रमेश लेखक जाँचबुझ आयोगलाई बयान दिन तयार
भदौ २३ र २४ गतेको घटनाबारे छानविन गर्न गठित जाँचबुझ आयोगलाई बयान दिन तत्कालीन गृहमन्त्री रमेश लेखक तयार भएका छन् ।
आगामी सोमबार सिंहदरबारस्थित आयोगको कार्यालयमा बयान दिन जाने उनले जानकारी दिए । गौरीबहादुर कार्की नेतृत्वको आयोगले अस्ति लेखकलाई पत्र पठाउँदै सात दिनभित्र बयानमा उपस्थित हुन भनेको थियो ।
पार्टी सभापति शेरबहादुर देउवा, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग यसबारे छलफल गरेका उनले बयानमा जाने बताएका हुन् । आज सानेपास्थित पार्टी मुख्यालय परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै लेखकले भने, ‘उहाँहरुले मलाई भोलि (शुक्रबार) बोलाउनुभएको रहेछ, तर मैले सोमबार जाने तयारी गरेको छु । यसलाई अन्यथा सोच्नुपर्दैन, म बयान दिन जान्छु ।’
आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पनि बयानमा बोलाउन पत्र पठाउने तयारी गरेको बताइएको छ । तर, ओलीले सार्वजनिकरूपमै आफू बयान दिन नजाने बताइसकेका छन् ।
टिप्पणीहरू