प्राज्ञमा जान र दोहोरिन भयंकर प्रयत्न

प्राज्ञमा जान र दोहोरिन भयंकर प्रयत्न

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानका सदस्यलाई आजीवन तलब–भत्ता खारेजीको माग गर्दै सर्वोच्च अदालतमा पत्रकार तथा साहित्यकार घनेन्द्र ओझाले दायर गरेको रिट विचाराधीन छ । त्यही  एकेडेमीको नेतृत्वमा जान अहिले साहित्यकारबीच तीव्र प्रतिस्पर्धा छ । पुस १ गतेदेखि एकेडेमी पूर्णरूपमा पदाधिकारीविहीन स्थितिमा पुगेको छ ।

असोज २१ गते कुलपति गंगाप्रसाद उप्रेती र सदस्य–सचिव जगतप्रसाद उपाध्याय चारवर्षे कार्यकाल सकेर घर फर्किएका छन् भने अघिल्लो महिनाबाटै उपकुलपति डा. जगमान गुरुङसहित प्राज्ञपरिषद् सदस्यहरू प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. उषा ठाकुर, प्रा.डा. हेमनाथ पौडेल, प्रा. दिनेशराज पन्त, डा. देवी नेपाल, प्रा.डा. गोपीन्द्र पौडेल, माया ठकुरी र लक्ष्मी मालीलगायत २४ जना प्राज्ञ सभा सदस्यले समेत अवकाश पाएका छन् । अहिले संस्कृति तथा पर्यटन मन्त्रालय माओवादीको भागमा परेको छ । एमालेसहितको नयाँ  गठबन्धन बनेको हुँदा एकेडेमीमा जानका लागि नेताहरूका घरदैलोमा आकांक्षीहरूको लर्को लाग्ने गरेको छ । यसमा सबैभन्दा लामो लाइनचाहिँ ‘उप’ अर्थात् उपकुलपति पदका आकांक्षीहरूको छ । 

यसरी नेताको दैलामा द्यौसी खेल्न पुग्नेमा यसअघि एक कार्यकाल र दुई कार्यकालसमेत परिषद् सदस्यको नियुक्ति खान भ्याइसकेकाहरू अग्रपंक्तिमा रहेको साहित्यकारबीच चर्चा छ । यसअघि परिषद्मा सुलोचना मानन्धर, नर्मदेश्वरी सत्याल, विष्णु प्रभात, प्रा. दिनेशराज पन्त, गोपीन्द्र पौडेल, लक्ष्मी माली, माया ठकुरीलगायत सदस्य थिए । यीमध्ये प्रख्यात इतिहासविद् पन्तले दुई कार्यकाल एकेडेमी चलाइसकेका छन् । पन्त तेस्रो पटक पनि इच्छुक रहेको साहित्यकारहरूले बताए पनि उनले भने आफू नेताको दैलो नधाएको प्रतिक्रिया जनआस्थालाई दिए ।   
यसैगरी, परिषद् सदस्यका लागि नयाँ आकांक्षीमा पारिजात स्मृति केन्द्रका पूर्वअध्यक्ष स्नेह सायमी छन् । उनी श्रीमती लक्ष्मी मालीलाई उपकुलपति, आफूलाई सदस्य सचिव वा काव्य विभागको जिम्मेवारीका निम्ति प्रयासरत रहेको बतइन्छ । 

उनले केही समयअघि पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंशामा कविता लेखेका थिए । 
सायमी निवर्तमान प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा साहित्य विभाग प्रमुख लक्ष्मी मालीका पति हुन् । उनले मालीको विभागबाट समकालीन नेपाल भाषाका कविता संकलन तथा सम्पादनको परियोेजना लिएका थिए । 

यस्तै मालीले एकपटक मातृभाषा साहित्य गोष्ठीमा कार्यपत्र लेख्न छोरी अस्मितालाई जिम्मा लगाएकी थिइन् । उता, नेपाली लेखक संघमा आबद्धहरूले पनि कांगे्रसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कारण आफूहरूले पनि प्रज्ञाप्रतिष्ठानमा भाग पाउनुपर्ने भन्दै लबिङ गरिरहेको बताइन्छ ।

टिप्पणीहरू