राष्ट्रपतिको गिफ्ट ह्याम्परमा गफाडी राष्ट्रवाद

राष्ट्रपतिको गिफ्ट ह्याम्परमा गफाडी राष्ट्रवाद

मदन भण्डारीका दुई सहकर्मी केपी शर्मा ओली र वामदेव गौतम नेपाली राजनीतिमा उनै ‘मदन विश्लेषण’सहित बाँचिरहेका छन् । मदनले ओलीबारे सहकर्मीहरूमाझ भन्ने गर्नुहुन्थ्यो, ‘गफबहादुर ।’ अनि गौतमबारे टिप्पणी थियो, ‘वामदेवविना संगठन लुलो हुन्छ, यिनलाई बोकौँ– संगठन धुलो हुन्छ ।’ नभन्दै ओलीका गफले प्रधानमन्त्रीका कान मात्र नभएर माओवादीलाई नै ‘सुगर’ बढिरहेको छ । कहिले आएँ–आएँ भनेर चुनावी गीत पनि लेखिदिने, अहिले आउदिनँ, हुन्न, सिद्धान्तै मिलेन भनेर दस्तावेज मात्रै पढ्न दिई शर्त राखिरहँदा ‘नेकपा एस’ का अध्यक्ष माधवकुमार नेपालको ‘प्रेसर’ बढिरहेको छ । 

‘जनताको बहुदलीय जनवाद’ छाड्न पाइन्न र ‘सहअध्यक्ष’ चाहिन्छ– मोटामोटी गौतमको अडान यति नै हो । तर नेकपा (एकीकृत समाजवादी) वैज्ञानिक समाजवादको अभ्यासमा होमिएको छ । बरु नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको जनगणतन्त्र र वैज्ञानिक समाजवादसँग हिमचिम हुनसक्छ, जनताको बहुदलीय जनवाद दक्ष प्रजाप्रति झैँ बोकाको टाउको जोडिएको विचार हो भन्ने झलनाथ खनाल समूह ‘च्याप्टर क्लोज्ड’ भनिरहेको छ । यसैले वामदेव गौतमको मन, मुटु, दिमाग माधव नेपालको पार्टीसँग ‘आकर्षित’ भएर ‘मगनी’ को कुरा चले पनि ‘टीकाटालो’ बाँकी छ । सुनाउनु हुन्छ गौतम, ‘घनश्यामजी जस्तै एक्लै होइन नि, प्रचण्डजीको लहैलहैमा लागेर पार्टी खोलेको छु, सबैसँग सल्लाह गरेर जाने हो, एक्लै दौडिन्न ।’

उता, लाजशरमलाई सिद्धान्त ठानेर, मदन भण्डारीलाई बडागुरु मानेर छिनछिनमा बालुवाटार धाइरहेका एमाले अध्यक्ष ओलीको ‘दिलदिमाग’ रवि लामिछानेको घण्टीमा रत्तिइरहेको छ । मदनले भन्नुभएको थियो, ‘राजनीतिमा स्थायी शत्रु हुँदैन ।’ उसो त दुई–दुई नागरिकताधारी तपाईं हाम्रो शत्रु हुन् । दुई–दुई पासपोर्ट बोक्न मिल्छ ? दुईभन्दा बढी विवाहमा जोडिएका, बालबच्चाको बिचल्ली, वित्तीय संस्थामा उस्तै फजितीका मुद्दा । यस्ता पात्र जनताको बहुदलीय जनवादमा शत्रु हुन्नन् ? नैतिकता देखाएर पार्टीको महामन्त्री हार्दा शेरबहादुर देउवा सरकारको रक्षामन्त्रीबाट राजीनामा दिए डा.मीनेन्द्र रिजालले । तराई–मधेस टिकट बाँडफाँडमा असन्तुष्टि जनाउँदै यिनै ओलीसँग विद्रोह गरेर स्वतन्त्र सांसद बने प्रभु साह ।

शेरबहादुर देउवा समूहसँग विद्रोह गरेर स्वतन्त्र सांसद बने डा. अमरेश सिंह । हो, प्रभु साह, माधव नेपालको चरित्र मन नपराउने ओलीलाई रवि लामिछाने मन पर्नु चैँ मदनको भनाइसँग मिल्छ । राजनीतिमा स्थायी शत्रु हुन्न भन्ने सिद्धान्त मान्ने तर माधवकुमार नेपालको नाम लिँदा पनि मुख कुल्ला गर्छु भन्दा चुइँक्क बोल्न नसक्ने अमृत बोहोरा, सुरेन्द्र पाण्डे, लालबाबु पण्डित, गोकर्ण विष्टहरूलाई नेता मानेर लाखौँ युवाबीच जनताको बहुदलीय जनवादको हुर्मत लिइएको विषय छलफलमै आएन ।

