एउटा ‘आतंकवादी’, जो मारिँदा जेलरको रुवाइ थामिएन

एउटा ‘आतंकवादी’, जो मारिँदा जेलरको रुवाइ थामिएन

अपने लिए जिए तो, क्या जिए
तु जि ऐ दिल, जमाने के लिए ।
सर ये नहीं झुकाने के लिए
हिम्मत बुलंद है अपनी
पत्थर सि जान रखते हैं । 
कदमों तले जमीं तो क्या
हम आसमान रखते हैं
गिरते हुओंको उठाने के लिये ।

तु अपनी एक ठोकर में
सौ इन्कलाब लेकर चल
जुल्म और सितम मिटाने के लिए ।।

यो गीत चलचित्रकै हो तर एक जना इन्कलाबीले आफू फाँसीमा चढ्नुअघि यो गीत गाउन मन पराए । उनलाई फाँसी दिन तत्पर जेलरले समेत सँगसँगै गाउन थाले । यो गीत सन् १९६६ मा रिलिज भएको चलचित्र ‘बादल’ को हो, कैदी जीवन बिताइराखेका अभिनेता सञ्जीवकुमारलाई अभिनय गर्न लगाइएको । प्रसंग सन् २०१३ फेब्रुअरी ९ का दिन फाँसीमा झुण्डिएका काश्मिरी मुहम्मद अफजल गुरुको हो । गुरुलाई भारत सरकारले कुख्यात आतंककारी ठान्यो किनभने सन् २००१ मा संसद भवनमा गरिएको आतंकवादी हमलामा उनको संलग्नता देखियो । हमलामा जैश–ए–मोहम्मद र लस्कर–ए–तैय्यबा नामक आतंकवादी समूहका ५ जना लडाकू संलग्न थिए । त्यो बेला संसदको सुरक्षार्थ तैनाथ ५ जना प्रहरी, केन्द्रीय रिजर्भ प्रहरी बलको एक महिला कन्स्टेबल, अन्य दुई जना सुरक्षागार्ड र एक जना बगैंचे मारिएका थिए भने पाँचै जना आक्रमणकारीको पनि ज्यान गएको थियो । 

भारतीय प्रहरीका अनुसार जैश–ए–मोहम्मदका अफजल गुरु यो आक्रमणका योजनाकार थिए, जसलाई दिल्ली हाइकोर्टले सन् २००२ मा फाँसीको सजायँ सुनायो । पछि उच्चतम न्यायालयले पनि दिल्ली हाइकोर्टको निर्णयलाई नै सदर गर्‍यो । यसमा गुरुले माफीको निवेदन पेश गरे, त्यसबेला राष्ट्रपति थिए एपिजे अब्दुल कलाम । तर, उनी मौन बसे । उनीपछिकी प्रतिभा पाटिल पनि अनिर्णित रहिन् । बल्ल डा. प्रणव मुखर्जीले फाइल पल्टाउने काम गरे र उक्त निवेदनलाई खारेज गरिदिए । यसपछि बल्ल फाँसी दिइयो । फाँसी दिएपछि जेलर सुनील गुप्ता घर फर्केर पत्नी र छोरीलाई अँगालो हाली क्वाँक्वाँ रोए ।

उक्त आक्रमणपश्चात् दिल्ली प्रहरी निकै सक्रिय बन्यो । पर्सिपल्टै जैश–ए–मोहम्मदका एक सदस्य अफजल गुरु जम्मु काश्मिरबाट समातिए । दिल्लीको जाकिर हुसैन कलेजबाट एसएआर गिलानी, अफसान गुरु र उनका पति शौकत हुसैन पनि पक्राउ परे । अनुसन्धान क्रममा अफजल गुरु आक्रमणको योजनामा संलग्न भएको खुल्यो र उनीलगायत तीनै जनालाई फाँसीको निर्णय सुनाइयो । अफसानलाई भने रिहा गरियो । ३० अगस्त २००३ मा प्रहरीसितको भिडन्तमा आक्रमणको मुख्य योजनाकार मानिएका गाजी बाबा मारिए । पछि गिलानी रिहा भए भने अरू २ जनालाई फाँसीको साटो १० वर्ष जेल पठाउने निर्णय सुनाइयो । अफजल गुरुलाई मात्र सन् २००६ को सेप्टेम्बर २६ मा दिल्ली अदालतले झुण्ड्याएर मार्ने आदेश दियो । उक्त फैसलाको एक सातापछि गुरुकी पत्नी तबस्सुमले राष्ट्रपतिसमक्ष माफीको निवेदन पेश गरिन् । सन् २०१३ को फेब्रुअरी ३ मा उक्त निवेदन राष्ट्रपतिद्वारा खारेज भयो ।

