सरकार लकडाउन गर्ने, भित्रभित्रै भीडभाड बढ्ने ?

सरकार लकडाउन गर्ने, भित्रभित्रै भीडभाड बढ्ने ?

कोरोना भाइरसको सन्त्रासका कारण सिंगो देश लकडाउन भएर सबैजसो उद्योगधन्दा तथा मानिसहरुको कामकाज ठप्पप्रायः छ । यसैलाई मौकाको रुपमा लिएर फाइदा लुट्ने कर्महरु पनि यदाकदा भइरहेकै छ । पसलहरु नखुलेर मानिसहरुले दैनिक उपभोग्य वस्तुहरु खाद्यान्न र तरकारीसमेत राम्रोसँग किन्न नपाइरहेको अवस्थामा उपभोक्तालाई सहयोगको नाममा व्यापारिक स्वार्थ पूरा गर्न कतिपय मानिसहरु सरकारको नियमलाई समेत लत्याउँदै कुदिरहेको पाइएको छ ।

चैत २५ गते बिहान पूर्वीनवलपरासीको गैंडाकोट–८, करङघारीमा किसान बचत अगाडि बाटोमा एउटा बोलेरो जीप रोकिएको थियो । जीपमा सिमी, बोडी, काउली, काँक्रो लगायतका तरकारीको खात थियो । स्थानीयलाई बेच्न ल्याइएको । मानिसहरु आफूलाई चाहिने तरकारी किन्न ओइरिए । एकैछिनमा भीड बढ्यो । त्यहाँ दूरीको कुनै मतलब भएन । बेच्नेहरु एउटाले जोख्ने, अर्काेले पैसा लिने गर्न थाले । दुईजनाले जीपमा चढेर मागिएका तरकारी तल झार्न सघाइरहेका थिए । संकटको बेला टोलमै आएर सस्तै भाउमा तरकारी दिएकोमा स्थानीय खुसी देखिन्थे । गाडीभरि जसो ल्याइएको तरकारी एकैछिनमा सकिन लागेको थियो । भीड पातलिँदै गएपछिको दृष्य हो फोटो ।

त्यसरी गाडी लिएर ठाउँ–ठाउँमा तरकारी बेच्दै हिँड्ने गैंडाकोटकै युवा हुन् । उनीहरुले सम्बन्धित निकायबाट कुनै किसिमको स्वीकृति नलिई आफूखुशी व्यापार गर्दै हिँडेको बुझियो । ‘संकटको बेला स्थानीयलाई सहयोग गर्न आउनुभएछ, आफ्नो नाम बताउनुस् न ?’ भन्दा ‘के को सहयोग नि ! हामी त बेच्न आएको’ भन्दै उनीहरुले आफ्नो परिचय खुलाउन मानेनन् । बलेरोको नम्बर टिपोट गर्दा ‘साहुको गाडी हो, नम्बर नटिप्नुस् न ! हामीसँग तपाईंको के दुश्मनी छ र ?’ भन्न थाले । त्यसपछि केहीबेरमै उनीहरु त्यहाँबाट गए ।

टिप्पणीहरू