न जिन्सी दियौँ, न नगद नै ‘खैँचियौँ’

न जिन्सी दियौँ, न नगद नै ‘खैँचियौँ’ –रामकुमार एलन

राष्ट्रपतिको निर्वाचन नजिकिएको छ तर कम्युनिष्ट मनहरू टाढिएका मात्र छैनन्, लिक छाडिरहेका छन् । किन टाढियो होला ? आमनेपालीदेखि उत्तर, पश्चिम, दक्षिणका छिमेकी पनि बुद्धिबिलास गरिरहेका छन् । पुसको चिसोकै कथा हो । पुस १० गते बहुमत जुटाएर, कांग्रेस–समाजवादी गठबन्धनबाट हिँडेका र पुस ११ गते प्रधानमन्त्री भएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले एउटा बैठकमा ब्रिफिङ गरेको भनेर समाचार आयो, ‘सोचेजस्ता सजिला होइन र’छन् माधवजी ।’ माओवादीनिकट केही मिडियाले यसलाई हेडलाइन त बनाए तर भाइरल बनाएनन् ।

माधवकुमार नेपाल र समाजवादीहरूले पनि यसमा प्रश्न राखिरहेनन् । यो प्रसंग हरायो । भोलिपल्टै प्रचण्डकहाँ स्याउसुन्तला खान जानु भएका केपी शर्मा ओलीले त्यहाँ माधवकुमार नेपाललाई भेट्ने सूची थियो भनिन्छ । तर, त्यहाँ ओली र दाहालले सुन्तला छोडाए, माधव नेपालको भागमा केस्रा पनि छाडिएन । बुझिएअनुसार, माधवकुमार नेपाल खुमलटार नगई बाटैबाट रिभर्स हुनुभयो । त्यसयता नेपाल–ओली भेट ‘वान टु वान’ गराउन खटिएका गणहरू निष्क्रिय भए । स्वयम् ‘प्रधानमन्त्री गण’लाई भेट्दै केपी ओलीका दिनहरू बिते । 

यो बीचमा एकपटक राष्ट्रपतिको नारायणमान बिजुक्छेसँग भेट भयो । भेट त अरु धेरै नेतासँग पनि भए । कालोचियामा बिते होलान् । तर राष्ट्रपति घर जाने बेला नयाँ राष्ट्रपति को बन्ने भन्नेमा टुंगो लागेको छैन । भारतका एउटा स्वघोषित बुद्धिजीवीले नेपालमा फलाना बन्दा हुन्छ भनेर ट्विटरमा लेखेको विषयलाई हामी बजारु पारिरहेका छौँ । यो बजारु स्वभाव हाम्रो कहिल्यै नजाने भयो ज्योतिष अर्जुन क्षेत्रीले सबैको भविष्य हेर्दाहेर्दै आफैँ पुलिसबाट समातिन लागेको थाहा नपाएजस्तै गरी । दुई महिनाअघि नै अबको राष्ट्रपति भनेर चर्चा परिचर्चा गरेर जनतामा अनुमोदन गर्नु पर्नेमा हामी पुरानै राष्ट्रपतिको सवारी पनि थाहा नपाउने ‘साइकलवाला डाक्टर’को यात्राका कारण देश बन्धक बनाइरहेका छौँ ।

आन्दोलनकारी डाक्टर धरपकडमा उत्रिएको पुलिसलाई भनिरहेको थियो, ‘तँलाई भोलि क्यान्सर हुँदा हामीले उपचारमा ढिलाइ गरिदिए के हुन्छ ?’ श्वेतकोटहरू राजनीति गर्दैनन्, राजनीति विकृत बनाउँछन् । एउटा डाक्टरलाई आज राष्ट्रपतिको सवारी छ भन्ने थाहा हुन्न ? कसैले उचालेका भरमा साइकल लिएर हतारमा हिँड्न खोज्दा प्रहरीले राष्ट्रपतिको सवारी मिलाइरहँदा थाहा नपाउने डाक्टरहरू राखेर देश के अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउने होडबाजी भइरहेको हो र ? एकाध व्यक्तिको इच्छा, चाहना, सनकपन, तर्क जे भनौँ, भीड जम्मा पार्ने, हूलको शक्ति देखाएर रुल भत्काउने काममा कोही पछि देखिन्नन् । यसपटक डाक्टरहरूले त्यसै गरे । त्यसपछि ‘मोबाइल चोरी’सम्म जोडिएका यातायात मजदुरहरूले देशमा आगो लगाए ।

