अपराध जगतमा एक युवतीको आतंक

अपराध जगतमा एक युवतीको आतंक

ओनी भर्जिनिया हिलको जन्म अमेरिकाको अलाबामा राज्यमा भयो । परिवार गरिब थियो भने बाबु नामी जँड्याहा । उनैका १० जना छोराछोरी थिए । दिनहुँ रक्सीले मातेर घर फर्कन्थे र स्वास्नीमाथि हातपात गर्थे । आमालाई बचाउन जाँदा छोराछोरी पनि कुटाइमा पर्थे । दिनहुँको मारकाट अनि गरिबीमा पिल्सिनु परेपछि ओनीकी आमाले बिद्रोह गरिन् । तर झन् अत्याचारमा परिन् । अन्त्यमा, बूढोलाई छोड्ने निधो गरिन् र स–साना छोराछोरी च्यापेर जर्जियातर्फ लागिन् । त्यसबेला ओनी ८ वर्षकी थिइन् ।

उनी १० मध्येको सातौं सन्तान थिइन् । गरिबीकै कारण ८ कक्षासम्म मात्र पढ्न पाइन् । र, १५ वर्षकै उमेरमा १६ वर्षका जर्ज राण्डलसँग बिहे भयो । बिहेलगत्तै सिकागो पुगे । त्यहाँ पुगेर अश्लील चलचित्रमा काम गर्ने योजना थियो । शुरुमा उक्त पेशामा लागे पनि । तर, छिट्टै ओनीले लोग्नेसँग झगडा गर्न थालिन् । नभन्दै बिहे गरेको तीन वर्षमै सन् १९३४ मा अलग्गिए । लोग्नेबाट अलग्गिएपछि एउटा रेष्टुराँमा वेटरको काम गर्न थालिन् । उक्त रेष्टुराँ गुण्डाहरूद्वारा सञ्चालित थियो । त्यहाँ काम गर्दै ग्राहकसित सुत्न पनि जान थालिन् । आम्दानी मनग्ये हुँदै गयो । वेश्यावृत्तिमा लाग्दै गर्दा जुवाडे र सट्टेबाज जोसेफ इप्स्टाइनको नजर प¥यो । जोसेफ निकै धनी थिए । उनले ओनीलाई आफ्नो आर्थिक सल्लाहकार बनाए । काम गर्ने सिलसिलामै ओनी उनको प्रेमिका बन्न पुगिन् । यद्यपि, जोसेफको बढी ध्यान समलिंगीतर्फ जान्थ्यो ।

अन्ततोगत्वाः वेश्यावृत्तिमा लाग्दालाग्दै ओनी अपराधीहरूको संगतमा परिन् र अमेरिकी–इटालियन अपराधीहरूको संगठन ‘सिकागो आउटफिट’ को सदस्य बन्न पुगिन् । कहिले कुन त कहिले कुन संगठनका नेताहरूको रखैल बन्दै गइन् । साथै, अपराधीहरूको सन्देश आदानप्रदान गर्ने जिम्मेवारी पनि निभाइन् । सरकारी वकिलहरूकै अनुसार पनि संगठित अपराधीहरूमाझ उनी एक ‘केन्द्रीय क्लियरिङ हाउस’ नै बन्न पुगिन् । त्यसबेला सिकागो आउटफिटका मुखिया थिए –अल क्यापोने । लामो खुट्टा भएकैले क्यापोनेले उनलाई फ्लेमि¨ नामले बोलाउँथे । दुवै जना प्रेममा पागल बने । स्मरणीय छ, उनले ७ वर्ष अपराधजगतकै ‘बोस’ बनेर काम गरे र ३३ वर्षको उमेरमा जेल गए । उनले सन् १९२९ मा सेन्ट भ्यालेन्टाइन्स डेको दिन अर्को अपराधी ग्या¨को सफाया नै गरेका थिए । 

