अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै कुटाकुट

अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै कुटाकुट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सफाई मजदुरहरुले गत शुक्रवार ४ घण्टा सफाईको काम रोकेर विरोध जनाएका छन् । सफाई ठेकेदारले मजदुरका नाममा कार्यालयबाट लिइएको रकम आफ्नै खल्तिमा हालेको पाइएपछि उनीहरुले विरोधस्वरुप काम ठप्प बनाएका हुन् । ४ घण्टे अवज्ञापछि शुक्रवार नै मजदुरको नाममा लिइएको रकम उनीहरुलाई नदिई आफ्नै खल्तीमा हाल्ने ठेकेदार रमेश ढकाल,अर्जुन खड्का र भक्त श्रेष्ठ मजदुर युनियनका नेताहरुसँग वार्तामा बसे । मजदुरहरुले सफाई कर्मचारीलाई नियुक्ति पत्र नदिई काममा लगाएको,  तोकिएको न्यूनतम रकमभन्दा कम तलब दिएको,ओभरटाइमको पैसा नदिएको,युनिफर्म ३ महिना बितिसक्दा पनि नदिएको, रात्रिकालीन समयमा काम गर्ने कामदार कर्मचारीहरुलाई यातायातको व्यवस्था नगरेको,राति काम गर्नेलाई बासको व्यवस्था नगरेको र महंगी भत्ता नदिएको लगायत गलत कार्यका बारेमा छलफल हुनुपर्ने बताए । वार्तामा सहजकर्ताको भूमिकामा गएका मजदुर नेताहरु रवि केसी र प्रेमबहादुर कार्कीले सम्झौताबमोजिम मजदुरका मागहरु तत्काल पूरा गर्नुपर्ने,असोज महिनादेखिकै कम दिइएको तलब, भत्ता र सामाजिक सुरक्षा कोषमा पठाइएको रकम थपेर पठाउनु पर्नेजस्ता मागहरु कार्यान्वयन गर्नुपर्ने कुरा राखेका थिए । रविले सम्झौता र सरकारी प्रावधानको व्याख्या गर्दै काम गरेवापतको रकम एक पैसा पनि नघटाई दिनुपर्छ भन्दै  गर्दा ठेकेदार समूहका रमेश ढकाल जुरुक्क उठेर हामीलाई यो गर र ऊ गर भन्ने तँ को होस् भन्दै कुट्न झम्टिए । रमेशलाई सफाई मजदुरहरुले नै रोकेर कुटपिट हुनबाट जोगाएका थिए । 

अन्तरदेशीय विमानस्थलको सफाईको काम गर्दैआएका रमेश ढकालसहितको ठेकेदारहरुको समूहलाई नै गत असोजदेखि अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाई सम्बन्धी जिम्मा दिइएको हो । रमेशको समूहले असोज महिनादेखि नै सफाई मजदूरका नाममा लिइएको रकममध्ये ४० प्रतिशतसम्म आफ्नै गोजीमा हालेका पाइएको छ । सफाई कर्मचारीले पहिलेदेखि नै पाउँदै आएका सुविधाहरु नयाँ ठेकेदार आएपछि कटाइएको र बढ्दो महंगीमा जीवन धान्न पनि नसक्ने अवस्था बनाइएको भन्दै असन्तुष्टि पोख्दै आएका छन् ।  

"ठेकेदार समूहका रमेश ढकाल जुरुक्क उठेर हामीलाई यो गर र ऊ गर भन्ने तँ को होस् भन्दै कुट्न झम्टिए ।"

ठेक्का सम्झौता गर्दा उल्लेख गरिएका प्रावधानहरु अधिकांश ठेकेदार समूहले पूरा नगरेका पाइएको छ । ठेक्काको बिओक्यूमा माग गरिएका कामदार सफाई (क्लिनर) १३८ जना, सुपरभाईजर १३ जना, म्यानेजर १ जना, प्लम्बर ४ जना र सुरक्षा गार्ड २ जनालाई के कस्ता सुविधा, भत्ता र कति तलब दिने भनी पहिले निर्धारण गरिएकोा छ । सो अनुसार सफाई क्लिनरको शुरु तलब १६,२३०, म्यानेजरको ३०,५०० सुपरभाईजरको २२,४९०, प्लम्बरको बेशिक तलब २२४९० र सुरक्षा गार्ड को बेशिक तलब २२४९० तोकेको छ । बिओक्यूमा शुरु तलब कायम गरिएको रकमको २० प्रतिशत सामाजिक सुरक्षा कोष, र सरकारले तोकेको महंगी भत्ता रकम मासिक २,००० समेत थप गरी विमानस्थलले कार्यालयले जे.भी कम्पनिलाई भुक्तानी दिने गरी ठेक्का सम्झौता भएको छ । तर ठेकेदार कम्पनिले २०७९ असोज महिनामा विमानस्थलमा काम गर्ने कामदार कर्मचारीहरुलाई तलब भुक्तानी गर्दा म्यानेजरको बेसिक तलब ३००००, सुपरभाईजर, प्लम्बर र सुरक्षा गार्डको २०२७५, क्लिनरको १६२३० मात्र कायम गरेको पाइएको छ । ठेकेदार कम्पनीले सम्झौता अनुसार शुरु रकम समेत कमादार कर्मचारीहरुलाई भुक्तानी गरेको छैन । 

विमानस्थल कार्यालयसँग भएको सम्झौता बमोजिमको रकम बुझ्ने र मजदुरहरुलाई चाहिं सम्झौता बमोजिमको रकम नदिएर ठेकेदारहरु आफैंले मजदुरको रकम खाने गरेका पाइएको छ । विमानस्थल स्रोतबाट प्राप्त ठेकेदार कम्पनीको तलब भपाईमा बिओक्यूमा उल्लेख भएको बेसिक रकम समेत घटाएको पाईयो  । मजदुरलाई काममा लगाएवापत ठेकेदार कम्पनीले कामदार÷कर्मचारीहरुलाई सामाजिक सुरक्षाकोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाउनु पर्ने हुन्छ । कोषमा सम्बन्धित कर्मचारीका नाममा जम्मा गर्ने ३१ प्रतिशत रकममा ११ प्रतिशत रकम कर्मचारीकै तबलबाट र २० प्रतिशत रकम राजगारदाता कम्पनीले व्यहोर्नुपर्दछ । तर रमेश ढकालको समूहले गत असोज महिनामा कोषमा पठाएको रकममा कर्मचारीको ११ प्रतिशत पठाए पनि कार्यालयबाट सबै मजदुरका नाममा रकम बुझेर त्यसको ४० प्रतिशत रकम आफैंसँग राखेका पाइएको छ । यसरी विमानस्थल कार्यालयबाट मजदुरका नाममा कोषमा जम्मा गर्ने र महंगी भत्ताको २००० हजारपनि लिने र मजदुरलाई नदिने कार्य अनैतिक भएकाले यसप्रति मौन नबस्ने मजदुर नेताहरु बताउँछन् ।

टिप्पणीहरू