वीर अस्पतालमा पनि उस्तै कहानी,डाक्टरको कोपभाजनमा नर्सहरुको जवानी

वीर अस्पतालमा पनि उस्तै कहानी,डाक्टरको कोपभाजनमा नर्सहरुको जवानी

मुलुकका विभिन्न क्षेत्रमा अगुवा र प्रतिष्ठितहरु नै यौनकाण्ड र दुराचारका घटनामा मुछिएका समाचार आउन थालेपछि बिरामीको सेवा गर्ने अस्पतालका नर्सहरुले पनि पीडा पोख्न थालेका छन् । सेतो पोशाकमा खटिएका नर्सलाई सेतै एप्रोनसहित स्टेथेस्कोप घाँटीमा भिरेका डाक्टरले कार्यकक्ष र अपरेशन थिएटरमा यौनजन्य आशयकरणी गर्दै आएको गम्भीर आरोपसहितको इमेल जनआस्थामा आइपुगेको छ ।

जनआस्थाका सम्पादकलाई सम्बोधन गर्दै प्राप्त चिठी (इमेल) मा यसरी नर्सहरुले आफ्नो पीडा पोखेका हुन् । उक्त इमेलमा लेखिएको छ:

सम्पादकज्यू,

नेपालको विभिन्न क्षेत्रमा, कार्यकक्ष र विद्यालयमा भएका र गरिएका यौनजन्य व्यभिचारका डरलाग्दा समाचारहरु दिनहुँ सुन्न थालिएको छ । फिल्मी क्षेत्र, सुन्दरी प्रतियोगिता हुँदै पछिल्लो पटक राजधानीको एउटा कलेजका शिक्षकले त्यहिँ अध्ययन गर्ने किशोरीहरुमाथि निरन्तर गर्दै आएको नरपिशाचरुपी समाचार पढेपछि हाम्रो रगत पनि उम्लिएको छ । ‘तैं चुप,मै चुप’ को अवस्थामा रहेका हामीले आँट गरेर यो पत्र लेखेका हौं ।

हामी नर्सहरु पनि कामको सिलसिलामा विभिन्न समयमा अस्पतालभित्रै पीडित भइराखेका छौं । नेपालकै केन्द्रीय अस्पताल वीरमा कार्यरत हामी त्यस्तो हर्कत सहनबाट अछुतो छैनौं । धेरै पुरुष सहकर्मी र चिकित्सकहरुले द्वैअर्थी वाक्यमा कुरा गर्ने, अनेक शव्द बोलेर हामीलाई सबैको सामुन्ने लाजले भुतुक्क पार्ने गर्दै आएका छन् ।

उनीहरुले उच्चारण गर्ने शव्द, आँखा र अनेकौं हाउभाउ तथा प्यान्टको खल्तीभित्र हात राखेर गर्ने संकेतले हामी धेरै पटक मरेर बाँचेका छौं । डाक्टररुपी बेइमानहरुको दैनिक क्रियाकलाप हामी धेरै जनालाई नियमित लाग्न थालिसकेको छ । अब त्यस्तो हर्कत हेर्ने र यदाकदा सहने बानी नै परिसक्यो भने पनि हुन्छ । तर एकान्तमा बस्दा, अरुको घटना सुन्दा र आफ्नो जीवनमाथि डाक्टरले गरेका खेलबाड सम्झिँदा कहिलेकाँही जीवनदेखि विरक्त लाग्ने गरेको छ ।

यसरी हामीलाई प्रताडित गर्नेमा प्रमुख रुपले अप्रेशन थिएटर र विशेष गरी युरोलोजीको अप्रेशन हुने दिन मुख्य हो । त्यो दिन र त्यो थिएटर सम्झिँदा पनि घरमै डर लाग्छ । अस्पताल आएपछि हामीलाई अप्रेशन थिएटर छिर्दा मूर्दा घर छिरेकोभन्दा बढी डर लाग्छ ।

