रुखमा भोट हालियो, के इज्जत फालियो ?

रुखमा भोट हालियो, के इज्जत फालियो ?

त्यो बेला नेपाली काँगे्रस र काँग्रेसका मान्छे भनेपछि जिरह चलेर आउँथ्यो । बालिग भइसकिएको थिएन । तैपनि कुनै पार्टीको कार्याकर्ता भएर होइन कि सामाजिक प्रभावले ०४८ सालको संसदीय निर्वाचनमा काँग्रेसको चुनाव चिन्ह रुखलाई भोट हाल्ने कुरा सम्झँदैमा एलर्जी हुन्थ्यो । किनकि गाउँघरका त्यतिबेलाका छोटे काँग्रेस (जो कतिपय अहिले पनि छन्) र शहरका बडे काँग्रेस अनि काँग्रेसकै सरकारको अन्यायपूर्ण व्यवहारले बालमस्तिष्कमा गडेको नकारात्मक धारणा नै हट््दै हटेको थिएन त्यतिबेला । अर्काेतिर गाउँघरको पृष्ठभूमि र आफू पढेको विद्यालय बढी कम्युनिस्टमय भएकाले काँग्रेसतिर मन जाने कुरै थिएन । युवा उमेर त्यसै पनि एकोहोरो हुन्छ । त्यसैले यस्तो एकोहोरो धारणा लामो समयसम्म रहिरह्यो । राजनीतिलाई राम्ररी बुझ्ने र पत्रकारिता पेसामा प्रवेश नगर्दासम्म यस्तो धारणामा कुनै घुनपुत्लो लागेन । आफूलाई ठालु ठान्ने उनीहरुको शैलीका कारण काँग्रेस पार्टी र काँग्रेसीहरुप्रतिको घृणा हटेन । काँग्रेसभित्र पनि घोइरो कामी जस्ता अर्गानिक कार्यकर्ता र भीमबहादुर तामागंजस्ता सज्जन नेता हुन्छन् भन्ने हेक्का भएन । सायद सबैजसो काँग्रेसीहरु पनि कम्युनिष्टलाई यसरी नै हेर्थे होलान् । उनीहरु त्यतिबेला पनि यसरी नै हेर्थे र अहिले पनि त्यसरी नै हेर्छन् भन्ने कुरा त यही मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदानमा काँग्रेसीहरुले देखाएको व्यवहारबाटै प्रस्ट भइहाल्यो नि । 

हामीजस्ता सामान्य मानिसको व्यक्तिगत जीवनमा यतिका वर्षमा धेरै परिवर्तन आयो । १२ वर्षमा खोलै फर्कन्छ भन्छन्, तर ०४८ देखि आजसम्म झण्डै ३० वर्षमा के के फर्कियो फर्कियो । खोला १२ वर्षमा फर्कने भए पनि झण्डै तीनपटक त फर्किनै सक्यो होला २०७९ सालसम्म । अर्काे अचम्मको कुरा, ०७० को संविधानसभा निर्वाचनमा समानुपातिकमा काठमाडौँबाटै मतदान गर्नेबाहेक ०४८ पछिका कुनै संसदीय र संविधानसभा निर्वाचनमा बालिग नै भए पनि कहिल्यै मतदान गर्ने अवसर मिलेको थिएन । यसपालि त गाउँ नै जाने अवसर मिल्यो । समयले आफैँलाई कहाँ कहाँ पुर्याउने रहेछ थाहै नहुने । काँग्रेसीहरुले जस्तो सोच खुम्च्याइएन । मन अमिलो पारिएन । ३० वर्षअघि एलर्जी हुने काँग्रेसकै चुनाव चिह्न(रुख) मा यसपालि झ्याप्पै छाप हानियो । इज्जत जाला, आत्मग्लानी होला भनेर धेरै काँग्रेसीहरुले हँसिया, हथौडा, कलममा छाप हानेनन्, बरु गैरराजनीतिक समूहको घण्टी बजाए । खै रुख समाउँदा हाम्रो त इज्जत गएन, बेइज्जत र आत्मग्लानी पनि भएन ।     

बरु कम्युनिस्टहरुको मन पग्लने रहेछ, काँग्रेसीहरुको मन नपग्लने रहेछ । काँग्रेसका धेरै नेता, कार्याकर्ता र समर्थकको त साँच्चै ढुंगाकै मन रहेछ । ठीक उल्टो, कम्युनिस्ट कठोर हुन्छ, ६० वर्ष पुगेपछि ज्येष्ठ नागरिकलाई गोली ठोकेर मार्छ भनेर प्रचारप्रसार गर्ने काँग्रेसकै मन चट्टान जस्तो, काँग्रेसले भनेअनुसार कठोर हुनपर्ने कम्युनिस्टको मन भने नौनीजस्तो । कम्युनिस्टका कार्याकर्ता, समर्थक इमान्दार रहेछन् । यिनीहरुको स्कूलिंग राम्रो रहेछ । संविधान र लोकतन्त्रको रक्षाका लागि एकातिर गठबन्धन गर्ने अर्काेतिर छाप हान्ने काँग्रेसीहरु । आफ्नै नेताको पनि निर्देशन नमान्ने ? अनि यस्तालाई अरुले कसरी जान्ने ? कम्युनिस्टहरुले दिल खोलेर रुखमा मतदान गर्दा काँग्रेसीहरुले त हँसिया, हथौडा र कलम भनेको सुन्न पनि चाहेनन् । अरुलाई समेत गठबन्धनको सट्टा गैरराजनीतिक समूहको घन्टी बजाउन सोझासिधालाई उक्साए, उर्दी जारी गरे । यसलाई पार्टीभित्रको स्वतन्त्रता भन्ने कि अराजकता ? आफूलाई नेपालको सबैभन्दा अब्बल लोकतन्त्रवादी पार्टी ठान्ने काँग्रेस र काँग्रेसका नेतालाई नै थाहा होला ।   

