मीठा धुन तर अत्यन्त दुःखी मन

मीठा धुन तर अत्यन्त दुःखी मन

चैन से हमको कभी, आपने जिने ना दिया, 
जहर भी चाहा अगर, पिना तो पिने ना दिया ।

चाँद के रथमें रात की दुल्हन, जब जब आएगी
याद हमारी आपके दिलको तडपा जाएगी
प्यारके जलते जखमों से, जो दिल में उजाला है
अब तो बिछडके और भी ज्यादा बढने वाला है 

आपने जो है दिया, वो तो किसीने ना दिया
जहर भी चाहा अगर, पिना तो पिने ना दिया ।

आपका गम जो इस दिलमें, दिन रात अगर होगा
सोचके ये दम घुटता है, फिर कैसे गुजर होगा
काश ना होती अपनी जुदाई, मौत हि आ जाती
कोई बहाने चैन हमारी, रूह तो पा जाती
इक पल हँसना कभी, दिल की लगी ने ना दिया
जहर भी चाहा अगर, पीना तो पीने ना दिया ।।

यो गीत आशा भोंसलेले गाएकी हुन् सन् १९७४ मा रिलिज भएको हिन्दी चलचित्र ‘प्राण जाए पर बचन न जाए’ को लागि । संगीतकार थिए ओ. पि. नैयर अनि रचनाकार एस.एच. (सम्सुल हुडा) बिहारी । बिहारी उनै हुन् जसले सन् १९५४ मा प्रदर्शित चलचित्र ‘शर्त’को लोकप्रिय गीत ‘न ये चाँद होगा न तारे रहेंगे, मगर हम हमेशा तुम्हारे रहेंगे’ गीत लेखेका थिए । चलचित्रका सबै ६ वटा गीत आशा भोंसलेले गाएकी थिइन् ।  संगीतकार नैयरका पछिल्ला सबै चलचित्रमा महिला स्वर आशा भोंसलेकै हुने गरेको थियो । उनले सन् १९५१ देखि १९९४ सम्म कूल ७६ वटा चलचित्रमा संगीत हाले तर कुनै एउटा गीत पनि लता मंगेशकरलाई गाउन दिएनन्, जबकि लता त्यो बेला गायिका नम्बर १ बनिसकेकी थिइन् ।

सन् १९७५ मा आयोजित फिल्म फेयर अवार्ड वितरण कार्यक्रममा ‘चैनसे हमको कभी, आपने जिने ना दिया, जहर भी चाहा अगर, पिना तो पिने ना दिया’ को निम्ति आशा भोंसले सर्वश्रेष्ठ गायिका घोषित भइन् । अवार्ड लिन उनलाई दुई पटक बोलाइयो तर कार्यक्रममा उपस्थित नै भइनन् । उनको अनुपस्थितिमा गीतका कम्पोजर ओपी नैयरले निकै उत्साह र आदरसाथ पुरस्कार ग्रहण गरे र कार्यक्रम नसकिँदै हलबाट बाहिरिए । सँगै रचनाकार एस.एच. बिहारी पनि निस्के । दुबैजना घरतर्फ लागे । गाडी रातको समय सडकमा हुइँकिन थाल्यो । स्पिडले थाहा हुन्थ्यो कि भित्रको वातावरण ठीक छैन । सुनसान सडकमा पुगेपछि नैयरले गाडी रोके । अवार्ड उठाए र त्यसलाई एकटक हेरे अनि सिसा खोलेर परसम्म हुत्याइदिए । फिल्म फेयर अवार्ड जित्न चलचित्रकर्मीले केसम्म गर्दैनन् तर नैयरले पाएको अवार्ड पनि फ्याँकिदिए । जुन एउटा बत्तीको पोलमा ठोक्कियो । टुक्रिसकेको अवार्डतिर देखाउँदै सँगै बसेका बिहारीलाई भने ‘यसैगरी उसले मेरो दिल तोडेकी थिई, नाउ सी इज आउट अफ माइ लाइफ ।’

