राजा सन्किन थालेपछिको त्यो सम्झौतापत्र

राजा सन्किन थालेपछिको त्यो सम्झौतापत्र

हामीलाई भेट्न आउने विशेषतः कानुनी पृष्ठभूमि भएका प्रायः सबैलाई एकपटक म्याग्ना कार्टामा हस्ताक्षर भएको स्थान रीन मेडसम्म पु¥याएर फोटो खिच्ने गरेका छाँै । गत सालदेखि नजिकै बसाइँ सरेपछि त झन् काममा आउँदा–जाँदा दिनको दुईपटक त्यहाँ पुग्नैपर्छ । 

केही समयअगाडि दुई हप्ताका लागि मित्र निर्मल थापासँग आउनुभएका अभिनेता निखिल उप्रेतीले त्यही बाटो हिँड्नेक्रममा बडो चाखका साथ आफ्नो मोबाइल निकालेर म्याग्ना कार्टा लेख्नुभयो । यसबारे केही सामान्य कुरा भएपछि तपाईं त कलम पनि चलाउनुहुन्छ, एउटा राम्रो लेख लेख्नुभयो भने धेरैलाई जानकारी हुन्थ्यो भन्नुभयो । वास्तवमा मैले केही महिनाअगाडि यो विषयमा थोरै हरफ लेखेर राखेको थिएँ तर पूरा गर्न भ्याएको थिइनँ । 

बेलायतको इतिहासमा राजा जोन सबैभन्दा खराब थिए । उनले क्रुर, व्यभिचारी तथा अव्यावहारिक तवरबाट ११९९ देखि १२१६ सम्म राज गर्ने क्रममा थोरै मात्र असहमति जनाउँदा पनि आईरिश प्रमुखहरूको दाह्री तानिदिएका थिए । पूर्वपत्नीलाई कैद गर्ने, थुनिएका विरोधीहरूलाई भोकै मार्ने, आफ्नै भतिजाको हत्या गर्ने काममा उनी कुख्यात थिए । आफूभन्दा धेरै कम उमेरकी नाबालिकासँग दोश्रो बिहे गरे भने फ्रान्सको नर्मन्डीमा भएको लडाइँमा निकै सम्पत्ति खर्चिए । त्यसरी थोपरिएको युद्धलाई जमिन्दार तथा ब्यारन (अहिले हाउस अफ लर्डस्का सदस्यजस्तै) हरूसँग ठूलो मात्रामा कर उठाए । तर, ब्यारनहरू राजाको आदेश मान्न तयार नभएपछि सबै सम्पत्ति जफत गर्ने हुकुम सुनाए ।

शुरुमा ब्यारनहरूको संयुक्त विद्रोहलाई त्यति महत्व नदिएका राजा उनीहरूले लण्डन कब्जा गरेपछि भने बाध्य भएर वार्तामा बस्न तयार भए । दुई पक्षबीच सन् १२१५ को जुन १५ का दिन विन्जर र स्टेनको बीचभाग रनीमेडको घाँसे चौरमा हस्ताक्षर भएका कारण त्यही ठाउँलाई म्याग्नाकार्टा भन्ने गरिन्छ । त्यतिबेला राजा र चर्चबीचको मनमुटाव पनि उत्कर्षमा पुगेको थियो । अंग्रेजी क्याथोलिक चर्चको सबैभन्दा महŒवपूर्ण स्थान क्यान्टरबरीका आर्कबिशपको रूपमा स्टिफन ल्याङ्टनलाई नियुक्त गर्नुपर्छ भन्ने प्रस्तावलाई अस्वीकार गरेको कारण रोमका पोप इनोसेन्ट तेस्रोले राजासँग रुष्ट भई उनलाई बहिष्कार गरेर सजायँ दिएका थिए ।

राजा जोनले यसको बदलामा इङ्गल्याण्डको चर्चलाई कर लगाए भने पादरीहरूलाई चर्च छाड्न आदेश दिए । यही अवस्थाको फाइदा उठाएर केही ब्यारनले विद्रोहको योजना बनाउन थाले । तर, सन् १२१२ को अन्त्यतिर राजा जोन ल्याङ्टनलाई नियुक्त गर्न बाध्य भएका कारण अर्को वर्ष पोप इनोसेन्टले कारबाही फिर्ता लिएको हुँदा केही समयका लागि ब्यारोनहरूको योजना सफल हुन पाएन ।म्याग्नाकार्टाको मुख्य उपलब्धि भनेको राजाले मनपरीसँग शासन गर्न नपाउने र उनले पनि कानुन पालना गर्नुपर्छ भन्ने हो । यसअघि राजाले धर्मगुरु पोपबाहेक अरु कसैप्रति पनि उत्तरदायी हुनुपर्दैनथ्यो । तर क्याग्नाकार्टा नै नागरिकहरूले विभिन्न प्रकारका अधिकार प्राप्त गरेको अहिलेसम्मको सबैभन्दा पुरानो र शक्तिशाली दस्तावेज हो । यसलाई युरोपको पहिलो लिखित संविधानको रूपमा पनि मान्यताप्राप्त छ । म्याग्नाकार्टालाई अंग्र्रेजी बिल अफ राइट्स, अमेरिकी स्वतन्त्रताको घोषणा, मानव र नागरिक अधिकारको फ्रान्सेली घोषणापत्र तथा सन् १९४८ मा संयुक्त राष्ट्रसंघले निर्माण गरेको मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रको मुख्य श्रोत मानिन्छ । 

