ई–पासपोर्टको बायोमेट्रिक डाटा संकलन गर्न नेपाली टोली पोर्चुगल जाने

ई–पासपोर्टको बायोमेट्रिक डाटा संकलन गर्न नेपाली टोली पोर्चुगल जाने

विद्युतीय राहदानी (ई–पासपोर्ट) को तथ्याङ्क संकलन गर्न राहदानी विभागको टोली पोर्चुगलको लिस्वन जाने भएको छ । चैत १५ गते विभागको टोली त्यता जान लागेको बताइएको छ ।

लिस्वनस्थित नेपाली महावाणिज्यदूतावासको समन्वयमा नेपालबाट गएको टोलीले ई–पासपोर्टको बायोमेट्रिक डाटा संकलन गर्ने फ्रान्सस्थित नेपाली राजदूतावासले जनाएको छ । दूतावासका पदाधिकारीहरुले समेत राहदानी सेवा प्रदान गर्न सहयोग गर्ने जनाइएको छ । 

दूतावासले लाइभ इनरोलमेण्टको निम्ति अनलाइन अपोइण्टमेण्ट लिइसकेका आवेदकहरुको मात्र बायोमेट्रिक लिने स्पष्ट पारेको छ । अनलाइनमार्फत फाराम भरेकाहरुले दरखास्त बारकोड र क्युआर कोर्डसहितको फाराम प्रिन्टको एक प्रति, नेपाली नागरिकको प्रमाणपत्रको सक्कल र सोको फोटोकपी, नाबालिगको हकमा जिल्ला वा इलाका प्रशासन कार्यालयबाट जारी भएको नाबालिग प्रमाणपत्र र बुबाआमाको नागरिकताको प्रमाणपत्र संकलन केन्द्रमा बुझाउनुपर्नेछ । 

त्यस्तै, पूरानो राहदानीको सक्कल र फोटोकपी, राहदानी हराएको भए प्रहरी प्रतिवेदनको एकप्रति, पोर्चुगलमा रहेको प्रमाण जनाउने कागजात पनि पेश गर्नुपर्नेछ । पोर्चुगलमा जन्मिएका नाबालकहरुलाई अस्थायी नम्बरको व्यवस्था गरिएको छ । नाबालक–नाबालिकाको परिचयपत्र नहुने भएकाले जन्मदर्तालाई आधार मानेर दूतावासले दर्ता किताब खडा गरि अस्थायी दर्ता नम्बर दिने जनाएको छ ।   

दूतावासकाअनुसार अपोइण्टमेण्ट दिइसकेका राहदानीको म्याद भुक्तान वा राहदानी क्षति भएका निवेदकहरुले मार्च २९, ३०, ३१ र अप्रिल २ गते प्रमाण पेश गर्नुपर्नेछ । राहदानी हराएकाले अप्रिल ३,७,९,१४,१६ र १८ र म्याद भुक्तान भएका राहदानीवाहकहरुले अप्रिल २०, २१ र २३ गते सेवा पाउने छन् । 

राहदानी नष्ट भएका र पोर्चुगलमा जन्मिएका नाबालिगहरुलाई अप्रिल २४ र २५ तारिखका दिन सेवा दिने दूतावासले जनाएको छ ।

टिप्पणीहरू