बालेन साहले प्रहरीलाई लात्ती बजारेपछि

बालेन साहले प्रहरीलाई लात्ती बजारेपछि

भनिन्छ नि, ‘थर र घर नभएका मान्छेको भर हुँँदैन ।’ नेपालको राजनीतिमा विचार, दृष्टिकोण र राजनीतिक केन्द्र (घर) नखुलेका व्यक्तिहरु हावी हुँदा त्यही स्थिति बनेको छ । काठमाडौं महानगरका मेयर बालेन साहले आफूविरुद्ध भएको एक विरोध प्रदर्शनका क्रममा गाडीबाट ओर्लिएर सीधै प्रहरीको अवरोधक यन्त्र (व्यारिकेड) मा लात्ती हाने । अघिल्लो शुक्रबार माइतीघर मण्डलामा उनको कार्यशैलीविरुद्ध महानगरवासीको प्रदर्शन चलिरहेको थियो । मण्डलाको दक्षिणतर्फ कुनामा प्रदर्शनकारी जम्मा भएका थिए । उनीहरु निषेधित क्षेत्रतर्फ नजाउन् भन्नका लागि प्रहरी तैनाथ थियो । तर, मेयर बालेनले आफैँ गाडीबाट ओर्लिएर सीधै व्यारिकेडमा लात्ती हानी ढालिदिए । मेयर, त्यो पनि काठमाडौंको ।

त्यत्तिको मान्छेले बोलेर, सम्झाएर वा शालिनताका साथ आफ्नो कुरा भन्नुपर्नेमा ‘सुकुलगुण्डा’ को शैलीले सडकमा उत्रिएपछि प्रहरी पनि लज्जित भए । बालेनलाई त्यसदिन दुई कुरामा रिस उठेको रहेछ । एउटा हो, माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको र अर्को त्यो विरोध आफ्नै भइरहेको । पहिले पहिले पो विरोध प्रदर्शनका निम्ति सरकारले खुलामञ्च क्षेत्रलाई तोकेको थियो । तर, खुलामञ्चलाई बालेनले नै कहिले भूमिगत पार्किङ तथा कहिले बसपार्क बनाउने नाममा गिजोलिरहेका छन् । केही वर्षअघि माइतीघरमा विरोध प्रदर्शन गर्न दिइनुहुँदैन भनेर सर्वोच्चमा रिट दायर हुँदा प्रधानन्यायाधीश ओमप्रकाश मिश्रसहितको बेञ्चले जनतालाई विरोध अभिव्यक्त गर्न दिनुपर्छ भनेर त्यहाँ हुने प्रदर्शनमा रोक लगाउन दिएन । शुक्रबार पनि बालेनले पहिला काठमाडौंका सिडिओ घनश्याम उपाध्यायलाई फोन गरेर हप्काए । उनको अश्लिल खप्की खाएपछि घनश्यामले गृहसचिव बिनोदप्रकाश सिंहलाई फोनमा भने, ‘त्यसले के खान्छ कुन्नी ? जे पायो त्यही खाएरमात्रै त्यस्तो कुरा निस्किन्छ । राम्रो कुरा खाएको भए त कुरा पनि राम्रै आउनुपर्ने हो...†’ उपत्यका प्रहरीका एआईजी दिवेश लोहनीले बालेनको लात्ती काण्डसम्बन्धी सिसिटिभी फुटेज कपी गरेर गृहसचिव र प्रधानमन्त्रीलाई पठाइदिएका छन् ।

बालेनले लात्ती हान्न थालेपछि साथमा रहेका महानगर प्रहरीले पनि साथ दिने नै भए । उनीहरुलाई प्रहरीले रोके । राज्यले प्रत्येक नागरिकलाई विरोध गर्ने अधिकार दिएको छ, विरोधस्थल पनि तोकेको छ । तर, काठमाडौंका मेयरले सम्राटको शैलीमा यहाँ दिन्छु, त्यहाँ दिन्नँ भन्न पाइने अवस्था हैन । भारतीय राजधानी नयाँ दिल्लीमा पनि आन्दोलन गर्न, अभिव्यक्ति राख्न जन्तरमन्तर मैदान दिइएकै छ । बालेन प्रायः शुक्रबार साँझ बालाजुबाट नागार्जुन जंगलको फेदतिर जाने र त्यहीँ ‘कालोपदार्थ’ सहित बियर घुड्क्याएर फर्किने गरेको र एकदिन आफूलाई मेयरबाट हटाउन खोजियो भनी त्यही सुरमा लेखेको बताइन्छ ।

बालेनजस्तै निस्किएका छन्, बिर्तामोडस्थित बि एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाई । ‘बैंक, वित्तीय संस्थालाई तिर्नुपर्ने ऋण तिर्नुपर्दैन, आन्दोलन गरौँ’ भनेर सर्वसाधारणलाई भेला पार्ने र चर्काचर्का कुरा गर्ने कारण उनी ‘सेलिब्रिटी’ झैँ बनेका छन् । नेपालमा सहकारीबाट ठगिनेको संख्या ठूलो छ । राष्ट्रबैंकको अनुगमन राम्रो नहुँदा त्यस्तो भएको हो । नीति र नियमभन्दा दायाँबायाँ गर्न नपाइने कानुन ल्याएको भए यस्तो विसंगति आउने थिएन । एक त विसंगति भित्रियो, अर्कातिर त्यही विसंगतिले अर्को विसंगति जन्मायो, हुल जम्मा पार्दै सेलिब्रिटी बन्ने । भनिन्छ कि, वैदेशिक रोजगार, एजुकेशन कन्सल्टेन्सी, बित्तीय संस्थाबाट ठगिएका, जागिर नपाएका, विभिन्न आन्दोलनमा लागेर अंगभंग भएका, काण्ड लागेका, राजनीतिमा लागेर पनि भोग गर्न नपाएकाहरुलाई उकासेर एकथरि मान्छेले बिष्फोटक रुप ल्याउन सक्छन् । त्यस्ता मान्छे नागरिक छनौटका पात्र बन्ने प्रवृत्ति घातक हुने देखिन्छ ।

प्रहरीले त्यही प्रवृत्तिका अर्का व्यक्तिलाई नियन्त्रणमा लिएको छ । दुई महिनाअघि काठमाडौं महानगर प्रहरीका एसपी राजु पाण्डेमाथि हातपात गरी फरार रहेका बागमती किनारका सुकुम्बासी नेता नारायण परिश्रमीलाई प्रहरीले सुनसरीबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ । पछिल्लो समय उनी पनि दुर्गा प्रसाईंको ‘ऋण मोचन’ अभियानमा लागेका थिए । मंसिर ४ को चुनाव हुनुभन्दा एक महिना अघिसम्म माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को भूमिहीन संगठनका अध्यक्ष थिए । चुनावी गीत तयार पार्न महासचिव बेदुराम भुसालसँग ३५ हजार रुपैयाँ मागे । बेदुरामले गाली गरेर पठाइदिएपछि पार्टी छोडेर एमालेमा गएका उनी महानगरका प्रहरीलाई कुटेर भागेदेखि बेपत्ता थिए । एकाएक दुर्गा प्रसाईंको अभियानमा भेटिएपछि प्रहरीले पक्राउ गरेको हो । 
 

टिप्पणीहरू