डढेलोको न्यूनिकरणका लागि प्रभावकारी कदम चाल्न आग्रह

डढेलोको न्यूनिकरणका लागि प्रभावकारी कदम चाल्न आग्रह
सुन्नुहोस्

राष्ट्रिय मानव अधिकार आयोगले आगलागी तथा डढेलोको जोखिम न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेको छ । 

पछिल्ला केही दिनमा मुलुकका विभिन्न भागमा भएको आगलागी र डढेलोका कारण आम नागरिकको जीउधनको क्षति भएको उल्लेख गर्दै आयोगले आगलागी नियन्त्रणमा प्रयोग हुने सामग्री तथा सुरक्षा उपकरण, तालिम, पूर्वतयारी, सुरक्षा, प्रतिकार्यमा विशेष ध्यान दिन सरोकारवाला निकायको ध्यानाकर्षण गराएको हो । 

आज विज्ञप्ति जारी गर्दै आयोगले आगलागी र डढेलोजस्ता प्राकृतिक विपद् हुँदा नागरिकको जीउधनको सुरक्षा हुन नसक्नु दुःखद् कुरा भएको बताएको छ । पूर्वतयारी तथा पर्याप्त सुरक्षा उपकरणबिना आगलागी नियन्त्रणमा परिचालन हुँदा थप क्षति भइरहेको आयोगको भनाइ छ । 

‘आगलागी र डढेलोजस्ता प्राकृतिक विपद्का कारण नागरिकको जीउधनको सुरक्षा हुन नसक्दा मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र, १९४८ को धारा ३ मा उल्लिखित सम्मानपूर्वक बाँच्न पाउने हक तथा धारा २५ मा उल्लिखित नागरिकले आफ्नो सम्पत्तिको उपभोग गर्न पाउने मौलिक हकको संरक्षण हुन सकेको देखिँदैन् । यस्ता विपद्जन्य घटनामा दूत प्रतिकार्य टोली एवं घटना प्रतिकार्य टोलीको समयमा नै परिचालन गरिनुका साथै विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७४ समेत प्रभावकारी रुपमा कार्यान्वयन हुन आवश्यक छ’, विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, आयोगले आमसञ्चार माध्यमबाट सचेतनामूलक सामग्रीको प्रकाशन तथा प्रसारणमा जोड दिन अनुरोध गरेको छ । गत वैशाख १२ गते महोत्तरीको मटिहानी नगरपालिका ६, जरलहवा टोलमा भएको आगलागीबाट एक सय घरमा पूर्ण क्षति पुगेको थियो । त्यस्तै, पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका ४९ स्थानमा आगलागी र ४८ स्थानमा डढेलो हुँदा एक जनाको मृत्यु र चार जना घाइते भएका छन् ।
 

टिप्पणीहरू