जसरी त्यो अवार्ड चकनाचुर भयो त्यसैगरी उक्त घटनापछि नैयरको जीवन पनि छियाछिया भयो । किनभने यसपछि उनले कहिल्यै प्रगति गर्न सकेनन् न व्यावसायिक जीवनमा, न निजी जीवनमा । त्यसो त निजी जीवन डाँवाडोल बनेपछि व्यावसायिक जीवन सुधार्नतर्फ कसैको मन जाँदैन । ओपी अर्थात् ओमकारप्रसाद नैयरले पहिलो संगीत हालेको चलचित्र थियो ‘छम् छमा छम्’ । त्यो बेला गीतादत्तको बोलवाला थियो फिल्मी गायनमा । उनैले नैयरलाई आफ्ना निर्देशक पति गुरुदत्तकोमा लगेर फिल्ममा संगीत भर्न लगाउन सिफारिस गरेकी हुन् । गुरुदत्तले आफ्नो फिल्म ‘आरपार’, ‘मिष्टर एण्ड मिसेज ५५’ र ‘सिआइडी’मा मौका दिए । तीनै फिल्म सफल भए भने गीतहरू सबै सुपर हिट । नैयरको जताततै माग हुन थाल्यो र उनले भटाभट फिल्ममा संगीत भर्दै गए । शुरुका दिनमा सबै गीत गीतादत्त, सम्साद बेगम, मोहम्मद रफीलाई गाउन लगाए । एकपछि अर्को हिट गीत दिन थालेपछि त्यसबेलाको लोकप्रिय हिरोइन मधुबाला ठूलो प्रसंशक बनिन् । उनले निर्माता, निर्देशकलाई आफूले अभिनय गर्ने चलचित्रमा नैयरलाई संगीत भर्न दिए पारिश्रमिक आधा मात्र लिने घोषणा नै गरिदिइन् । फलस्वरुप मधुबाला अभिनीत ६ वटा चलचित्र उनले हात पारे ।

आशा भोंसलेले सन् १९४८ देखि नै फिल्ममा गाउन थालिसकेकी थिइन् । तर, लता, गीतादत्त, सम्साद बेगमले बेफुर्सदको कारण गाउन समय दिन नसकेका वा गाउँदिन भनेर छाडेका गीत मात्र गाउने मौका पाउँथिन् । उनी हिन्दी फिल्मी क्षेत्रमा जम्न ठूलै संघर्ष गर्दै थिइन् । त्यसैले पनि हातमा परेको मौका छुटाउँदैनथिन् । उनी गीतलाई सानो ठूलो मान्दिनथिन् । यसबीच, सन् १९५८ मा नैयरसँग मेल भयो । त्यसो त उनीहरूको भेट १९५२ मै भइसकेको थियो तर पछिल्लो भेट दुवै जनाका लागि ‘लाभदायी’ सिद्ध भयो । नैयरले प्रत्येक फिल्ममा आशालाई मौका दिए । नैयरको संगीत र आशाको जादुमयी आवाजले हिन्दी चलचित्र जगतमा अलग धारका गीत सिर्जना भए । नैयरको संगीतमा गीत गाउन थालेपछि आशा दिदी लता मंगेशकरलाई टक्कर दिने गायिका बनिन् । अन्य गायिका पाखा लाग्दै गए ।

नैयर र आशाले धेरै फिल्ममा मिलेर काम गरे । लामो समय सँगै काम गर्ने सिलसिलामा कहिले प्रेममा बाँधिन पुगे चालै पाएनन् । चलचित्रबाहेक सबैतिर सँगसँगै देखिन थाले । नैयर त्यसबेला भारु. १ लाख पारिश्रमिक लिने एक मात्र संगीतकार थिए । उनीसित महँगो महँगो गाडी थियो । ती गाडीमा दुबैजना खुलेआम घुम्न थाले । नैयर विवाहित थिए भने आशाको सम्बन्धविच्छेद भइसकेको थियो । नैयर ३ छोरी र १ छोराका पिता, आशा ३ छोराछोरीको आमा । नैयरकी पत्नी सरोज स्टेजमा नाच्थिन् । उनको र नैयरको भेट लाहोर रेडियो स्टेशनमा भएको थियो, जहाँ नैयर गीत गाउँथे । आशाले पनि १६ वर्षकै उमेरमा ३१ वर्षका आफ्ना निजीसचिव (कसै–कसैले उनकी दिदी लता मंगेशकरको निजीसचिव पनि भन्ने गरेका छन्) गणपतराव भोंसलेसित सन् १९४९ मा प्रेमविवाह गरेकी थिइन् । उक्त विवाहको कारण सबै दिदीबहिनीसित सम्बन्ध बिग्रियो । उता, बिहेपछि लोग्ने र घरका अन्य सदस्यले उनीमाथि दुव्र्यवहार गर्न थाले, लोग्ने स्वयंले उनको चरित्रप्रति शंका गरेपछि दुइटा बच्चा र पेटमा हुर्किरहेको तेश्रो बच्चासहित माइततर्फ लागिन् । 

