सहकारीमा सञ्चालकहरुको रजाईं, लमजुङमा ‘लुटको धन, फुपुको श्राद्ध’

सहकारीमा सञ्चालकहरुको रजाईं, लमजुङमा ‘लुटको धन, फुपुको श्राद्ध’

अन्यत्र झैँ लमजुङमा पनि सहकारी संस्थाले सर्वसाधारणलाई घर न घाटको बनाएको छ । वैदेशिक रोजगारमा कष्टका साथ कमाएर घर पठाइएको रकमसमेत त्यस्ता सहकारीका हर्ताकर्ताले तलमाथि गरेपछि स्थानीयको बिचल्ली हुने अवस्था सिर्जना भएको बताइन्छ ।

कालिका सहकारीले बचतकर्ताहरुलाई गत कात्तिक २० गतेसम्म सबै रकम चुक्ता गर्ने वा नसके २० प्रतिशत रकम फिर्ता गर्ने बताएको थियो । बाँकी रकम किस्ताबन्दीमा फिर्ता गर्दै जाने शर्तमा जिल्ला प्रहरी कार्यालय लमजुङका तत्कालीन डिएसपी कृष्णबहादुर कार्कीको रोहवरमा कालिका सहकारी र पीडित पक्षबीच सहमति भएको पनि हो । 

दुःखका साथ बचत गरिएको रकम कालिकाका सञ्चालकहरुले हिनामिना गरेपछि बचतकर्तामध्येकी एक बेशीशहर–११ रामचोककी मीना भुजेल रात दिन श्रीमानको खप्कीले तनाव झेल्न बाध्य भएकी छन् । कतारबाट पठाइएको रकममध्ये तीन लाख ३७ हजार उनले ब्याजको लोभमा पेटमा पटुका कसेर भएपनि सहकारीमा जम्मा गरेकी थिइन् । 

दशैंमा श्रीमान् घर आउने भएपछि मीनाले पटकपटक पैसा फिर्ता मागिन् । तर सञ्चालकहरुले उल्टै हप्कीदप्की गरेको बताउँछिन् । मीनाझैँ अहिले उक्त सहकारीमा रकम जम्मा गरेका अधिकांशको बिजोग भएको छ । 

गिट्टी कुटेर पैसा जम्मा गरेकी धादिङ घर भई लामो समयदेखि बेशीसहरमा बस्दै आएकी कमला लामा र बेशीशहर प्रशासन चोकमा स्टेशनरी पसल सञ्चालन गर्दै आएका शारीरिक रूपमा अशक्त काशीराज गुरुङ पनि त्यस्तै बिलखबन्दमा परेका छन् । सहकारीले कात्तिकमै फिर्ता गर्छु भने पनि सञ्चालकहरुले सर्वसाधारणको लाखौं रुपैयाँ अहिलेसम्म फिर्ता गरेका छैनन् । 

त्यसैले पीडितहरुले अब अदालतको ढोका ढकढकाउनुको विकल्प नदेखेको बताएका छन् । उतिबेला ५२ लाख जम्मा गरेकी तैमाया गुरुङले तत्कालीन अध्यक्ष मृगेन्द्र घिमिरेकै कारण सहकारीको हालत बिजोग भएको आरोप लगाइन् ।

ब्याजको लोभमा सहकारीमा राखेको रकम सञ्चालकहरुले कसरी हिनामिना गरे भन्नेबारे पूर्व प्रबन्धक बेदराज खनियाँसमेत बेखबर देखिन्छन् । चर्को ब्याजको लोभमा फस्दा अहिले सर्वसाधारण बचतकर्ता न साँवा,न ब्याजको अवस्थामा पुगेका हुन् ।

२०५६ सालमा स्थापित कालिकासँग २०७७ असारमा सम्पदा र कर्पुरेश्वर सहकारी पनि मर्ज भएका थिए । त्यसबखत २३ करोड रुपैयाँ पुँजी भएको सहकारी केही महिनादेखि ओरालो लाग्न थालेको हो । कालिकामा बचतकर्ताले जम्मा गरेको रकम फिर्ता नपाउनु र सहकारीले गरेको लगानी पनि नउठेको भन्दै मनाङ रिकभरीलाई सहकारीले गुहारेको बताइन्छ । दिनेश पाण्डेको नेतृत्वमा आएको रिकभरी सेन्टरले सहकारीको लगभग ६५ लाख उठाइदियो । तर पीडितहरुले भने आफ्नो बचत रकममध्ये सुको फिर्ता पाएका छैनन् ।

यता, सम्पदा सहकारीबाट २०८२ असारसम्म चुक्ता गर्ने तमसुकमा ऋण लिएकी बेनपा–७ की कृष्णकुमारी बगालेले निर्धारित समयमा ब्याजसहित किस्ता तिर्दै आएपनि सोही सहकारीले बगालेसहित ४३ जनालाई खराब ऋणीको सूचीमा राखेको छ । उनीहरुको नाम लमजुङबाट निस्कने एक पत्रिकामा प्रकाशित गरिएको छ । 

कृष्णकुमारी बगालेले दुई चार दिन ढिला भए पनि आफूले किस्ता तिर्दै आएको दाबी गरिन् । अझै तीन वर्ष भाका हुँदाहुँदै आफ्नो आचरणमा ठेस पुग्ने गरी सहकारीले सूचना प्रकाशित गरेकोमा उनको आपत्ति छ । ‘सर्वसाधारणको बचत रकममा मोज गरेर सञ्चालकहरु सहकारी डुबाउने, अनि हामी नियमित रूपमा कर्जा चुक्ता गर्दै आउनेलाई डाम्ने ?,’ भन्दै बगालेले आक्रोश पोखेकी छन् । 

यता सहकारीले भने आफ्नो बचाउ गर्दै ऋणीहरुलाई ऋण चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको व्यहोरासहित विज्ञप्ति जारी गरेको छ ।

-अञ्जनकुमार

टिप्पणीहरू