ओनी पछि अल क्यापोनेका अंगरक्षक चाल्र्स फिसेटीको खास सहायिका बनिन् । त्यसबेला न्युयोर्क शहरको अपराधमा जोए अडोनिसको राज थियो । फिसेटीले ओनीलाई जोएले मच्चाइराखेको अपराधको सूचना संकलन गर्न न्युयोर्क पठाए । ओनी जोएको संगठनमा जसोतसो घुस्न सफल भइन् र जोएलाई रिझाएर उनैको प्रेमिका बन्न पुगिन् । उनले सबैलाई आफू दक्षिण बेलेनिवासी भएको, उनले एकसे एक ४ धनी व्यक्तिसित बिहे गरेको र चारै जना लोग्ने कोही मरिसकेको त कसैसित सम्बन्धविच्छेद गरिसकेको बताउँदै हिँडिन् । उनका अनुसार प्रत्येक लोग्नेतर्फबाट १० लाख डलर पाएकी थिइन् । साथै, ब्रोडवे सडकमा पेशा गर्ने पुरुष वेश्याहरूको एउटा समूह पनि बनाइन् । उनले मनी लन्ड्रिङ र आपराधिक संगठनका लागि नगद बोक्ने कार्य गरिन् । मेक्सिकोबाट लागुऔषध तस्करीका मार्गहरू सेट गरिन्, त्यहाँ आफ्नो सम्पर्क र यौनसम्पर्क प्रयोग गरेर लागुपदार्थको तस्करी संयन्त्र स्थापित गरिन् ।

त्यहीँ रहँदै एक दिन उनको भेट बादशाह मानिएका अर्को आपराधिक समूहका नाइके बेञ्जामिन ‘बग्सी’ सिगलसित भयो । अवैध मदिराको बिक्री, सट्टेबाजी, लुटपाट, हत्यामा संलग्न । चिनजान भएको एकछिनपछि नै एउटा होटलमा दुबैले रात बिताए । सिगलले लासभेगासमा आपराधिक गतिविधि सञ्चालन गर्थे । आवाज र प्रकाश नफालिकनै  पड्कने एक प्रकारको बिस्फोटक पदार्थ पनि स्मगलिङ गर्थे । उक्त पदार्थको प्रमुख ग्राहक इटलीका फासिष्ट नेता बेनिटो मुसोलिनी पनि थिए । मुसोलिनीले ती पदार्थ उनीसित किनेर हिटलरको जर्मनीलाई दिन्थे । सिगल निकै ह्याण्डसम थिए । अपराध जगतका भए पनि अमेरिकी महिला उनको पछाडि मरिमेट्थे । उनी पनि महिलाप्रेमी थिए । यस्तो व्यक्तिसित ओनीको प्रेम भयो । दुवै सार्वजनिक तवरमै ‘हट’ पोज दिँदै हिँड्थे । सिगल विवाहित थिए तर उनले ओनीसित बिहे गर्न आफ्नी पत्नी एस्तालाई कानुनी रुपमै सम्बन्धविच्छेद गरे । तर, सिगल र ओनीले बिहे नै गरेको कुनै प्रमाण भने भेटिँदैन । जे होस्, दुई जना अपराधी सिगल र ओनीको प्रेम कथालाई लिएर हलिउडमा धेरै सिनेमा निर्माण भएका छन् । सिगलले लास भेगासमा ओनीको नाउँमा एउटा रिसोर्ट पनि चलाएका थिए ‘फ्लेमि¨’ नामक ।

सन् १९४७ को जुन २० मा सिगल बेभर्ली हिल्सस्थित घरमा सुतिरहेका थिए । राति झ्यालबाट अपरिचित बन्दुकधारीले चलाएको गोली लागेर उनको मृत्यु भयो । टाउकोमा २ वटा गोली लागेको थियो । हत्या हुनु ४ दिनअगाडि मात्र उनले प्रेमिका ओनीका लागि क्यालिफोर्नियामा एउटा घर किनिदिएका थिए । र, हत्या हुनु केही दिनअगाडि मात्र ओनी अकस्मात पेरिसतर्फ उडेकी थिइन् । यसकारण धेरैले सिगलको हत्यामा उनको संलग्नता देख्ने गरेका छन् भने कतिपयले हत्यामा उनको संलग्नता नभए पनि अर्को आपराधिक संगठनले उनको हत्या गर्दै छ भन्ने जानकारी उनलाई दिएको हुनुपर्ने अड्कल काटेका छन् ।

