आउन थाले अनेकथरी अल्टिमेटम

आउन थाले अनेकथरी अल्टिमेटम – मनोजकुमार कर्ण

जाडोको एकाबिहानै नुहाउने भनेर ‘पानी तताऊ नत्र ...’ भन्दा जवाफ आयो, ‘तताउँदिन, के गर्छस् ?’ भन्नैपर्‍यो, ‘त्यसो भए चिसै पानीले नुहाउँछु !’ यस्तो परिबन्द एमाले र रास्वपला अध्यक्षलाई आइपरेको छ । 

अदालतबाट नेपाली नागरिकताको दुरूपयोग तथा एकैचोटी अमेरिका र नेपाल गरी दोहोरो नागरिकता र राहदानी दुरूपयोगको कसूर ठहर गरिएपछि रवि लामिछानेले गत माघ १९ गते बिहीबार ‘आजसम्म जे लेख्नु छ, बोल्नु छ लेख्नुस् तर अब म बोल्छु, म अभिमन्यू होइन’ सरकारबाट बाहिरिने धम्की दिएका थिए । तर, अल्टिमेटम अवधिभित्र उच्चस्तरीय संयन्त्रमा छलफल त के बैठक नै बसेन । र, यसबीच रास्वपाको सत्ताबाट बहिर्गमन भइसकेको छ ।

बाबुराम भट्टराईको पालामा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ताले सर्वोच्चको आदेशानुसार डिल्लीबजार जेल जानुपर्‍यो भने कांग्रेसका आफ्ताव आलम, टेकबहादुर गुरूङ, एमालेकै मोहन बानियाँ, जसपाका हरिनारायण रौनियार, माओवादीका कृष्णबहादुर महरा, नाउपाका रेशम चौधरीहरू मन्त्री वा सांसद छँदै निलम्वन वा प्रहरीको खोरमा गएका छन् । मधेशमा छुट्टै देश बनाउँछु भन्दा जनमतका अध्यक्ष डा. सीके राउतलाई केपी ओलीले जेलमा थुनेकै हुन् । 

के नेपालमा दुईटा कानुन छ कि महिला तथा मधेशीहरूले नागरिकता समस्याकै कारण सिमकार्ड किन्न र जागिर खान नपाउने तर रवि लामिछानेले शुक्रबार अदालतबाट नागरिकता दुरूपयोगमा नेपाली नागरिक नरहेको ठहर भएलगत्तै आइतबारै तत्काल नागरिकता पाउने ? कुन कानुनले मिल्यो त्यस्तो ? आमजनता तथा खासगरी मधेशीले त्यसरी नागरिकता पाउन सक्छन् ? कुन देशको कानुनमा लेखेको छ कि जुन दिन नागरिकता लियो, त्यही दिन एकैचोटी गृहमन्त्री माग्ने वा उपचुनावमा भाग लिने ? 

आज संसदमा राप्रपाका मन्त्रीहरूले गणतन्त्र र संविधानविरूद्ध प्रम प्रचण्डलाई  चुनौती दिइरहेका छन्, जबकि डा. सिके राउतलाई संविधानविरूद्ध बोलेकोमा लामो समय जेल हालियो । के नेपालमा दुईटा कानुन छ पहाड र मधेशलाई ? संसदमै रविले एमालेका अदालती फरार लक्ष्मी महतोलाई पक्रन त के चिन्न पनि सकेनन् ? किन रघुविर महासेठले उल्टै ‘लक्ष्मी दोषी प्रमाणित नभएको र प्रहरीले नै भगाएको’ भनी संसदमा कराउनुपर्‍यो ? कहाँ गए लक्ष्मी महतो : जमिनले निल्यो कि आकाशले खाइदियो ? 

२०७४ सालताका आइजिपी बन्न कागज किर्ते गरेको अभियोगमा नवराज सिलवाललाई तात्कालीन देउवा सरकारले पक्रन खोज्दा उनी हराए तर निकै लामो समयपछि उनलाई भेट्ने र पहिलोपटक मिडियामा समाचार दिने उनै केपी ओली थिए । २०७० सालपछि राजनीतिक रूपमा प्राण उडिसकेको राप्रपालाई त्राण अर्थात् सास भरिदिने काम ०७४ देखि २०७९ को निर्वाचनसम्म एमालेले किन गर्‍यो ?

(उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस, पाटनढोका, ललितपुर)
 

टिप्पणीहरू