उता काठमाडौंकै कपन बूढानीलकण्ठमा १६ हजार त म्यानमारबाट आएका रोहिंग्या शरणार्थीहरू काठमाडौँलाई भुटानी शरणार्थीको अर्को झापा बनाउँदैछन् । हरेक जिल्लाका मानिसलाई काठमाडौंमा घर चाहिएको छ । तर काठमाडौंलाई एउटा भरलाग्दा जनमुखी मेयर, प्रधानमन्त्री र राष्ट्रपतिको जन्मथलो बनाउन कोही तयार छैनन् । सबै बाहिरबाट गएकाहरूले अनुकूलका चरित्र देखाएका छन् । पानी बेच्नेहरू प्रहरी चौकीमा आगो लगाएको आरोपमा समातिएका छन् । भीड देखेपछि किन मनहरू उत्तेजित हुन्छन् ? गैरकानुनी काममा ओर्लिन्छन् । अपराध हो भन्ने हो थाहा भइभइ किन नागरिकहरू अराजक बनिरहेका छन् ? यो अराजक मनहरू संगठित भयो भने त्यसले के कार्यकारी अधिकार दिए पनि प्रधानमन्त्री र राष्ट्रपतिलाई सग्लोसँग हिँड्न दिन्छन् त ? हरेक बिच्किएका मनहरू राजनीतिले देश डुबायो भनेर आफैँ कानुन हातमा लिन किन उद्यत छन् ? देशको मनोदशा बुझ्ने शासकको किन खडेरी प¥यो ?

अहिले पनि कम्युनिष्ट पार्टीका नामबाट बेलाबखत कार्यालयका हाकिमहरू ‘मोसोदलाइ’ भेटिरहेका छन् । बेथिति र बदमासी गर्नेहरू छानिछानी फोनमै झपारेर सत्तामा पुगेका रवि लामिछानेहरू आज सडकमै छन् । तर, उनीहरूको हुंकार र उद्घोष हेर्ने हो भने त देशमा अब कोही बदमास हाकिम छैनन्, भ्रष्टाचार कम भएको हुनुपर्छ । तब न जनताले यस्ता जनमुखी नेताहरूलाई सत्तामा पु¥याएका होलान् । सर्सर्ती हेर्दा बुझिने दृश्य यही हो । तर कहाँ देश त्यस्तो छ र ? जनता लाइनमा बसेर सेवा लिन भन्दा युट्युबरलाई बोलाएर अन्तर्वार्ता दिँदै भाइरल हुन चाहन्छन् । कर्मचारी पुरानो सेटिङमा ‘दर’ बढाइरहेको छ । कर बढोस् नबढोस्, दर बढेकै छ । जनता सास्ती खेपिरहँदा सुशासन भित्तामा टाँसिने कागजबाहेक अरुले अनुभूत गर्न सकेका छैनन् । कर्मचारी संयन्त्रले राजनीतिक दलहरू, तिनका नेता र चुनिएर आएका जनप्रतिनिधिलाई पनि कर्मचारी शैलीमा आकर्षित गरेका छन् । त्यसैले चुनिएर जब नेता जनप्रतिनिधि हुन्छ, तिनैका नेता कार्यकता यस्ताहरूबाटै आजित हुन्छन् । देखिएकै छ । 

यसलाई मलजल गरिररहेको छ पर्वका बिदाहरूले । फागुनमा मात्रै ११ दिन बिदा छ । यो बिदा केका लागि ? कसैलाई ग्याल्पो ल्होसार त कसैलाई शिवरात्रिको बिदा चाहिएकै छ । हामी कमजोर अर्थतन्त्रको पिङमा झुण्डिएका छौँ । यसलाई मच्चाउन आम्दानीको पयोहरू थप्नु छ । तर आम्दानीलाई पर्व, जात्रामा खर्च गरेर हामी ऋण नकाढी बाँच्नै नसक्ने भएका छौँ । यस्तो बेला फेरि बिदा थपिँदा, आफन्तहरू भेटिँदा कमाइ नै खिइँदै जाने हो । तैपनि खुशी नागरिकहरूको देश भन्दै मक्ख परेर हामी चाडपर्व खर्चिलो बनाइरहेका छौँ । एउटा समुन्द्र नभएको देश संसारमै पानीमा दोस्रो ठूलो देश भनेर दशकौँ पढाउने र पढ्ने दुवै मूर्खहरूको देशका हामी बुद्धिमानी नागरिक हौँ भन्दा झनक्क रिसाउने, फनक्क फन्किने मनोदशा विकास गरेका छौँ । किन यसो भनियो, के हो वास्तविकता भनेर हामी कहिल्यै पनि तर्क र तथ्यमा पुग्न चाहन्नौँ । यही कमजोरीले आज हामी ‘पृथ्वीनारायण शाहले भन्ने गरेको जिन्सी दिनू, नगद खैँचिनु’को ठीक उल्टो भइरहेका छौँ । 