गुरु त्यसबेला तिहाड जेलमा थिए । जेलर सुनील गुप्ता सन् १९८१ देखि त्यहीं तैनाथ थिए । पछि जेलको प्रवक्ता र कानुनी सल्लाहकारसमेत भए । तबस्सुमले दिएको माफीनामा खारेज गरिएको ६ दिनपछि गुरुलाई फेब्रुअरी ९ मा तिहाड जेलमा फाँसी दिइने भयो । त्यतिबेलासम्म गुरुको रेखदेख गर्ने जिम्मा प्रहरी मुख्यालयले उनै सुनीललाई सुम्पियो । किनभने उनी गुरुलाई राम्रोसित चिन्दथे । फाँसी दिइने कुरा गुरुलाई थाहा थिएन । बरु २ दिनअगाडि नै परिवारलाई भने सन्देश पठाइसकिएको थियो ।

तर, २ दिनमा परिवारसमक्ष पत्र पुग्ने सम्भावना नै थिएन । यसकारण जब उनीहरूको हातमा फाँसीको सन्देशयुक्त पत्र पुग्यो, त्यसबेलासम्म गुरु फाँसीमा लट्किइसकेका थिए । जेल प्रशासनले गुरुलाई फाँसी दिँदै छ भन्ने कुरा थोरैलाई मात्र थाहा होस् भन्ने थियो । नत्र जेलभित्र र बाहिर दंगाफसाद हुन सक्थ्यो । सुनील र जेल सुपरिन्टेन्डेन्ट ८ फेब्रुअरीको साँझ आफ्नो कोठाबाट निस्के र फाँसीको तयारीमा लागे । डोरी जाँचे । किनभने कतिपय समय फाँसी दिँदा डोरी नै चुँडिने हुन्थ्यो । यसनिम्ति डोरीमा गुरुको तौलबराबर बालुवा भरिएको डोरी लट्काइयो । चार पटक यसो गर्दा चारैपटक डोरी चुँडियो ।

उनीहरू छक्क परे । फाँसी दिँदा अभियुक्तको मृत्यु भएन भने सरकारलाई जवाफ दिनुपर्ने हुन्छ । यस्तो स्थितिमा जागिरै पनि जान सक्छ । त्यहाँ अर्को एउटा पुरानो डोरी पनि थियो । त्यसबाट बरु काम हुने देखियो । त्यसपछि फाँसी दिने जल्लादको खोजी गरियो । त्यसो त जल्लाद नै चाहिन्छ भन्ने त हुँदैन, जो सुकैले पनि यो काम गर्न सक्छ, सुनील आफैँ जीवनमा ८ जनालाई फाँसी दिँदाको साक्षी थिए र कति जनालाई फाँसी दिने काम आफैँले गरिसकेका थिए । फाँसी दिने काम गाह्रो हुन्नथ्यो । मात्र चुकुलजस्तो ठूलो खालको लिबर खिच्ने हो, हो बरु पासो बनाएको डोरी राम्रोसँग गर्धनमा बाँधेको छ कि छैन हेर्नुपर्ने हुन्छ । यी सबै कारबाहीबारे जेलभित्रका अन्य सुरक्षाकर्मीलाई समेत थाहा दिइएको थिएन ।

९ फेब्रुअरीको बिहानै सुनील गुरुलाई थुनिराखेको कोठाभित्र पसे । देख्नेबित्तिकै गुरु झस्के । उनलाई लाग्यो, आज केही नराम्रो घटना हुन गइरहेको छ । उनले सोधे, ‘सर, आज मलाई फाँसी दिइँदै छ कि कसो ?’ ‘तिमीले कसरी थाहा पायौ ?’‘पहिलो कुरा त बिहानै तपाईंको दर्शन पाइयो, दोस्रो कुरा, हिजो राति नै मलाई छुट्टै कोठामा राखिएको थियो ।’ ‘हो, तिमीलाई फाँसी दिइँदै छ ।’ ‘ठीकै छ तर तपाईंहरूसँगै आज म चिया पिउन चाहन्छु ।’

सुनीलले हुन्छ भने र सँगै बसेर चिया पिए । चिया खाइसकेपछि उनले भने ‘तपाईंलाई एउटा कुरा भन्न चाहन्छु– म आतंकवादी होइन । तपाईंहरूले मलाई खतरनाक आतंकवादी बनाइदिनुभयो । यदि, म आतंकवादी हुँदो हुँ त मैले छोरोलाई डाक्टर बनाउने थिइन । उसलाई पनि लफंगा, गुण्डा वा आतंककारी नै बनाउने थिएँ । म सधैँ इमानको साथमा छु, म पियुसिएल (नागरिक स्वतन्त्रताका लागि जनमञ्च) को सक्रिय सदस्य हुँ । उक्त संगठनको हरेक कार्यक्रममा सरिक हुने गरेको छु । मेरो प्रोफाइल पल्टाएर हेर्न सक्नुहुन्छ । मैले सधैँ देशलाई मजबुत बनाउन, भ्रष्टाचार र बेइमानीविरुद्ध आवाज उठाउँदै आएको छु ।’

