राष्ट्रपति बनाउन विदेशी चलखेल चल्दैछ

राष्ट्रपति बनाउन विदेशी चलखेल चल्दैछ

उमेर आठ दशक । घर परिवार र आफन्तको सबैभन्दा बढी साथ सहयोग चाहिने बेला सबै त्यागेर कठिनतम र एकल जीवन व्यतित गरिरहेछन्, भक्तपुरतिर पेइङ गेष्टका देवराज अधिकारी । उर्जाशील तीन दशक नेपाल कम्युनिष्ट पार्टीको साधारण सदस्यदेखि कार्यवाहक अध्यक्षसम्म भएर काम गरे । केशरजंग रायमाझीले छोडेपछि ०४५ सालदेखि कार्यवाहक अध्यक्ष चलाए र ०४७ साल भदौ २९ मा नेपालको पहिलो कम्युनिष्ट पार्टीलाई बिघटन गराई बाटो मोडेर राजावादी बने । ०७१ सालदेखि विश्वहिन्दू परिषद् अध्यक्षको भूमिकामा छन् । टुक्रा–टुक्रामा विभक्त ओमकार परिवारलाई संगठित गरेर धर्म संसद आयोजना गर्ने योजना बुनिरहेका छन् । ७७ जिल्लामा दर्ता भएका ओमकार परिवारबाट प्रतिनिधित्व गराई नेपालमा रिलिजियस पार्लियामेन्ट बनाउने ठूलो सपना र योजना छ । 

७९ वर्षको उमेर, घरपरिवारको साथ–सहयोग चाहिने समय । परिवार त्यागेर विरक्त जीवन किन रोज्नुभयो ? 

– वैदिक सनातनले २५ वर्षसम्म ब्रह्माचार्य आश्रम, ५० वर्षसम्म गृहस्थ जीवन, ७५ वर्षसम्मलाई वानप्रस्थ आश्रम र त्यसपछि सन्यास जीवन बिताऊ भन्छ । मेरो श्रीमतीसँग सल्लाह थियो ५० वर्षपछि वानप्रस्थ जीवन रोज्ने तर परिस्थितिले साथ दिएन । व्यावहारिक दुःखसुखमै अल्झिएँ । ०६७ सालमा श्रीमती बितिन् । दुई÷चार वर्ष वियोगमै रन्थनिएँ । व्यवहार छोरालाई जिम्मा लगाएर चार वर्ष भयो यस्तो जीवन रोजेको । एक किसिमले भन्दा वानप्रस्थ आश्रमको जीवन बिताइरहेको छु । एक वर्ष जगतगुरु महाराजको आश्रम, कोशी किनारमा बसें र काठमाडौं भित्रिएपछि बालसन्त मोहनशरण देवाचार्यको समीपमा भएँ । सत्सर्ग, ज्ञान लिइरहेको छु । छोराले घरमै बसौं भनेका थिए तर मन मानेन र वैदिक सनातनको आदर्शलाई पच्छ्याउँदै हिँडेको हुँ । 

०७१ सालदेखि विश्व हिन्दू परिषद्को अध्यक्ष हुनुहुन्छ । कसरी चल्दै छ संस्था ? 

– ०७१ सालमा विश्वहिन्दू परिषद् दर्ता गरेर अध्यक्षको भूमिकामा छु । नेपालीलाई वैदिक सनातन आदर्शको ज्ञान दिलाउने, यसको प्रचार गर्ने, नेपाली धर्म, संस्कृति, इतिहास, परम्पराको ज्ञान प्राप्त र प्रचारप्रसार गर्ने काम संस्थाले गर्दै आएको छ । यो संगठनले भोलि चुनाव लडाउने, मन्त्री, प्रधानमन्त्री बनाउने काम गर्दैन । आदर्शमा मात्र विश्वास गर्नेहरू यसमा संगठित हुने वा लाग्ने हुन् । आदर्शलाई पच्छ्याउनेहरू लागिरहनुभएकै छ । विदेशीसँग हात तल पारेर जिल्ला जिल्लामा विस्तार गर्न त सकिन्छ तर तिनले निःस्वार्थ सहयोग गर्दैनन् । कुनै न कुनै स्वार्थ नभई उनीहरूको साथ हुँदैन । जस्तो : सुगौली सन्धि पछि नेपाल परतन्त्र भयो र विदेशीले सुँड पसार्ने मौका पाए । त्यसपछिका जुनसुकै परिवर्तन विदेशीको सहयोग विना भएका छैनन्, चाहे साना होस् वा ठूला । अहिले पनि नेपालको राष्ट्रपति कसलाई बनाउने भनेर विदेशीले चलखेल गरिरहेको सुन्दै छु ।

संघीयता र धर्मनिरपेक्षतालाई हेर्न तपाईंको दृष्टिकोण के हो ?