उनले सिगलको हत्या गरिएको ३ वर्षपछि सन् १९५० मा हान्स हाउजरसँग बिहे गरिन् । स्की खेलाडी हान्स अष्ट्रियाका थिए । पछि ओनी एक छोरोको आमा बनिन् । सन् १९५१ मा टाइम पत्रिकाले उनलाई ‘आपराधिक संगठनकै रानी’ को रुपमा प्रस्तुत गरेको थियो । उनले आपराधिक गतिविधि गरेरै अकुत सम्पत्ति कमाइन् । सन् १९५४ मा अमेरिकी सरकारले अवैध रुपमा सम्पत्ति आर्जन गरेकाहरूमाथि धावा बोल्यो । उनको नाउँमा पनि सरकारले वारेन्ट जारी भयो । केही दिन लुकेर बसिन् अनि मौका मिल्नेबित्तिकै छोरो पिटरलाई च्यापेर युरोपतिर भागिन् । सरकारले उनको घर र भाग्दा लान नपाएको गरगहना, महँगो लुगाफाटा कब्जा गरी लिलाम ग¥यो ।

उनको निधन ४९ वर्षको उमेरमा अष्ट्रियाको साल्जवर्गमा सन् १९६६ मा भयो । निद्रा लाग्ने औषधिको चक्की धेरै खाएर सुतेकी थिइन् । यद्यपि, उनको मृत्युलाई शंकाको घेरामा राखेर पत्रपत्रिकाले धेरै समाचार लेखे । पत्रिकाले उनको गुण्डा नाइके सिगलसितको सम्बन्धलाई जोड्दै अमेरिकी माफिया ग्याङहरूबाट उनले धेरै पैसा लिने गरेको प्रकाश पारे । उनको आपराधिक जीवनलाई लिएर अमेरिकी टेलिभिजनमा सिरियलसमेत बनेको छ भने सन् १९९१ मा त फिल्म नै बनेको थियो– ‘बग्सी’ । लेखिका एन्डी एडमोण्डले एउटा पुस्तक लेखेकी छन्– ‘दि सिक्रेट लाइफ अफ मोब क्विन भर्जिनिया हिल’ । ओनीलाई आपराधिक दुनियाँकै चलाख, मजाकिया, ग्लैमरस, घातक महिलाको रुपमा हेर्ने गरिएको छ । उनको सौन्दर्य देखेर सबै अपराधी हैरान हुन्थे । उनी महँगो पहिरन र गहनामा सजिएर हिँड्थिन् । उनले यसैलाई आफ्नो पहिचान बनाइन् ।

उनको नाम अमेरिकाको लगभग प्रत्येक घरमा लिइन्थ्यो, महिलाहरू उनलाई घृणा गर्थे भने पुरुषहरू सपनामा देख्न रुचाउँथे । अपराधी हुन्, कुख्याती हुन् भनेर थाहा पाउँदा पाउँदै उनीप्रति अपराधीका नाइकेहरू मात्र फिदा भएनन्, हलिउड फिल्म अभिनेताहरू पनि लहसिए । उनलाई मन पराउनेमध्ये प्रमुख रुपमा लोकप्रिय अभिनेताहरू एरोल फ्लिन, भिक्टर मातुरे, जेन क्रुपाहरू थिए । ओनीलाई अपराध जगत र प्रहरी दुबैको आन्तरिक कुरो धेरै थाहा थियो । उनले चाहँदा गुण्डाहरूका नाइके र गुण्डाहरूको समूहलाई नष्ट–ध्वस्त पार्न सक्थिन् ।

तर त्यसो गरिनन् बरु आफैँ अपराधमा संलग्न भएर लाभ उठाउनुसम्म उठाइन् । आकर्षक जिउडाललाई उपयोग गरी गुण्डा नाइकेहरूको विश्वासपात्र बनिन् । छोटो समयमै ग्या¨को उपल्लो तहमा पुगिन् । उनीसित पैसा चोर्ने र धनमाल लुट्ने सीप पनि थियो । २० औं शताब्दीका अमेरिकी कुख्यात गुण्डा नाइकेहरू मेयर ल्यान्स्की, फ्रान्क कोस्टेल्लो, जोनी रोसेली, चाल्र्स फिसेटी, टोनी अकर्डो, फ्रान्क नीति, वोलियम एडरम्यान, जैक ड्राग्ना, जोए अडोनिस, फ्रान्क कोस्तेलो, सबैभन्दा कुख्यात मानिएका बेन्जामिन बग्सी सिगलहरूको भीडमा आफ्नो छुट्टै स्थान बनाउन सफल भइन् ।
 

टिप्पणीहरू