प्रेमिल जिन्दगीका पीडाहरु

प्रेमिल जिन्दगीका पीडाहरु

रोबिन हुड अंग्रेजी भाषाको एउटा लोककथाका पात्र हुन् । धनीमानीहरू उनलाई सीधै ‘डाँकु’ भन्न रुचाउँछन्, किनभने रोबिन र उनका सहयोगीले उनीहरूलाई मात्र लुट्थे । गलत काम गरेमा रोबिन आउँछन् र धनसम्पत्ति लुटेर लान्छन् भनेर डराउँथे उनीहरू, त्यसैले धनसम्पत्ति लुकाइ राख्थे । विश्वभरि आजपर्यन्त यो कथामा करिब ७० वटा चलचित्र निर्माण भइसकेका छन् तर ती सबैमध्ये सन् १९३८ मा निर्मित ‘दि एडभेन्चर अफ रोबिन हुड’ दर्शकले अत्यधिक मन पराइएको चलचित्र हो । चलचित्रमा रोबिन हुडको भूमिका निभाएका थिए – अभिनेता एरोल फ्लिनले । एरोललाई हलिउड चलचित्र जगत्मै सबैभन्दा सुन्दर र आकर्षक अभिनेताको रूपमा लिने गरिन्छ । महिला दर्शक उनलाई पर्दामा हेर्न मरिमेट्थे भने उनी पनि अत्यधिक महिलाप्रेमी थिए ।

एरोल अष्ट्रेलियाई सिने कलाकार हुन् । उनी अभिनीत पहिलो चलचित्र ‘इन दी वेक अफ बाउंटी (क्ष्ल तजभ धबपभ या द्ययगलतथ)’ हो जुन अष्ट्रेलियाई निर्देशक चाल्र्स चौभेलले निर्देशन गरेका थिए । सन् १९३३ मा निर्मित यो फिल्ममा अभिनय गर्दा उनी २४ वर्षका थिए । उक्त चलचित्रले उनको भाग्य नकोरेपछि सोही साल लण्डन गए । र ‘क्ष् ब्मयचभ थयग’ चलचित्रमा अभिनय गरे । २ वर्षपछि अमेरिका गएर हलिउड प्रवेश गरे । र, पुगनपुग त्यहाँको ६० वटा चलचित्रमा खेले । उनी अभिनीत प्रायः सबै चलचित्र सफल छन् र उनको भूमिकालाई सबैले सराहना गर्ने गरेका छन्् । विशेषत, महिला उनीप्रति लट्टु नै हुन्थे । जीवनमा ३ चोटि त बिहे नै गरे भने मायालु त कतिलाई बनाए–बनाए । उनका पत्नीहरूमा लिली डामिता फ्रान्सिसी अभिनेत्री थिइन् भने नोरा एडिङ्टन र प्याट्रिस वाइमोर अमेरिकी अभिनेत्रीहरू थिए ।

सन् १९४२ को एकदिन । रातिको समय लस एन्जलसको मूलहोल्याण्ड ड्राइभस्थित शान्दार बंगलाको कोठामा बसेर पुस्तक पढिरहेका थिए । अकस्मात् कम्पाउण्ड छिर्ने ढोका कसैले ढकढक्याएको आवाज सुने । लगत्तै एक जना नोकर हस्याङफस्याङ गर्दै दगुर्दै कोठामा प्रवेश गरे र काँप्दै फ्रान्सिसी भाषामा भने ‘हजुर, बाहिर २ जना प्रहरी आइपुगेका छन् र उनीहरू तपाईंंसित भेट्न चाहन्छन् ।’ ‘ल, यसमा डराउनुपर्ने कुरा के छ ? जाऊ, यहाँ लिएर आऊ ।’