काँग्रेस र कम्युनिस्टबिच अहिले मात्र सहकार्य भएको जस्तो देखिए पनि यी दुई विचारधाराबिच राणा शासनविरोधी आन्दोलनदेखि नै सहकार्य हँुदै आएको हो । पञ्चायत कालमा पनि त्यो सहकार्य घोषित, अघोषित रुपमा हुँदै आयो । स्पष्ट रुपमा सहकार्य ०४६ र ०६२।०६३ सालको जनआन्दोलनमा भयो । ०४६ सालमा कम्युनिस्टहरुले गणेशमान सिंहलाई सर्वमान्य नेता, जनआन्दोलनको कमाण्डर माने । ०६२।०६३ मा गिरिजाप्रसाद कोइरालालाई त्यो चलचित्ररुपी जनआन्दोलनको प्रमुख नायक मान्य तयार भए कम्युनिस्टहरु । यिनै फरक फरक विचारधाराका शक्तिको सहकार्यले ०४६ सालमा ३० वर्षे पञ्चायत ढल्यो । ०६२।०६३ को सहकार्यले २४० वर्ष पुरानो राजतन्त्र नै स्वाहा भयो । शान्ति सम्झौता भइ काँग्रेस, कम्युनिस्ट मिलेकाले नै गणतन्त्र, धर्म निरपेक्षता, संविधानसभामार्फत मुलुकमा विद्यमान द्धन्द्ध शान्तितिर उन्मुख हुन सक्यो । नयाँ संविधान प्राप्त भयो । अस्ति भर्खरको प्रतिनिधिसभा विघटनलाई कम्युनिस्ट र काँग्रेसकै गठबन्धनले रोक्न सक्यो । त्यही भएर त आज यही गणतन्त्रमा राजतन्त्रवादीले समेत राजा जिन्दावाद भन्न पाएका छन् । लोकतान्त्रिक गणतन्त्रको सौन्दर्य भनेकै यही त हो । जबकि राजतन्त्रमा गणतन्त्र जिन्दावाद त के गणतन्त्रको बारेमा गफ गर्न पनि डराउनुपर्ने अवस्था थियो । विपीको सिद्धान्तलाई नै काँग्रेस र काँग्रेसीहरुले पछ्याइरहेका हुन् भने समाजवाद त काँग्रेसको अन्तिम लक्ष्य हो । कम्युनिस्टहरु सिद्धान्ततः त्यो भन्दा एक चरण अघि साम्यवादसम्म पुग्न चाहन्छन् र अहिलेको संविधानमा समेत समाज समाजवाद उन्मुख भएको उल्लेख छ र यो कुरा काँग्रेसले समेत स्वीकारेको छ । ऐतिहासिक पृष्ठभूमि हेर्दा पनि काँग्रेस र कम्युनिस्ट उस्तै उस्तै सशस्त्र संघर्ष पार गरेर आजको दिनसम्म आएका छन् । भनेपछि काँग्रेस र काँग्रेसीहरुले कम्युनिस्टहरुलाई होच्याउनुपर्ने, गिज्याउनुपर्ने के कारण छ र ? यो कुरा काँग्रेसलाई थाहा नभएको हो र ? अनि काँग्रेसका लागि कम्युनिस्टहरुले मात्रै झुकिदिनुपर्ने,  काँध थापिदिनुपर्ने, दाइ मान्दिनुपर्ने ? ठुलो पार्टी बनाइदिनुपर्ने ? आफूले चाहिँ इमान्दारिता देखाउन नपर्ने ? उल्टै पवित्र मनले मतदान गरेर ठुलो पार्टी बनाइदिने कम्युनिस्ट जनताकै मानमर्दन गर्ने ?       