हामीसँग भएका जिन्सीका किस्ता तिरिरहेका छौँ । जिन्सीका नाममा भएका घरजग्गा पनि बैंकमा छन् । अनि त्यो फिर्ता लिन अलिअलि भएको रकम पनि किस्ता तिरिरहेका छौँ । अघिल्लो हप्ता पूर्वी मकवानपुरको वकैयामा एउटा लघुत्तिका कर्मचारीले किस्ता नतिरेको ऋणीको घरमा गएर भनेछ, ‘किस्ता नतिर्नेले के भात खाएको ?’ उसले खाइरहेको खानामै थुकिदिएछ । पीडाले औडाहा भएर ऋणी आत्महत्याको बाटो रोज्न खोज्दा गाउँलेले बचाए । २ हजार ७ सयभन्दा बढी नागरिकले किस्ता तिर्न नसकेर नै आत्महत्याको बाटो रोजेको देखिएको छ । मात्र प्रेमप्रसाद आचार्यले चैँ बानेश्वर पुगेर आत्मदाह गर्दै राज्यका नाममा उत्पीडन, विभेद, अन्यायको लामो फेहरिस्त लेखे ।

गाउँ छिरेका लघुवित्तले जनताको जिन्सी र नगद लुटेकै छन् । बैंकहरूले जिन्सी लिएर नगद खैँचेका छन् । विदेशमा छोराछोरी पढाउने मोहले भएको सम्पत्ति र सन्तान खैँचेको छ । अनि हामी इतिहास मात्रै पढिरहेका छौँ, हामीसँग भएको जिन्सी बेचेर नगद संकलन गर्ने । हामी नगद नभएरै जिन्सी बेच्ने अवस्था पुग्यौँ । हुँदाहुँदा सन्तान बेच्ने अवस्थामा पुग्यौँ । मुठ्ठिभरका शासक, सामन्त, मिटरब्याजीहरूले पैसा नदिँदा बैंकसमेत सुक्ने अवस्थामा पुग्यो । कर्मचारीतन्त्रलाई कोही विरोध गर्न सकिरहेका छैनन् । फगत राजनीति र अझ प्रजातान्त्रिक व्यवस्थाले देश डुबायो भन्ने निष्कर्षमा मात्रै हौसिएर फेरि पनि उत्पादनको कुरा गरिरहेका छैनौँ । डाक्टर सेवा दिन छाडेर आन्दोलनमा छ । किसान उत्पादन सडकमा फालेर आन्दोलनमा छ ।

युवा पुस्ता अनलाइन र डिजिटल दुनियाँको नसामा फसेको छ । देश बनाऊँ भनेर देशमै चाहिने जनशक्ति उत्पादन गर्नु भन्दा अमेरिका र अष्टे«लिया पठाउने क्याम्पस र कन्सल्टेन्सीहरू मौलाएको देशमा राष्ट्रपति भैँसी चराउने परेर के, भैँसी चराउन नमान्ने परेर के ? हामी देश शरणार्थीलाई सुम्पेर आप्रवासी हुन सन्तानसँगै आफैँ पनि बैंक र कन्सल्टेन्सीमा लाइन बस्नुको विकल्प नहुँदा पनि चेत्छौँ कहिले ? यी सबै नेपाली मनोदशा पढेर कार्यकारी नभए पनि सरकार, जनतालाई केही गर भनेर उत्साह र उमंग भर्ने राष्ट्रपति चयन गर्न दलहरू मिलून, न कि भारत, चीन, पश्चिमालाई उपयुक्त पात्र ।
 

टिप्पणीहरू