एकछिनमा कोठामा २ जना प्रहरी प्रवेश गर्छन् । उनीहरू सादा पोसाकमा थिए र प्रशन्न मुद्रामा थिए । नोकरले उनीहरूलाई कफी ल्याएर ख्वाए । कफी पिउँदापिउँदै एक जनाले भने, ‘तपाईंंमाथि संगीन आरोप लागेको छ । जसले तपाईंं विरुद्ध उजुरी दर्ता गरेकी छन् उनी थानामा छिन् । तपाईं थानामा आएर बयान दिनुपर्‍यो ।’
‘तर मेरो अपराध के ?’ एरोलले सोधे ।

एकछिनको चूपचापपछि अर्का प्रहरीले भने ‘वैधानिक बलात्कार’ । कुरो सुनेर एरोलको मुख सुक्यो । बलात्कार केलाई भन्छ त्यो उनलाई थाहा थियो तर यो वैधानिक बलात्कार ? उनी अक्कमक्क भए । अब के गर्ने भनेर उनी सोच्दै थिए, एक जनाले फेरि भने ‘बेट्टी हेन्सन नाउँ गरेकी एक जना आवारा केटीले तपाईंमाथि बलात्कारको आरोप लगाएकी छन् । उनको ब्यागबाट हामीले तपाईंको फोन नम्बर पनि भेट्टाएका छौँ ।’ ‘मैले बलात्कार गरेको रे ? कहिले ? कहाँ ?’, एरोलले सोधे । 

‘तपाईंको एक जना साथीको घरमा । जहाँ अरू साथी पनि थिए रे !’ यति कुरो सुनेपछि एरोलले त्यो रात सम्झे । उनको आँखा अगाडि ती केटीको अनुहार नाच्न थाल्यो । उनले तिनलाई कोठामा लिएर गएको त थिएन तर ती केटी बसिराखेको कुर्सीको हातमा बसेका भने थिए । उनले ठीक छ म आफ्नो वकिलको साथमा आउँछु’ भनेर प्रहरीलाई फर्काइदिए । एरोल वकिलको साथमा थानामा पुग्दा ती केटी त्यहीँ थिइन् । उनले बयान लेखाउन शुरु गरिन् । बयान सकेपछि एरोलले प्रहरीलाई बताए कि ‘यो आरोप आधारहीन छ । म ती केटीसित उनले भनेको ठाउँमा भेटेको कुरो ठीक हो तर त्यस्तो केही भएको छैन जसरी उनले बताइन् ।’

प्रहरीले एरोललाई जान दिइयो भने आरोपी केटीलाई भित्र लगेर थुनिदिए । कुरो त्यत्तिमै सकिएन । लाग्थ्यो, पुलिस जसरी पनि एरोललाई फसाउनै चाहन्थे । २–४ दिनपछि उनीहरूले पैगी सैतर्ली नाउँकी अर्की केटीलाई खोजेर ल्याइयो । पैगीले एरोलमाथि ‘डुंगामा चढाएर घुमाउन लगेको र एकान्तमा पुगेपछि आफूमाथि बलात्कार गरेको आरोप लगाइन् । वकिलले पैगीले लगाएको आरोपबारे सोद्धा एरोलले केटीले जे गरी आफ्नो सहमति मै गरेको र उक्त घटना पनि एक वर्ष पुरानो भइसकेको’ भनी सुनाए । वकिलले एरोललाई गम्भीर हुन भने । वैधानिक बलात्कारको आरोप पुष्टि भएमा ५ वर्ष जेल कारावासको सजायँँ हुन सक्ने चेतावनी दिए । यसपटक पुलिसले एरोललाई थानामा बोलाएनन् । खबर सिधै अखबारलाई दिए । अखबारले ‘एरोलमाथि बलात्कारको आरोप’ शीर्षकमा समाचार छापे । समाचार दुई दिनमै ‘भाइरल’ बन्यो । त्यो रात एरोललाई निद्रै लागेन । आफ्नो इज्जत निलाम हुने भयो भनेर रोएर रात काटे ।