पहिलो भेटको दुई वर्ष नपुग्दै आशा र नैयरको रोमान्सको खबरले मुम्बै फिल्मी नगरी पूरै ढाकिसकेको थियो । र, यही रोमान्स भोंसले दम्पती अलग्गिने पर्याप्त कारण बन्यो । सन् १९६० मा पति, पत्नी औपचारिक तवरमै छुट्टिए । जसले जति हल्ला र कुरो काटेर हिँडे पनि नैयर र आशाले कुनै परवाह गरेनन् । बिनाहिच्किचाहट सम्बन्धलाई अघि बढाउँदै लगे । आफूहरूबीचको सम्बन्धलाई लुकाएनन् । निजी सम्बन्ध सँगसँगै पेशालाई पनि अघि बढाउँदै लगे । फिल्मी क्षेत्रलाई एकसेएक लोकप्रिय गीत दिँदै गए । दुबैजना सफल संगीतकार र सफल गायिका बने । तर, यो कुरो एकदिन नैयरको परिवारभित्र प्रवेश गर्‍यो । ठूलै हंगामा मच्चियो । तैपनि, नैयर आशालाई छोड्न तयार भएनन् । फिल्ममा कूल ८ वटा गीत हुन्थ्यो भने ७ वटा आशालाई नै गाउन दिन्थे । उनले आशालाई नयाँ–नयाँ ढगंको गीत गाउन लगाए । अब आशा सबैखाले गीत गाउन सक्ने गायिकामा गनिन थालिन् । आशासमक्ष कामको कमी भएन । उनी काममा यतिबिघ्न ब्यस्त हुन थालिन् कि नैयरलाई समय दिन सकिनन् । आशाको कारण नैयरले एक्लो महसुस गर्न थाले । पेशालाई ध्यानै दिन सकेनन् । व्यावसायिकता ढलपल हुन थाल्यो । परिवारले मुद्दा हाल्यो । उता, आशा नयाँ तथा युवा संगीतकार राहुलदेव बर्मनसित नजिकिन थालिन् । आरडी बर्मनले नयाँ–नयाँ धून सिर्जना गरेपछि उनी र आशाको जोडी बन्दै गयो संगीतको दुनियाँमा ।

आशाको व्यस्तता यति बढ्यो कि नैयरसँग भेट बिरलै मात्र हुन थाल्यो । यसबीच ‘प्राण जाए पर बचन न जाए फिल्म बन्यो । यसमा पनि नैयरले आशालाई नै सबै गीत गाउन लगाए । तर, यो फिल्म तयार हुञ्जेलसम्म दुवैको सम्बन्ध यति धेरै बिग्य्रो कि आशाले आइन्दा सबैखाले सम्बन्ध त्याग्ने घोषणा नै गरिदिइन् । आफूले चर्चाको शिखरमा पुर्‍याइदिएकी आशाको ब्यवहारले नैयरको हृदयलाई निकै चोट पुर्‍यायो । नैयरले आशाको साथ पाएपछि जसरी गीतादत्तलाई बिर्से, त्यसरी नै आशाले आरडी बर्मनको साथ पाएपछि उनलाई बिर्सिन् । उता, यति नै बेला परिवारले पनि उनीसित छुट्टिएर बस्ने निधो गर्‍यो । उनी यता न उताको बने । पछि आशासितको सम्बन्धलाई लिएर पछुतो गरे पनि तर निकै ढिलो भइसकेको थियो । यसबीच उनले घर बेच्न खोजे तर परिवारले बेच्न दिएनन् । मुद्दा पनि हारे । परिवारले घरबाटै निकालिदियो । उनी घर, सम्पत्ति, बैंक ब्यालेन्स सबै छाडेर जुहु होटलको एउटा कोठामा बस्न थाले । त्यहीं भेटिएका पत्रकार शिशिरकृष्णका अनुसार नैयरले बारम्बार एउटै कुरा भन्थे । त्यो थियो– ‘म मरेपछि सबै उनीहरूकै त थियो तर पनि उनीहरूले मलाई घरबाट निकाले । मानिसहरू भन्थे– प्रेम अन्धो हुन्छ तर मेरो प्रेम अन्धो त थियो नै बहिरो पनि थियो । म आशाको स्वरमा यति धेरै पागल बनिसकेको थिएँ कि मेरो कानले उनको बाहेक अरुको स्वर सुन्नै छोडिसकेको थियो । मैले उनीबाहेक अरुलाई देख्नै छोडिसकेको थिएँ ।’

पछि एउटा घरमा पेइङ गेष्ट बन्न पुगे । उनको निधन सन् २००७ मा त्यही घरमा भयो । निधनको समय न उनीसित परिवार थियो न पैसा । उनको इच्छाअनुरूप अन्त्येष्टिमा परिवारको कुनै सदस्यलाई सामेल गराइएन । उनले आफ्नो संगीतमार्फत पाउने सबै रोयल्टीको पैसा आफू बस्ने घरको एउटी छोरीले पाउने गरी इच्छापत्र लेखेर मरे । उता, आफूलाई शिखरको चुचुरोसम्म पुर्‍याइदिने नैयरसित १४ वर्ष लामो रोमान्सलाई अनायासै टुंग्याएकी आशाले पछि सन् १९८० मा उनै आरडी बर्मनसित बिहे गरिन् । कूल १ हजार चलचित्रमा गरी करिब १४ हजार गीत गाएकी उनले केही नेपाली चलचित्रमा पनि गीत गाएकी छन् । अहिले ९० वर्षकी भइन् ।

टिप्पणीहरू