बाहिरी र भित्री खेलहरु जेसुकै भए पनि वास्तवमा लोकतन्त्र जोगाएर मुलुकमा स्थायित्व कायम गर्न, विकास, समृद्धि ल्याउन भनेरै यो गठबन्धन बनाउनुपरेको हो भनिदैँछ । केपी  शर्मा ओलीको नेतृत्वको सरकारले पटक पटक संसद् विघटन गरेर मुलुकलाई प्रतिगमनतिर लैजान खोजेकोे भन्ने लगायतका कारण देखाई तत्कालीन नेकपाभित्र फुट आएपछि यो गठबन्धन बन्न पुगेको हो । यदि संसद् विघटन नभएको भए अनि नेकपामा विभाजन नआएको भए काँग्रेससहितको यो गठबन्धन बन्नै नै थिएन । यो गठबन्धन नबनेको भए आज काँग्रेस सरकारको कुनै स्थानमा हुने थिएन । गएको पाँच वर्षसम्म काँग्रेस नानीझारजस्तो भएर बस्दथ्यो । अबको पाँच वर्ष पनि काँग्रेसको अवस्था धोती न टोपी जस्तो हुन्थ्यो । कम्युनिस्ट फुट्दाको एकलौटी फाइदा यसपालि पनि काँग्रेसलाई भयो । कम्युनिस्टहरु एकतावद्ध रहेको भए जनता भड्कने, असन्तुष्ट हुने थिएनन् । मत अन्य गैरराजनीतिक समूहमा टान्र्सफर हुने थिएन । त्यो मत कम्युनिष्टमा नै केन्द्रीत हुने थियो । कम्युनिस्टकै गठबन्धन बाँचिरहेको भए काँग्रेसले ५७ सिट प्राप्त गर्नै नै थिएन, ०७४ को झैँ २० कै वरिपरि डल्लिएर बस्नुपर्दथ्यो । किनकि अझै पनि कम्युनिष्ट एकतालाई नै बहुमत नेपाली जनताले रुचाएको तथ्य छ । तर विडम्बना, जसको साथ र हात पाएर काँग्रेस ठुलो बन्यो, काँग्रेसका नेता, कार्यकर्ता गठबन्धनका त्यही शक्तिलाई खिसिट्युरी गरिरहेका छन् । बेइज्जत गरिरहेका छन् । बैगुनी काँग्रेसीहरु यो धरातलीय यथार्थलाई बिर्सेर उल्टै उसैको सिट बढाउनेलाई नै अपमान, व्यंग्य गर्दैछन् । पार्टीको जिम्मेवार पदमा बसेर आफ्नै पार्टी संलग्न गठबन्धनकै विरुद्ध निर्वाचनमा झैँ मोर्चाबन्दी गरिरहेका छन् । कम्युनिस्टकै मतले काँग्रेस पहिले भन्दा फुलेको काँग्रेसका कतिपय नेता, कार्याकर्ता कम्युनिस्टका नेता, कार्याकर्ताकै अपमान गर्दै भाषण छाँटिरहेका छन् । के आम नागरिकले गठबन्धनका समर्थक, कार्याकर्ता, नेतालाई भोट हाल्न जरुरी थियो र ? मुलुकमा स्थिरता आउला कि समृद्धि होला कि भनेर मतदान गरिएको होइन र ? काँग्रेसका मान्छेलाई समृद्धि दिगो लोकतन्त्र, समृद्धि, विकास चाहिँदैन र ? लोकतन्त्र, संविधान, स्थिरता, विकास, समृद्धिका लागि काँग्रेस गम्भीर बन्नु पर्दैन र ? कम्युनिस्टहरुले मात्रै सहकार्य,  गठबन्धन भन्दै पछि लाग्नुपर्ने कारण छ र ?

हुन त काँग्रेस गठबन्धनका सबै दलले निर्वाचनअघि जस्तै अब पनि यसलई बलियो बनाएर अघि बढ्ने, मिलेरै सरकार चलाउने भन्ने निर्णय गरेका छन् । काँग्रेस गठबन्धनअन्तर्गतका पार्टीहरुले आफ्ना घोषणापत्रमार्फत गठबन्धनलाई नै अगाडि बढाएर लैजाने र यसपछि पनि गठबन्धनकै सरकार बनाउने भनेर जनताका माझ कसम खाइसकेकाले गठबन्धनकै सरकार बन्नु जनताप्रतिको इमान्दारिता हो । त्यसैले यो दृष्टिकोणबाट हेर्दा गठबन्धन बनाएर चुनावमा गएकाले यो पार्टीको यति सिट, उति सिट भनेर टुक्रा टुक्रा पारेर हैन हेर्नु हुँदैन । प्राप्त सिटलाई एकमुस्ट सिट भनेर जोड्नुपर्दछ । यसरी जोडेर आउने समग्र योगफललाई नै ताजा जनादेश मान्नुपर्दछ । आउन चाहे गठबन्धनमा नयाँ शक्तिलाई पनि समावेश गरेर बलियो बहुमतको सरकार बनाइ स्थायित्व, विकास, समृद्धिलाई अगाडि बढाउनुपर्दछ । तर काँग्रेसीहरुमा उन्माद बढिनै रह्यो, कम्युनिष्ट र गठबन्धनका अन्य दललाई नै खिसिट्युरी गरिरहे, एउटा माघले जाडो गएको ठानेर एकलौटीपन देखाइरहे भने कहिल्यै नफुट्ने लिखित सहमति गरेर आगामी दिनमा कम्युनिष्ट एकताकै सरकार बनाउनुपर्दछ ।       

              

टिप्पणीहरू