प्रारम्भिक सुनुवाइको दिन अदालतमा ठूलो भीड लाग्यो । एरोल शिर निहुर्‍याएर बेन्चमा बसेका थिए । यत्रो बेइज्जत उनले जीवनमा कहिल्यै भोग्नुपरेको थिएन । अदालतमा १६ वर्षकी पैगी र १७ वर्षकी बेट्टीले आफ्नो बयान दिए । दुबै चलचित्रमा स–सानो भूमिकामा अभिनय गर्थे । एरोलले पनि बयान दिए । न्यायाधीशले युवतीहरूको आरोपमा विश्वास गरेनन् र फैसला एरोलको पक्षमा दिए । तर, सोही राति अर्को एउटा घटना भयो । एक जना अपरिचित ब्यक्तिले फोनमा १० हजार डलर दिने भए देऊ नत्र नतिजा राम्रो हुन्न भनेर धम्की दिए । उनले आफ्नो नाउँ ‘जो’ भनेर बताए । यसको २ दिनपछि प्रहरीले अदालतको फैसलाको बावजुद एरोलमाथिको दुइटै बलात्कारको घटनाको पुनः छानबिन गर्ने घोषणा गरे ।

प्रहरीको यो रबैया देखेर वकिलले एरोललाई वरिष्ठ अधिवक्ता गिसलरको सहयोग लिने सल्लाह दिए । मुद्दा ५ महिनासम्म चल्यो । यसबीचमा गिसलरले एरोलसित तिमीले अपराध गरेकै हो ? भनेर एकपटक पनि सोधेनन् । बरु उनले जासुसमार्फत सूचना संकलन गरे । मुद्दा चल्दै जाँदा एरोलले आफूमाथि मात्र संकट आइलागेको नभै सिंगो हलिउड क्षेत्रलाई नै एउटा समूहले हायलकायल बनाउन खोजिरहेको थाहा पाए । तर, त्यतिञ्जेलमा विश्वभरि उनको बेइज्जती हुनसम्म भइसकेको थियो । हुँदा–हुँदा उनलाई लिएर सयौं अश्लील ठट्यौली बने । चाहिने–नचाहिने हल्ला विश्वभर फैलिन शुरु भयो । रेडियो र टेलिभिजनका हास्यकलाकार उनको चरित्रलाई जोडेर हसाउन थाले ।

उनी विवाहित तर प्राविधिक हिसाबले अविवाहित थिए । रंगीन जीवन जिउँदै थिए । उनको पछि लाग्ने युवतीहरूको संख्या दिनानुदिन बढिरहेको थियो, चाहेर पनि उनले पिछा छुडाउन सकिरहेका थिएनन् । सबै तयारीपछि गिसलरले एकदिन उनलाई सिकाए कि जिल्ला सरकारी न्यायाधिवक्ताले युवतीसित सम्बन्ध बनाउँदै हिँड्नु तिम्रा लागि लज्जाको कुरो हैन भनेर भन्ने बेलामा तिमीले भन्नु कि ‘प्रेम र अभिनय म स्टुडियोभित्र मात्र गर्छु बाहिर गर्दिनँ ।’

अदालतले १२ जनाको ज्युरी गठन ग¥यो, जसमा ९ जना महिलालाई राख्यो । पैगीको तर्फबाट बहस गर्ने वकिलले एरोलले झुक्याएर पैगीसँग शारीरिक सम्बन्ध बनाएको दलिल दिए । गिसलरका अनुसार युवतीको उमेर २४–२५ थियो तर कम उमेरको देखाउन उनले कपाल दुई चुल्ठी बाटेकी थिइन् । फ्रक लगाउने गरेकी थिइन् । गिसलरले मिजासिलो स्वरमा पैगीलाई सोधे कि मसित एउटा फोटो छ, यो हेरेर भन्नुस् कि फोटो तपाईंकै हो ? फोटो हेरिसकेपछि पैगीले भनिन् ‘हो यो मेरै फोटो हो ।’ गिसलरले हाँस्दै फेरि सोधे, ‘के तिमी सधैँ यस्तै लुगा लगाउँछौ जुन अहिले लगाइरखेकी छौ?’ पेग्गीले भनिन्, ‘हो, कहिलेकाहीँ मन लागेका बेला लगाउँछु ।’

