सानो जात भन्दै दलितमाथि निर्घात कुटपिट,घाइतेको अवस्था गम्भीर

सानो जात भन्दै दलितमाथि निर्घात कुटपिट,घाइतेको अवस्था गम्भीर

बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ पुडाबाउलाका ३२ बर्षीय युवक शंकर  मिजार कुटिएका छन् ।  उनकै ठाउँका दुई जना युवक हिरेन्द्र रावत र पारस रावतले कुटेको सोही वडाका स्थानीय कृष्ण मिजारले बताए ।
तिनले अपशब्द प्रयोग गर्दै २३ गते दिउँसो ३ बजेतिर कुटपिट गरेका हुन् ।  घाँस ल्याएर गाउँकै एक पसलमा पुग्ने बेला हिरेन्द्र र पारसको उनीसंग सामान्य भनाभन भएको स्थानीय विद्यार्थी अन्जली राउतले बताइन् ।

तैँले के गर्छस् डुम ? भन्दै अपशब्द प्रयोग गरिएको पीडितकी भतिजी शर्मिला मिजारले बताइन् । गम्भीर घाइते भएका मिजारको अहिले धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भैरहेको छ । अवस्था गम्भीर रहेको बताइन्छ ।

उक्त बिषयमा पालिका प्रमुख ‍दिलबहादुर राउतसँग बुझ्दा आफूलाई बिस्तृत थाहा नभएको र गाउँमा नै झगडा मिलाइसकिएको बताए। "खोइ कसले यो खबर तपाईंसम्म पुर्यायो? त्यसको नम्बर मलाई दिनुस् त,यो सामान्य हो। अस्ति नै मिलिसक्यो"–उनले जनआस्थासँग भने ।

वडा अध्यक्ष बिर्खबहादुर राउतले भने जाँड खाएर मिजारमाथि निर्घात कुटपिट गरिएको बताए । "बिरामीको अवस्था गम्भीर छ । आँखामाथिको हड्डी भाँचिएको छ । म आज भर्खर भेटेर आएको,पिट्ने दुई जनालाई प्रहरीले पहिला बिरामीको उपचार गरौं अनि करबाही गरौंला भनेर छोडेका छन्"-उनले भने।

सार्वजनिक रुपमा जातीय बिभेद गर्दै निर्ममतापूर्वक कुटपिट गर्ने दुवै जनाविरुध्द जातीय छुवाछूत विरुध्दको कसुरमा जाहेरी दिने तयारी भैरहेको पनि बताइएको छ । यता कुटपिट गर्ने दुवै जनालाई बुझ्न खोज्दा फोन सम्पर्क हुन सकेन । त्यहाँका दलित समुदायलाई ल्वार बाडो,भुल बाडो,डुम बाडो त्यहाँका भन्दै हेप्ने चलन छ ।

केही समयअगाडि जिल्लाको त्रिवेणी नगरपालिकास्थित नाटेश्वरी मन्दिर प्रवेश गरेको भन्दै एक दलितमाथि अभद्र व्यवहार गरिएको थियो ।

टिप्पणीहरू