न्यू होपमा चिनियाँ चिकित्सा टोलीको निःशुल्क शिविर

न्यू होपमा चिनियाँ चिकित्सा टोलीको निःशुल्क शिविर

चिनियाँ चिकित्सकहरु बिहीबार र शुक्रवार चितवनको भरतपुर–१५ मा व्यस्त देखिए । मंगलपुरको देवीचोकस्थित न्यूहोप एग्रो बिजनेश नेपाल प्रा.लि. मा न्यानो आतिथ्यतासँगै चिनियाँ चिकित्सा टोली सेवामा खटियो । 

त्यहाँका मजदुर,कर्मचारीहरुको दुई दिन लगाएर विशेष स्वास्थ्य परीक्षण भयो । प्रशासकीय अधिकृत भवानी चालिसेका अनुसार कुखुरा, गाईभैंसी,सुँगुर,बंगुर र माछाको दाना उत्पादन तथा बिक्रीवितरण गर्दै आएको न्यू होपमा करिब डेढ सय जति मजदुर तथा कर्मचारी छन् ।

उनीहरुको नाक,कान,घाँटी,मुख, पेट,रगत,पिसाबथैली,हृदयलगायत शरीरका सम्पूर्ण आवश्यक भित्री–बाहिरी परीक्षण गरिएको हो । न्यू होपमा महिला कर्मचारी पनि छन् । चिनियाँ विशेषज्ञ डाक्टरबाट स्त्रीरोगको पनि परीक्षण गरिएको थियो । समस्या देखिएकाहरुलाई औषधिसमेत बाँडियो ।

चिनियाँ भाषा नेपालीलाई र नेपाली भाषा चिनियाँ चिकित्सकलाई बुझ्न गाह्रो छ । तर चिनियाँ डाक्टरहरुले परीक्षणका क्रममा अंग्रेजी नबुझ्नेलाई मोबाइल स्क्रिनमा अनुवाद गरिएको नेपाली भाषा देखाएर स्वास्थ्यसम्बन्धी प्रश्नहरु गरेका थिए । प्रशासकीय अधिकृत चालिसे स्वयम् चिनियाँ र नेपाली भाषाको दोभाषे पनि हुन् । कतिपय अवस्थामा भवानीले नै डाक्टर र मजदुर–कर्मचारीका कुरा एकअर्कालाई बुझाउने काम गरेकी थिइन् । 

पहिलो दिन न्यू होपमा कार्यरत नेपालभरका सेल्सम्यान र कार्यालयका कर्मचारीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । ‘प्रायः हामीमा आफ्नो स्वास्थ्य अवस्थाको चेकजाँच गर्ने बानी नै छैन । बिरामी नहुँदासम्म वास्तै गर्दैनौं’,बिक्री प्रबन्धक तुलाराम पाण्डेले भने, ‘बाहिर अस्पतालमा गएर यति धेरै परीक्षण गर्दा खर्च पनि निकै लाग्छ ।’ 

आफ्नो कम्पनीमै निःशुल्क सम्पूर्ण स्वास्थ्य परीक्षण गर्न पाउँदा खुशी लागेको उनले बताए । दोस्रो दिन प्रोडक्सनतर्फका कामदारहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।  

स्थिर गुणस्तरीय उत्पादनलाई आफ्नो मुख्य उद्देश्य राखेको न्यू होप एग्रो बिजनेश नेपाल प्रा.लि.ले स्वास्थ्य,सरसफाइ,शुध्दता  र सुरक्षामा विशेष ध्यान दिँदै आएको छ । पशुपंक्षीको दाना उत्पादनसँगै आगामी दिनमा ब्रोइलर कुखुरा पालन गर्ने,आफ्नै बधशाला र चिस्यान उद्योग पनि स्थापना गर्ने कम्पनीको लक्ष्य भएको जानकारी दिइएको छ । 

म्यानेजिङ डाइरेक्टर चौउ कोयुले कर्मचारीहरुको निम्ति स्वास्थ्य परीक्षण आवश्यक भएको उल्लेख गर्दै भने,‘कम्पनीमै निःशुल्क शिविर हुँदा उनीहरु लाभान्वित भए ।’ न्यू होपमा प्रत्येक वर्ष यसरी नै चाइना मेडिकल टिमबाट मजदुर, कर्मचारीहरुको स्वास्थ्य परीक्षण गर्ने गरिएको कम्पनीले जनाएको छ ।

चीन सरकारको लगानीमा सञ्चालित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा हरेक वर्ष चिनियाँहरुको मेडिकल टिम आउने गर्छ । चीनबाट नेपाल आएको यो १४ औं चिकित्सा टोली हो । 

मुत्र शल्यचिकित्सक जिया सियाओपेङको नेतृत्वमा आएको टोलीमा न्यूरोसर्जन हो झानयिङ्ग, एनेस्थेटिस्ट मेङ याजिङ, हेमाटोलोजिस्ट लिउ हाइसेङ,डेन्टल सर्जन झाङ चुदोङ्ग, स्तन सर्जन लिन जिआओमेंग,स्त्रीरोग विशेषज्ञ छुई जिली,गैस्ट्रोइन्टेस्टाइनल सर्जन यान फेंग,ओन्कोलोजिस्ट हु चन्चन, रोग विशेषज्ञ लि कुन,इएनटी सर्जन झाओ हुईमिंग,अर्थाेपेडिक सर्जन लिउ झिवेई,थोरासिक सर्जन याङ मिङ,परम्परागत चिनियाँ चिकित्सक जिया सोङ्ग्ताओ र झाङ जिन छन् । 

 

टिप्पणीहरू