यी हुन् घाइते सांसद भण्डारीसँगै ‘एअर एम्बुलेन्स’ मा सवार चिकित्सक टोली

खाना पकाउने ग्यास सिलिण्डर बिस्फोटपछि घाइते भएका काँग्रेस सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि आज दिउँसो भारत लगिएको छ । 

हिजो राति कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारार्थ भर्ना गरिएका भण्डारीलाई त्यहाँबाट एम्बुलेन्समा राखेर विमानस्थल पुर्याएपछि श्री एयरलाइन्सको विमानमा मुम्बईको नेशनल बर्नस् सेन्टर लगिएको हो । अस्पतालका अनुसार थप उपचारको निम्ति उनलाई भारत रिफर गरिएको हो । 

भण्डारीसँगै थापाथलीस्थित नर्भिक अस्पतालका छ जना स्वास्थ्यकर्मीको टोलीसमेत भारत गएको छ । टोलीमा क्रिटिकल केयर प्रमुख डा.प्रदिप तिवारी, एनेस्थेसिया क्रिटिकल केयर डा.वृहस्पति र फ्लाइट डाक्टर डा.रोशन शर्मा छन् । अन्य तीन जना पारामेडिक्स ईआरमा दिनेश राई, सागर महर्जन र राज तामाङ हुन् ।

त्यसैगरी, बिरामीसँगै उनको हेरचाहको निम्ति चार जना आफन्तहरु पनि सोही विमानमा मुम्बइ गएका छन् । जसमा माधवप्रसाद न्यौपाने, योगराज कँडेल शर्मा, स्मृति कार्की र मीनप्रसाद भण्डारी छन् ।विमानमा चालक दलका छ जना सदस्य छन् । चालक दल, चिकित्सक टोली, बिरामी र आफन्तजन गरेर श्री एअरलाइन्सको विशेष उडानमा १७ जना लिएर विमान ४ बजे काठमाडौंबाट उडेको हो ।

चिकित्सकका अनुसार भण्डारीको शरीरको करिब ३० प्रतिशत भाग जलेको छ भने धुँवा श्वासनलीमा गएकाले स्वास्थ्यअवस्था जटिल बनेको हो । ७० प्रतिशत शरीरको भाग जलेकी उनकी आमा हरिकलाको भने उपचारका क्रममा आज बिहान बर्न अस्पतालमा निधन भएको छ ।

टिप्पणीहरू