किर्तेमा तानिए सब-इञ्जिनियर
सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सब-इञ्जिनियर शिवनारायण मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा नियुक्ति लिएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
अख्तियारका अनुसार मण्डलले २०५३ साउन १ गते जिल्ला विकास समितिको कार्यालय, सुनसरीमा सहायक सब–ओभरसियरमा स्थायी नियुक्ति लिएका थिए । नियुक्तिका क्रममा उनले भारतको बिहार विद्यालय परीक्षा समिति, पटनाबाट माध्यमिक तहको परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेकोसहित विभिन्न तहका शैक्षिक प्रमाणपत्र पेश गरेका थिए ।
सब–ओभरसियरका रुपमा १४ वर्ष बिताएपछि मण्डल ०६७ माघ ७ गते सहायक इञ्जिनियरमा बढुवा भए । तर, उनले नियुक्ति लिँदा पेश गरेका शैक्षिक प्रमाणपत्र नै नक्कली रहेको अख्तियारको ठहर छ ।
झुट्टा सर्टिफिकेटका आधारमा सरकारी जागिर खाएको र बढुवासमेत भएको भन्दै अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।
टिप्पणीहरू