– संघीयता राजनीतिक विषयवस्तु हो भने धर्मसापेक्ष वा निरपेक्षता भनेको मानवले चलाएको संस्कार हो । बीचमा आउने राजनीतिक घटनाक्रमले यसलाई छुँदैन । कुनै पनि मुलुक धर्मनिरपेक्ष हुन सक्दैन, यो मिल्दै नमिल्ने कुरा हो । कोही पनि मान्छे अधर्मी हुँदैन । ‘नि अपेक्षा’ धर्ममाथि आस्था नराख्नु भन्ने अर्थमा धर्मनिरपेक्ष भन्ने हुन्छ । कागले पनि आफ्नो धर्म पालना गरेर बसेको छ, बिहानै कराउँछ । सर्प, भ्यागुताजस्ता हरेक प्राणीले धर्म निर्वाह गरिरहेकै छन् भने मान्छे चेतनशील प्राणी, अधर्मी हुनै सक्दैन । संविधान बनाउनेले कागजमा के के केरमेट गर्दैमा एउटा तमसुकले तलमाथि पार्न सक्दैन ।

तपाईं राजावादी, वर्तमान सरकारमा राजावादीको उपस्थितिलाई कसरी लिनुभएको छ ? 

– राजनीतिक दलले राजा मान्दैन । राजनीतिक दलले हुने/नहुने आश्वासन देखाएर संगठन बढाउँदै लैजान्छ । नेता, सांसद हुँदै सरकार बनाउने ठाउँमा पुग्छ । मन्त्री वा प्रधानमन्त्री बन्ने व्यक्ति कसैको पछि लाग्दैन । ऊ राजाको पनि पछि लाग्दैन, कारण राजाभन्दा पनि माथि हुन खोज्छ । त्यो राजनीतिक नियम हो । राजनीतिक दल खोलेर हिँडिसकेपछि उहाँँहरू राजावादी रहनुभएन । राजाको अस्तित्व समाप्त पार्दै आफ्नो अस्तित्वलाई जोगाउन चाहनेहरूले पार्टी खोलेर हिँड्ने, राजा राजा भन्दै हिँड्नेको भोट तान्नका लागि राजाको झण्डा देखाइदिने मात्र हुन् । राजेन्द्र लिङ्देनभन्दा पहिले कमल थापा थिए । ती मान्छेले राजा पक्षधरको भोट तान्नका लागि आफूलाई जबर्जस्त राजावादी बनाइदिएका मात्रै हुन् । कसैले राजाको नाममा, कसैले राजा विरोधी, कसैले जातीय त कसैले साम्प्रदायिक नारा दिएर आ–आफ्नो पसल चलाइरहेका छन् । 

अहिले तपाईंकै क्षेत्रका हर्क साम्पाङदेखि बालेन साह हुँदै रवि लामिछानेहरूको उदयलाई कसरी लिइरहनुभएको छ ? 

– यी आउँछन्, जान्छन् । राजनीतिक दलको शासन प्रणाली भएको मुलुकमा एउटा हुटिट्याउँले आकाश थाम्ने गफ गरेर साध्य हुँदैन । दलीय व्यवस्थामा देशभरका मान्छेलाई संगठित गरेर त सकिरहेका छैनन् । एउटा मान्छे परिस्थितिबश, हुलुक्क आउँदैमा त्यसले सम्पूर्ण परिवर्तन गर्छ भनेर सोच्नु वा विश्वास गर्नु नै निरर्थक हो । ऊ एउटा व्यक्ति । ऊसँग स्रोत, साधन केही हुँदैन । शासनसत्ता र संविधान पनि हुँदैन ।

पूर्वराजावादीहरू किन तितर वितर भएका होलान् ?

– राष्ट्रपति वा प्रधानमन्त्री त जो कोही जनताको छोरा हुन सक्ने भए तर राजा जो पायो उही सक्दैनन् । जसको अधिकार छ ती मात्र राजा हुन पाउँछन् । अब पनि राजतन्त्रमा फर्किएन भने नेपालको अस्तित्व सकिन्छ । संसारको धेरै मुलुक उसको मौलिकता हटाएपछि सकिएर गएको छ । राजा एक मात्र राष्ट्रवादी हुन्छ । उसको स्वार्थ अरु केही हुँदैन । जन्मजात राजा हुने भएपछि कसैलाई लडाइरहनु परेन । अहिले यहाँ मैले राजा हटाएको हुँ भनेर जसले जति खोके पनि यी सबै विदेशीहरूका नोकर हुन् । उनीहरूको इशारामा नाचेकाले मात्र राजा फाल्न सम्भव भएको हो । 

 राप्रपाले एजेण्डा छाड्यो कि भाग्यो ? 