पूर्वपत्नीलाई कैद गर्ने, थुनिएका बिरोधीहरुलाई भोकै मर्ने, आफ्नै भातिजाको हत्या गर्ने काममा उनी कुख्यात थिए ।

म्याग्ना कार्टा दुई ल्याटिन शब्दको अर्थ ‘महान् बडापत्र’ हुन आउँछ । यस सम्झौतामा ६३ बुँदा थिए । दस्तावेजमा ‘स्वतन्त्र नागरिक’ शब्द प्रयोग गरिएको हुनाले त्यतिबेलाका बहुसंख्यक बँधुवा किसानको हकमा यो बडापत्र लागू नभएको अनुमान गर्न सकिन्छ । त्यसबेला लेखिएकै थियो, ‘कुनै पनि स्वतन्त्र व्यक्तिलाई कैद गरिने छैन, उसको अधिकार वा सम्पत्ति खोसिने छैन, निर्वासनमा राखिने छैन । कानुनको अगाडि सबै बराबर हुनेछन् । कानुनद्वारा बाहेक कसैलाई दोषी ठहर गरिने छैन । कसैलाई पनि अधिकार वा न्यायबाट वञ्चित गर्दै न्याय दिन ढिलाइ गरिने छैन ।’

त्यतिबेला इङ्गल्याण्डमा लगभग बाह्र अर्लहरू र १०० देखि १५० सम्म ब्यारोन भएको अनुमान छ । तिनीहरूमध्ये अधिकांश राजाविरुद्ध हतियार उठाउन तयार भएका थिए । म्याग्ना कार्टाको बुँदा ६१ ले राजा र ब्यारोनहरूबीच भएको सम्झौता पालना भए नभएको अनुगमन गर्न २५ जना ब्यारोनको एक समिति बनाएको थियो । यसैलाई केही इतिहासकारले संसद निर्माणको पहिलो खुड्किला मान्ने गरेका छन् । शुरुमा लेखिएको माग्ना कार्टाका बुँदामा नम्बरिङ थिएन । अठाराँै शताब्दीमा न्यायाधीश विलियम ब्ल्याक स्तोंले सजिलोका लागि बल्ल नम्बर थपेका हुन् । यो चार्टर करिब १८ इञ्च वर्गको भेंडाको छालामा मह मिसिएको मसीले ल्याटिन भाषामा लेखिएको थियो । 

नयाँ राजा हेनरी तृतीयले केही परिमार्जनसहित म्याग्नाकार्टा सन १२१७ मा पुनः जारी गरे । राजा हेनरीले फेरि सन् १२२५ मा स्वैच्छिक रूपमा म्याग्ना कार्टा तेस्रोपटक जारी गरेपछि भने यो औपचारिक रूपमा अंग्रेजी कानुन बन्न पुग्यो । यसलाई सन् १० अक्टोबर १२९७ मा राजा हेनरी पहिलोले वेस्टमिनिस्टर भवनमा पुनः प्रमाणित गरेका थिए । म्याग्ना कार्टाका चार मूल प्रतिलिपि एउटा लिंकन क्याथेड्रलमा, एउटा सालिसबरी क्याथेड्रलमा र दुईवटा ब्रिटिश संग्रहालयमा सुरक्षित छन् । 

म्याग्ना कार्टाका सुरक्षित प्रतिहरू चोरी गर्ने पटक–पटक प्रयास भएका छन् । करिब ५१ प्रयास असफल भएका थिए । सन् २०२० जुलाई १७ मा सालिसबरी क्राउन कोर्टका न्यायाधीशले ४७ वर्षीय मार्क रोयडेनलाई अक्टोबर २०१८ मा म्याग्ना कार्टाको ‘अमूल्य’ संस्करण चोर्न खोजेबापत चार वर्षको जेल तथा क्षतिपूर्तिबापत १८ हजार २ सय ९५ पाउण्ड जरिवाना सुनाएका थिए । केन्टको क्यान्टरबरीका मार्क रोयडेनले ह्याम्मर प्रयोग गरेर सिसा फुटाइरहँदा केही पर्यटकको सहयोगमा निजलाई पक्राउ गरिएको थियो । उक्त क्षति मर्मत गर्न १४,४४६ पाउण्ड खर्च लागेको थियो । 
(लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका लेखक नेपालका अधिवक्ता हुन् ।)
 

टिप्पणीहरू