युरोलोजी विभागमा कार्यरत डा. अनिल श्रेष्ठ र डा. पारसमणि श्रेष्ठ थिएटरमा छन् भने अधिकांश नर्सहरु तर्केर हिँड्छन् । तर, ड्युटी परेकाले तर्केर हिँड्ने सम्भावना नै हुँदैन । आवश्यकता नपरेसम्म त्यो थिएटर र युरोलोजी विभाग छिर्दै छिर्दैनौं । किनभने हामी एक्लै हुँदा ती डाक्टरले यौनजन्य वाक्य मात्रै बोल्छन् । परिआए जे पनि गर्छन्, के भनौं ।

उनीहरु सँधै हाम्रो अंगबारे टिप्पणी गर्छन् । हाम्रो शरीरको नापको इञ्च बताउँछन् र सम्वेदनशील अंगहरु छुने प्रयास गर्छन् । केही वर्ष अघिसम्म पारस डाक्टरले ‘श्रीमतीसँग सुत्न नपाएको धेरै भयो, तिमी आऊ न’ भन्ने गरेको अहिले जागिर छाडेर गएका दिदीहरुले पनि सुनाउनुभएको थियो । त्यसैले होला उनले दोश्रो बिहे गरिसकेका छन् ।

अनिल डाक्टरले अहिले पनि ‘पारसको त नयाँ बूढी छ, मेरो छैन, तिमी आउने हो ?’ भन्दै घुमाएर कुरो गर्छन् । वीरको पुरानो बिल्डिङमा रहेका उनीहरुको कोठामा सुटुक्क आउनको निम्ति पटक पटक खुसुक्क भन्ने र म्यासेज पनि पठाउने गरेका छन् । कतिपय हाम्रा सिस्टरलाई काठमाडौं बाहिरका कार्यक्रममा जाँदा उनीहरुले अनेक प्रयास गरेको सुनिएको छ ।

राजधानी बाहिर भएका युरोलोजीको सेमिनारमा सुटुक्क होटलमा जाने प्रस्ताव गरेका छन् । पहिले उनीहरुले आफूले मनले खाएका नर्सलाई धरान र पोखरामा लिएर पनि गएकै हुन् । यस्तो अवस्थामा हामीले प्रतिकार गर्न खोज्दा हाम्रै बेइज्जत हुने भएपछि सेतो सारीको फेरोले आँसु पुछ्नेबाहेक अरु उपाय हामीसँग छैन ।

त्यस्ता चिकित्सकको कुरो नमान्दा वा प्रतिकार गर्दा उनीहरुले सबै हाकिमको सामुन्ने काम बिगार्यो भनेर गाली बेइज्जती गर्ने, अस्पतालको निर्देशकसम्म कुरो पुर्याउने गरेर हैरानी दिने गरेका छन् । निर्देशकसँग उनीहरुकै राम्रो सम्बन्ध भएकाले हाम्रो अनुनय विनयको कहिल्यै सुनुवाई भएन । कतिपयले बाध्य भएर जागिर छाडे ।

तर नयाँ जागिर पाउन गाह्रो हुने भएकाले बाध्य भएर खुलस्त रुपमा कहिल्यै व्यक्त गर्न सकेका छैनौं । केही साथीले पहिले अप्रेशन थिएटर इञ्चार्जसँग कुरा गर्दा पनि कुनै कदम नचालिएपछि नर्सहरुले जागिर छाडेर जानुपर्ने अवस्था बनेको थियो ।

अहिले पनि हामी अगाडि आउन सकेका छैनौं । हाल देशभर यस्ता समाचार आइराखेकाले सम्बन्धित निकायहरुले हाम्रो समस्यामा पनि चासो राखेर विशेष गरी यी दुई चिकित्सकलाई कारवाहीको दायरामा ल्याइदिने हो भने हामी थप पीडित हुन पर्दैनथ्यो । त्यसो गर्दा त्यस्तै मनशायका अरु धेरै पुरुष सहकर्मीलाई पनि पाठ हुने थियो ।

वीर अस्पतालका पीडित नर्सहरु (यसवारे प्रतिक्रिया लिन खोज्दा अस्पताल प्रशासनबाट उल्लिखित डाक्टरहरुको सम्पर्क नम्बर उपलब्ध हुन सकेन )

टिप्पणीहरू