– त्यहाँभित्र धेरै महत्वाकांक्षी मान्छे छन् । उनीहरूले एजेण्डा छोड्नलाई एजेण्डा के नै थियो र ? 

कमल थापाको विग्रहलाई कसरी हेर्नुभएको छ ? 

– राजतन्त्रको समयमा शक्तिशाली नेता भएर निस्किए । राजाले धेरै माया गरे । त्यो देख्नेहरूलाई लाग्यो कमल थापाकै पछि लागे राजाको छेउमा पुग्नसकिने रहेछ । यिनी झन झन महत्वकाक्षी हुँदै गए, राजाभन्दा पनि आफूलाई ठूलो ठान्न थाले । गणतन्त्र आएपछि राजालाई वास्ता गर्न छाडेर भीरपट्टि लागे । यस्तोमा तल झर्नु स्वाभाविकै हो ।

झण्डै तीन दशक कम्युनिष्ट भएर काम गर्नु भयो । अहिले खुलेका कम्युनिष्टका दोकानहरू कस्तो लाग्दै छ ? 

– नेपालको पहिलो कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्तादेखि प्रमुख नेतासम्म भएर काम गरें । कम्युनिष्टले हाम्रो धर्म, संस्कृति, परम्परालाई मास्दै लगे । अन्यत्रबाट ल्याइएको कम्युनिष्ट विचारधारा बोक्न थाले । मैले मेरो बुवा, आमा, पितृलाई आदर सम्मान गर्नुपर्दछ, बच्चालाई सहयोग गर्नुपर्दछ भनेर कार्ल माक्र्सले सिकाएका होइनन् । कार्ल माक्र्सले भनेर ठूलो माछाले सानो माछालाई खाएको होइन । ठूला सामान्तले गरिबलाई शोषण गर्छ भन्ने कार्लमाक्र्सबाटै थाहा पाएर शोषण गरेका पनि होइनन् नत गरिबले विद्रोह गरेको कार्लमाक्र्सले सिकाएरै हो । माक्र्सले यसलाई किताबमा लिपिबद्ध गरेको मात्र हो । तर हाम्रा कम्युनिष्टहरू यसैलाई चण्डीको पाठजस्तै बनाएर हिँडिरहन्छन् । कार्लमाक्र्सको चण्डीपाठ नगर्दा कम्युनिष्टै होइन्नजस्तो गर्छन् । कम्युनिष्ट हुनु भनेको अन्याय, अत्याचारविरुद्ध बोल्नु र सत्यको पक्षमा लाग्नु हो । कुनै पनि युवकले बुवा वा बाजेले सिकाएको वा अह्राएको कुरा जस्ताको तस्तै मानेको खण्डमा कसैको पछि लाग्नै पर्दैन । कसैले आफ्नो सन्तानलाई नराम्रो कुरा सिकाउँदैनन् । बिग्रियोस्, भत्कियोस् भन्दैनन् ।

तर, छोराले नियम पालना गर्दैन । कहाँ गाईवस्तु पाल्ने मेरो बाउ देख्दै नदेखेको कार्लमाक्र्सको पछाडि लाग्दछन् । सत्य र न्यायको पक्षमा हिँड्न कुनै पार्टी वा संगठनको पछाडि लाग्नु पर्दैन रहेछ भनेर ०४६ साल भदौ २९ मा कम्युनिष्ट पार्टी विघटन गरिदिएको हो । यहाँ कोही कम्युनिष्ट होइनन् । उनीहरूको आदर्श, गतिविधि, त्यसअनुसार छैन । गरिबको भोट, तान्नका लागि हामी गरिब, उत्पीडितको मान्छे हौं भन्छन् । त्यो भोट तान्नका लागि ओढिएको कम्युनिष्टको खोलमात्र हो । यी सबै ठगको दोकान मात्र छन् । कम्युनिष्टले त मर्न लागेको व्यक्तिलाई जोगाउँछन्, हट्टाकट्टा मान्छेलाई मार्ने पनि कोही कम्युनिष्ट हुन्छ ? कम्युनिष्ट हुनु भनेको सत्य र इमानको पक्षमा हिँड्नु हो । इमान र धर्मको पक्षमा हिँड्न कसले रोकेको छ र कम्युनिष्ट कार्यकर्ता बनिरहनुप¥यो ? पिताले भन्दा बढी मलाई कसैले शिक्षा दिन सक्दैन ।

टिप्पणीहरू