गिसलरले सो फोटो ज्युरीसमक्ष पेश गरे । फोटोमा पैगी अर्धनग्न थिइन् । एकदम छोटो र जालिदार वस्त्रमा । ज्युरीका अधिकांश सदस्य महिला भएकाले उक्त फोटोले उनीहरूलाई निकै प्रभावित ग¥यो । तर, पैगीले एरोलले जे गर्‍यो आफ्नो सहमतिबिना गरेको जिद्दी गरिरहिन् । गिसलरले कोठाको नक्सा बनाएर बलात्कारको कुनै गुञ्जाइस नभएको प्रमाण पेश गरे । उनले दुवै युवती आफ्नो इच्छाअनुरूप नै एरोलसँग सुतेको किनभने दुवै जना चलचित्रमा राम्रो भूमिका चाहन्थे । युवतीहरूले यसो गर्नु चलचित्र क्षेत्रमा नौलो कुरो नभएको दलिल पेश गरे । एरोलले अदालतले आफूमाथि कैद सजायँ सुनाएमा कसैलाई केही नभनी खुसुक्क जहाजमा बसेर अमेरिकाबाट बाहिर जाने सोचिसकेका थिए । गिसलरले बेट्टीलाई उनले लगाएको आरोप सिद्ध नभएमा उल्टो उनी ४ वर्ष जेल जानुपर्ने चेतावनी दिए । उनको चेतावनीबाट बेट्टी डराइन् र उनले आरोप मिथ्या भएको साविती बयान दिइन् । गिसलरको प्रश्न ‘एरोलले बलात्कार गर्न खोज्दा तिमीले बिरोध गर्‍यौ? मा बेट्टीले सिधै त्यसो नगरेको जवाफ दिइन् । बेट्टीको जवाफ ज्युरी सदस्यलाई प्रभाव पार्न पर्याप्त बन्यो । यसैको आधारमा ज्युरीले एरोल निर्दोष भएको निर्णय सुनायो ।

एरोलले बल्ल सन्तोषको श्वास फेरे । उनले सोचे गिसलरले कम्तीमा १ लाख डलर पारिश्रमिक माग्नेछन् । तर गिसलरले उनले अनुमान गरेभन्दा आधी ५० हजार मात्र मागे । तर विडम्बना त्यतिञ्जेलमा एरोल आर्थिक, शारीरिक र भावनात्मक सबै दृष्टिबाट खोक्रो भइसकेका थिए । उनीसित ५० हजार दिनसमेत पैसा थिएन । उनको क्यारियर भताभुंग भइसकेको थियो । उनलाई अमेरिका बस्नै मन लागेन र युरोपतिर लागे । केही चलचित्र खेले ५ वर्षपछि पुनः हलिउड फर्के । उनको अन्तिम फिल्म ‘क्यबा स्टोरी’ थियो, जुन सन् १९५९ मा प्रदर्शन भएको हो ।

उनको निधन उक्त फिल्म प्रदर्शनमा गएको केही समयपछि नै सोही वर्षको अक्टोबरमा भयो । निधनको समय उनको आर्थिक अवस्था जर्जर बनिसकेको थियो । निधनको २ वर्षपछि फेरि ‘दि बिग लभ’ पुस्तकका लेखिका फ्लोरेन्स एड्ल्याण्डले एरोलले आफ्नी १५ वर्षकी छोरी बेभर्ली एडल्याण्डलेसँग यौन सम्बन्ध राख्ने गरेको खुलस्त पारिन् । अभिनेत्री बेभर्लीले पनि पछि १९९६ मा यो कुराको पुष्टि गरिन् । उनले पहिलो भेटमै एरोलले आफूलाई शारीरिक सम्बन्ध राख्न बाध्य पारेको बताइन् । उनी एरोलकी अन्तिम प्रेमिकाको रूपमा पनि चिनिन्छिन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू