सहकारी बोर्डमा यतिसम्म लटरपटर

सहकारी बोर्डमा यतिसम्म लटरपटर

राष्ट्रिय सहकारी विकास बोर्डमा डरलाग्दो खिचडी पाकिरहेको छ । केही कर्मचारी नै बोर्डविरुद्ध लागेको पाइएको छ । कार्यालयको गोप्य कागज विपक्षीलाई उपलब्ध गराएर बोर्डलाई नोक्सानी पु¥याउने प्रपञ्च रचिएको छ । ललितपुरको लगनखेलस्थित कित्ता नम्बर ४२४ को ६–१२–०–० क्षेत्रफल जग्गामा भएको साझा किनमेल केन्द्र भवनको पहिलो तल्ला बोर्डले लिजमा दिने भनेर टेण्डर आह्वान गरेको थियो । 

लिजमा लिने प्रतीक ढकालसँग बोर्डले २०७८ वैशाख २ गते मासिक भाडा सात लाख १८ हजार पाँच सय तिर्नेगरी सम्झौता गरेको थियो । तर, कार्यान्वयनमा २५ दिनपछि अर्थात वैशाख २७ गतेबाट आयो । सो अवधिको रकम बोर्डलाई हानिनोक्सानी हुन पुग्यो । प्रतीकसँग मिलेका केही कर्मचारीले टेण्डर आफ्नो हातमा पारेर लगनखेलका व्यापारीलाई बेच्ने योजना बुने । तर, त्यसो नभएपछि एक महिनाको अवधिमै जेठ २ गते सम्झौता रद्दको निवेदन दिइहाले । एकातिर सम्झौता रद्दको निवेदन दिएको छ भनी बोर्डलाई भाडा नदिने, अर्कोतिर व्यापारीलाई लिजमा दिएर भाडा खाने चलखेल भएको छ । बोर्डको २०७९ जेठ ३ गते बसेको कार्यकारी समिति बैठकले २०७८ भदौ २ गतेबाट सम्झौता रद्द गर्ने र दफा १४ बमोजिम तीन महिनाको भाडा धरौटीबाट कट्टा गरी अपुग रकम प्रतीकलाई तिर्न लगाउने निर्णय गरेको थियो । 

सो बीचमा बोर्डले पटकपटक भाडाका लागि ताकेता गर्दा पनि उनले तिरेका थिएनन् । पैसा बुझाउनुपर्ने भएपछि प्रतीक बोर्डको निर्णयविरुद्ध करिब पाँच महिनापछि ललितपुर जिल्ला अदालत पुगे । ‘करारबमोजिमको रकम क्षतिपूर्ति पाऊँ’ भन्दै फिरादपत्र दायर गरे । सो फिरादपत्रमा सब सटर लिजमा लगाउन नसकेको र ढिला निर्णय गरी आफूलाई नोक्सानी पुर्‍याएकाले क्षतिपूर्ति पाउनुपर्ने उल्लेख छ ।

उता, उनले सब सटर लिजमा लगाई भाडा बुझेको प्रमाणबाट देखिन्छ । उनले आफूले लिजमा लिए पनि बोर्डले भाडा उठाएको भन्दै बोर्डका रसिद अदालतमा पेश गरेको पाइएको छ । यतिसम्म कि बोर्डका उपनिर्देशकले एउटा शाखालाई लेखेको पत्रको प्रतिलिपिसमेत उनको हात परेको छ । यसबाटै त्यहाँका कर्मचारीको पनि मिलोमतो छ भन्ने घामजस्तै छर्लंग भएको छ । बोर्डको रसिद दुरूपयोग गरेर भाडा उठाएका उनले नै अदालतमा बोर्डविरुद्ध मुद्दा दायर गर्दा लेखा शाखाका गोप्य कागजातहरू पनि संलग्न गरेको पाइन्छ । कर्मचारीले नै गोप्य कागजात अदालत पु¥याउन सहयोग गरेको स्रोतको भनाइ छ । 

प्रतीकले बोर्डको रसिद दुरूपयोग गरी भाडा उठाएर आफ्नो खातामा रकम जम्मा गरेको बैंक स्टेटमेण्ट भेटिएको छ । संस्था, कम्पनी र व्यक्तिले प्रतीकलाई नै भाडा रकम बुझाएको एभरेष्ट बैंककोे चेक र गतिशील सहकारीको नगदी रसिदलगायत प्रमाण फेला परेको छ । गतिशील सहकारीबाट भाडाबापत २०७८ असोज ११ गते एभरेष्ट बैंक लगनखेल शाखाको प्रतीकको नामको चेकमार्फत उनका भाइ प्रत्यक्ष ढकालले पाँच लाख ४० हजार रूपैयाँ झिकेको प्रमाणबाट देखिन्छ । त्यसैगरी, तीन लाख ६० हजार नगदै रसिदबाट प्रतीकले हस्ताक्षर गरी बुझिलिएका छन् । अन्य सटरहरूबाट पनि नगद र चेकबाट रकम बुझिलिएको प्रमाणबाट देखिन्छ । 

बोर्डको रसिद कसरी प्रतीकको हातमा पुग्यो ? यसमा माथिल्लो तहकै कर्मचारीको मिलीभगत भएको प्रष्टै छ । लेखा र प्रशासनका एकाध कर्मचारीले विपक्षीलाई खुरुखुरु गोप्य डकुमेण्ट दिँदा बोर्डले आफूविरुद्ध अन्य मुद्दा पनि हार्ने सम्भावना देखिएको स्रोत बताउँछ । यता, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यसविषयमा एक चरणको छानबिन सकाएको विस्तृत छानबिनका लागि अख्तियारलाई पत्र लेख्ने तयारी गरेको बुझिएको छ । अख्तियारमा पनि बोर्डका कर्मचारीको मिलेमतोमा भइरहेको अनियमितताविरुद्ध उजुरी परेको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)
 

टिप्पणीहरू