डा.भीम रावलको तर्क छ : समाजवादमा पुँजीपति, सामन्त, बुर्जुवा, बलात्कारी, नागरिकता बेचुवा–खोसुवा, बहुपत्नीवालाहरू सधैँ शत्रु हुन् । कम्युनिष्टका शत्रुहरू को हुन् ? त्यति सामान्य ज्ञान युद्धमार्फत सत्तामा त्यो पनि तेस्रोपटक पुगेको नेकपा माओवादीलाई थिएन र ? माओवादी सरकारको महान्यायाधिवक्ता कार्यालय रवि लामिछानेको व्यक्तिवादी मुद्दा बचाउमा लागिरहेको थियो । अदालतले बचाउको धोती खुस्काइदिएपछि महान्यायाधिवक्ताले बजारमा निस्कन अप्ठेरो नमाने पनि त्यो काम एमाले अध्यक्षले गरिरहनुभएको छ । 

स्थायी शत्रु को हो ? समाजवादीमा आधा नेतृत्वको मनमुटु एमालेसँग मिलिरहेको छ । आधा माओवादीसँग सम्पर्कमा छन् । भोलि पार्टी एक हुँदा म के हुने ? प्रायःको चिन्ता देखिन्छ । केहीले त भने रे घनश्याम भुसाललाई, ‘जेठा मामाको यो गति, कान्छा मामाको भाङ्ग्राको धोती ।’ एउटा नेता समाजवादको ‘माइलस्टोन’ नेकपा एस हो भनेर ऊर्जासहित आउँदा ‘बुकी’ दिन नसकेर ‘भाङ्ग्राको धोती’ देखाउने नेतृत्वबाट कार्यकर्ता कति संरक्षित होलान् ? असली नेता, कार्यकर्ता एमालेजनबाट ‘स्थायी शत्रु’ करार गरिएका छन् । चोकचौतारामा पनि ‘निषेध’ खेपिरहेका छन् । यो निषेध करारको पछिल्लो उदाहरणस्वरूप बागमती प्रदेश सरकारमा माओवादीले एउटा मन्त्रालय समाजवादीलाई दिऊँ भन्दा एमाले मानेन । 

वर्गीय मुद्दाहरू थाती छन् । जनताको समस्या ‘ज्युँका त्युँ’ छन् । गरिबी, अभाव, मानसिक तनावले समाज थङ्थिलो बनेको छ । अर्थतन्त्र मुठ्ठिभरका महाजनको हातमा कैद छ । जनता पुख्र्यौली जिउनी बेचेर सन्तानसुखका खातिर सुकुम्बासी बनेका छन् । खर्चिलो सरकार र भड्किलो खर्चले पानीका श्रोत मात्र सुकेका छैनन् गाउँबस्तीमा, दुःखपीडामा मल्हम लगाउने सरकार र पार्टीहरू ‘व्यक्तिशक्ति’ को कैदमा छन्, जसरी पछिल्लो एकहप्ता केपी ओली रवि लामिछानेका लागि बालुवाटारतिर डुलिरहनुभयो । 

समस्याहरूको समाधान के हो ? जनता उत्तर खोजिरहेका छन् तर उत्तर कटमिरो अम्बाझैँ टर्राे र साह्रो भइरहेको छ, ‘मध्यावधि चुनाव ।’ हो, नयाँ रोज्दा पुरानैहरू ‘टाउको गिन्ती’ गर्ने र नसके दुई वर्षपछि मध्यावधिमा जाने विकल्पहरू त छँदै छन् । यसमाथि नयाँ रोज्दा नागरिकतासमेत नचाहिने, नपर्ने जिद्दीले हिजो आफैँले भेट्न नरुचाएका व्यक्ति भेट्न बालुवाटार ओहोरदोहार हेर्न लायक छ । यी स्थायी शत्रु त्यतिखेरसम्म हुन्नन्, जबसम्म राष्ट्रपतिको गिफ्ट ह्याम्पर हात पर्दैन । तर जनता सोधिरहेका छन्, ‘गफाडी राष्ट्रवाद र किर्ते नेतृत्व अनि आवारा पुँजीवादको चंगुलबाट देश कहिले मुक्त हुन्छ ?’

[email protected]
 

टिप्पणीहरू