सुनीलले ‘अब यो कुरो गर्नुको कुनै तुक छैन । सबै कानुनी कारबाही टुंगिसकेको छ । बरु परिवारलाई केही सन्देश दिन चाहन्छौ भने लेखेर देऊ’ भने । गुरुले एउटा पत्र पत्नीको नाममा लेखे । पत्र उर्दू भाषामा थियो । पत्रमार्फत छोरा गालिबको हेरचाह गर्न, दुःखमनाउ नगर्न, छोराका लागि भए पनि मन दह्रो पार्न, छोरालाई निरास हुन नदिन र त्यता शान्ति बनाइराख्न सबैमा अपिल गर्नू भनी आग्रह गरे । उनले फेरि सुनीलसित आग्रह गरे कि मलाई फाँसीमा चढाउने बेला तपाईंको आँखामा हेरिरहन पाऊँ । सम्झनुस्, यो मेरो अन्तिम इच्छा हो । सुनीलले भने– यो कसरी सम्भव हुन सक्छ ? फाँसीको तख्तासम्म जाँदासम्म त ठीकै छ, पछि तिम्रो टाउको कालो कपडाले छोपिनेछ अनि कसरी मलाई देख्न सक्छौ ? गुरुले फेरि भने ‘ठीक छ, कपडाले नछोपुञ्जेल हेरिरहन्छु ।’ 

सुनीलले यो कुरोमा टाउको हल्लाए । गुरुले फेरि भने कि म एउटा गीत गाउन चाहन्छु किनभने म सधैँ जनताको भलो चाहन्छु । लगत्तै ‘अपने लिए जिए तो, क्या जिए, तु जिए दिल, जमाने के लिए’ बोलको गीत गाउन थाले । चलचित्र ‘बादल’मा नायक सञ्जीवकुमारले फाँसी दिन लग्दै गरेको एक जना देशभक्तलाई हेरेर उक्त गीत गाएका थिए । गीत राम्रो थियो, त्यसैले अनायसै जेलर सुनील, सुपरिन्टेन्डेन्ट र अन्य प्रहरी अधिकृतले सँगै गाउन थाले । गुरुले पूरा गीत गाए । प्रायः अभियुक्त रुँदै, म निर्दोष छु भन्दै फाँसीमा चढ्थे । गुरु मात्रै पहिलो कैदी थिए, जो आफ्नालागि हैन अरूका लागि जिउनुपर्छ भन्ने सन्देशमूलक गीत गाउँदै हाँस्दै अघि बढिरहेका थिए । गुरुको यो रवैया देखेर सुनीलको मन भावविह्वल बन्यो । किनभने गुरु गीत गाउँदै र उनलाई हेर्दै अघि बढिरहेका थिए । 

फाँसी बिहानको ८ बजे दिइयो र शवलाई जेलभित्रकै जमिनमा गाडियो । यसपछि सुनील घर फर्के । परिवारलाई कहिल्यै जेलको कुरो सुनाउँदैनथे । घर पुगेपछि ‘तपाईंको आँखामा आज करुणा देखिरहेको छु’ भन्ने गुरुको भनाइ बारम्बार सम्झिरहे । अनि पत्नी र छोरीलाई अँगालो हालेर निकै बेर रोए । स्मरणीय छ, गुरुले पत्नीको नाममा लेखेको पत्र पनि घर पुगेकै थिएन, किनभने सो पत्र फाँसीमा चढ्नु केही घण्टाअगाडि मात्र लेखिएको थियो । पत्र जेल प्रशासनले लगत्तै गुरुको घरको ठेगानामा पठाउने व्यवस्था मिलायो । पत्नी तबस्सुम गुरुका अनुसार संगीतमा रुचि राख्ने अफजल गुरु उग्रवादी बन्न पुग्नु एउटा दुर्घटना थियो । गालिबको शायरीबाट प्रभावित भएरै उनले छोराको नाम गालिब राखेका थिए । माइकल जैक्सनको पनि फ्यान थिए । पक्राउ पर्नुअघिसम्म मेडिकल कलेजमा पढ्दै गरेका उनी जम्मा ४३ वर्षका थिए ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू