगेर हिसाबकिताब हेर्थिन् र घर फर्किन्थिन् । तर, राजेश बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालयमै व्यस्त हुन्थे । घर पुग्दा ७/८ बज्थ्यो । दैनिकी बित्दै थियो । र, कल्पनाको कोखबाट जन्मियो छोरा । परिवारमा छोराको आगमनअघि राजेश र कल्पनाको सम्बन्ध मीठासपूर्ण ढंगबाटै चल्दै थियो, जब कल्पनाले छोरा जन्माइन् तब श्रीमान् परिवर्तन हुन थाले । चपाएको चुइगमको रस सकिएर चपाउन बेमज्जा भएझैँ राजेशले कल्पनालाई बेवास्ता गर्न थाले । कल्पनाले भने ‘कार्यालयको चापले श्रीमान्लाई गाह्रो भएको होला’ भनेर केही समय पातलिँदै गएको सम्बन्धबारे केही मुख खोलिनन् । र, आफैँसँग चित्त बुझाइन् । तर, श्रीमान् दिनदिनै परिवर्तन भएपछि गुह्य जान्न खोजिन् । र, एक दिन अफिसबाट घर आएर खाना खाइसकेपछि सुत्नै लाग्दा कुरा कोट्याउन मात्र के गर्न लागेकी थिइन्, राजेश बिछ्यौनाबाट उठेर किचनमा सुत्न गए । 

भोलिपल्ट सबेरै श्रीमान् मर्निङ वाक निस्के । कल्पनाले उठेर चिया नास्ता बनाइन् । राजेश फर्किएपछि चिया नास्ता गरेर आ–आफ्नो काममा व्यस्त भए । श्रीमान् कार्यालयको कागजात पल्टाउन थाले, कल्पना छोरा र आफ्नो लुगा धुन बाथरुम छिरिन् । अघिल्लो रातको घटना यत्तिकै सामसुम भयो । कल्पनाले पनि विगत कोट्याउन चाहिनन् । र, राजेश पनि केही सुधारिएजस्तो देखिए । पहिलेजस्तै समयमै घर आउने, श्रीमान् र बच्चाको केही ख्याल गरेजस्तो गर्ने । सके खानै बनाएर खुवाउने । यसरी नै बित्यो ३ वर्ष । कहिलेकाहीँ दुईबीच सम्बन्धलाई लिएर ठाकठुक चल्थ्यो तर पानी परेपछि आकाश खुलेझैँ साम्य हुन्थ्यो अर्थात् क्षणमै भर्रर बल्थ्यो र क्षणमै निभिजान्थ्यो, लोग्ने स्वास्नीको झगडा परालको आगो भनेझैँ । छोरा नर्सरीदेखि एलकेजी, युकेजी हुँदै १ कक्षामा पुगिसकेको थियो । तर, छोरा जति जति बढ्दै र हुर्किंदै गयो राजेशका व्यवहार अलि अनौठा र नयाँ देखिन थाले । कहिले घरै नआउने त कहिले साथीकोमा गएको भनेर ढाँट्ने । शुरु–शुरुमा त कल्पनाले पत्याइन् । तर, एक दिन, दुई दिन हुँदै जब झन् झन् घरै आउन छाडे त्यसपछि चुप बस्न सकिनन् । छोरा ३ कक्षामा पुगिसकेको थियो । खाने मुख बढ्दै थियो, खर्च थपिँदै थियो । बचत भएको रकम पनि सकिएर ऋणपान गर्नुपर्ने अवस्था आइसकेको थियो । श्रीमान्को कमाइ घरमा एक सुको नआउने स्थितिमा पुगेपछि कल्पनाले सहन छाडिन् । एक पटक राजेश सात दिनसम्म घरबाट हराए । 

न फोन छ, न घरखर्च छाडेर गएको छ । कोठा भाडा माग्न घरबेटी एकाबिहानै ढोका ढक्ढक्याउन आइपुगे । कल्पनाले ढाँटिन्– श्रीमान् कामको सिलसिलामा बाहिर जानुभएको छ, दुई चार दिनमा आएपछि दिउँला । वर्षाैं कोठामा बस्दा एकपटक ढोकासामु नआइपुग्ने घरबेटीले त्यो दिन उधुमै मच्चाए । ‘४, ४ महिना भयो अझै दुई, चार दिन ? हाम्रो पनि बैंकमा किस्ता तिर्नुपर्छ,’ भनी मुर्मुरिँदै ढोकाबाट निस्किए घरबेटी । त्यही साँझ झुल्किए राजेश । कल्पनाले छोराको स्कुल खर्च नभएको, ड्रेस च्यातिएको, परीक्षा हलमा प्रवेश गर्न पैसा तिर्न नसक्दा निवेदन लेखेर आएकोदेखि घरबेटीसम्मको कुरा सुनाइन् । श्रीमान्ले ‘यताउती गरेर मिलाऊँ, यसपटक बाहिर अफिसको फिल्ड भिजिटमा गएको खर्च भयो । अफिसबाट आएपछि दिउँला ।’ भनेर टार्दै थिए, कल्पना जंगिइन्– ‘यत्तिका दिन भयो, छोरा र बूढीले के खाँदै होलान् भन्ने पीर छैन । अझ यताउति गरेर मिलाऊँ र ।’ एउटा आगो, अर्काे पानी भए पो घर चल्छ । दुबै आगो भए पछि दन्किहाल्छ । आगो दन्किएपछि घरबाट निस्किएका राजेश फेरि बेपत्ता । अनेकतिर सोधखोज गरिन् तर फेला परेनन् । मोबाइल स्वीच अफ छ, साथी भाइलाई फोन ग¥यो कार्यालयबाट पाँचै बजे निस्किनुभएको भन्छन् । अब के गर्ने ? कल्पना आत्तिइन् ।

तर, केही न केही त उपाय लगाउनै पर्ने थियो । दुःख सुख बिसाउने ठाउँ माइती । दाइलाई फोन गरे सुनाइन् कथा–व्यथा । बहिनीको पीडा सुनेपछि दाइ रन्थनिँदै पुगे कपन, डेरामा । चार महिनाको घरभाडा, बिजुली बत्ती, पानी सबैको बिल तिरेर बहिनी र भान्जासहित पुगे सरस्वतीनगर । माइतीको आड पाएपछि केही फुर्सद मिल्यो, अझै बढी हिम्मत । र, उनी पुगिन् कार्यालय, जहाँ सुत्केरी भएदेखि पुगेकी थिइनन् । कार्यालय पुगेर सबै कुरा थाहा पाएपछि छाँगाबाट खसेजस्तो भइन् । राजेशले कान्छी भित्र्याएर अर्कै कोठा खोजी घरजम गर्न थालेको त वर्षाैं भइसकेको रहेछ । कार्यालयको ऋण लाखौँ पुगिसकेको । ऋण प्रवाह सही ठाउँमा नभएर फसेका उनले कार्यालयसँग पनि सम्पर्क न्यून बनाउँदै गएका रहेछन् । उनलाई एमडीबाट हटाएर ऋण तिर्नका लागि ताकेतामा खटाइएको रहेछ । सबै कुरा आफूलाई किन नभनिएको भनेर अध्यक्षसामु रोइकराइ गर्दा ‘श्रीमतीलाई टेन्सन नदिने’ भन्दै समस्या समाधान आफैँ गर्ने भनेका रहेछन् । तर, वास्तवमा कुरा अर्कै रहेछ । कान्छी बनाएर भित्र्याएकी महिला संस्थाको सदस्य रहिछन् । उनले लाखौँ रूपैयाँ राजेशसँग साँठगाँठ गरेर फुत्काएकी रहिछन् । र, ऋण तिराउनका लागि ताकेता गर्न जाँदा आफू ऋण तिर्न नसक्ने बरु कान्छी श्रीमती बनेर बस्न राजी हुने भन्दै घाँटीमा झुण्डिएकी रहिछन् । त्यसो त ५० लाख बचत रकम लिएर साथीहरू पनि बेपत्ता भइसकेका थिए । यता, ती महिला शरीरमै झुण्डिएकी छन् । शुरु–शुरुमा त राजेशले ती महिलालाई अनेक गाली गरे, तर पछि उनकै कोठामा बास हुनथाल्यो । ऋण चुक्ता गराउन जाँदा आफैँ ती महिलासँग फसे । पछि महिलालाई छाड्न खोज्दा प्रहरी लगाएर इज्जत लुटेको भन्ने डरले बाध्य भएर अलग्गै कोठा राखी बसेका रहेछन् । 

यी सब कुरा थाहा पाएर रुँदै माइती फर्किइन् कल्पना । र, सबै कुरा आमा–बुवा, दाइलाई भनिन् । कसले चाहन्छ आफ्नी छोरी, बहिनीको भविष्य बिग्रेको ! मिलेमतोमा बरु त्यो महिलाको ऋण आफूहरूले तिर्ने तर साथ छाड्नुपर्ने सहमति भयो । र, राजेशलाई कल्पनाका दाइले घरमै बोलाए इज्जतसाथ । र, दुई पक्षबीच सबै कुरा भयो । तर, राजेशले न श्रीमती र बच्चाको भविष्य सम्झिए न आफ्नै । बरु कान्छीसँगै जीवन काट्ने र सम्बन्ध तोड्ने भन्दै जंगिए । अन्तिममा कल्पनाका दाइले पनि आफूहरूले दिएको मोटरसाइकलसहित केही जायजेथा बहिनीलाई फिर्ता गराएर सम्बन्धमा पूर्णविराम लगाइदिए । लाहुरेको छोरी बिहे गरेका राजेश अहिले चेक अनादरसँगै संस्थाको रकम अपचलन गरेको मुद्दामा ७ महिनादेखि डिल्ली बजारमा जेल जीवन भोगिरहेका छन् । केही दिनअघि कोहीमार्फत श्रीमतीलाई ३० लाख धरौटी मागेकाले त्यो धरौटी तिरेसँगै बस्ने भन्दै सन्देश पठाएका छन् । तर, त्यो त बाहिर निस्किने नौटंकी मात्र हो भन्ने बुझेको छ कल्पना पक्षले । किनकि जेल पर्नुअघि कल्पनासहित उनका दाइले भेटेर कान्छी छाडे सबै ऋण तिर्ने भनी विश्वस्त पार्दा पनि उनले ‘ज्यान जाला बरु कान्छी छाड्दिनँ’ भनेका थिए । अनि कसरी सहजै ३० लाख धरौटी तिरिदिएर कारागारबाट बाहिर निकाल्ने । कल्पनाको कथन छ यही छोराको मुख हेर्छु, बरु ३० लाख रकम यसैलाई लगानी गर्छु । त्यसलाई त मरिगए पनि धरौटी तिरेर निकाल्दिनँ । सर्पलाई पटक–पटक दूध खुवाउँदिन । आखिर दूधै खुवाए पनि सर्पले निकाल्ने विषै हो । 

– कल्पनाको साथी शर्मिला 
 

टिप्पणीहरू