यात्रुको सुरक्षा र सहजतामा आईएमएस प्रतिबद्धता

यात्रुको सुरक्षा र सहजतामा आईएमएस प्रतिबद्धता

आईएमएस एयरपोर्ट सर्भिसेज प्रालिले केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एलिभेटरमा भएको समस्याका कारण यात्रुलाई पर्न गएको असुविधाप्रति क्षमा मागेको छ । 

विमानस्थलको ऐलिभेटरमा अड्केर आफू लडेको भन्दै एक अभिनेत्रीले सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेपछि आईएमएस ग्रुपले उक्त भनाई सार्वजनिक गरेको हो ।

अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर यात्रा गर्ने सम्पूर्ण यात्रुको सुरक्षा तथा सहज यात्राको कटिबद्ध रहेको उल्लेख गर्दै आईएमएसले अर्को सूचना जारी नभएसम्मका लागि एलिभेटरमा ट्रलीको प्रयोगलाई पूर्ण रुपमा रोक लगाइएको जानकारी गराएको छ । 

त्यस्तै, आईएमएसले विज्ञप्ति जारी गर्दै आगमन कक्षको ट्राभलेटरसँग सम्बन्धित सार्वजनिक घटना, जनगुनासो तथा समस्याप्रति ध्यानाकर्षण भएको बताएको छ । 

यो समस्या समाधान तथा विमानस्थलका यात्रु बाहिर निस्किने मार्ग, प्रतिक्षा कक्ष तथा पार्किङ्ग क्षेत्रलाई सहज, सुरक्षित बनाउन तत्काल थुप्रै कार्यहरु भइरहेको जनाइएको छ । 

आगमन कक्षमा जतिसक्दो छिटो यात्रु क्षमताको एलिभेटर थप्ने काम अघि बढ्नुका साथै ट्राभलेटरमा यात्रुहरुका लागि २४ औं घण्टा एक सुरक्षा गार्डको व्यवस्थापन गरिएको आईएमएसले जानकारी गराएको छ । 

ट्राभलेटरमा गर्न हुने–नहुने भन्ने जानकारी दिन तथा यात्रुहरुलाई सुसूचित गर्न साइनबोर्ड राखिएको छ भने ट्रलीहरु नियमित रुपमा मर्मतसम्भार गरिने बताइएको छ । 

आगमन कक्षमा ह्विल लकिङ सिस्टम भएका ट्रलीहरु र प्रस्थान कक्षका ह्विल लकिङ सिस्टम नभएका ट्रलीहरु नमिसियोस् भनेर उच्च सतर्कता अपनाउने निर्णय गरिएको आईएमएसले बताएको छ ।

 

टिप्पणीहरू