तीन दिनको प्रेम र आजीवनको तनाव

तीन दिनको प्रेम र आजीवनको तनाव

त्यसबेला चार्लीले चलचित्र जगत्मा पाइला टेकिसकेका थिएनन् । दक्षिण–पश्चिम लण्डनको स्ट्रेथामस्थित एम्पायर नाटकघरमा काम गर्थे । सोही नाचघरमा हेटी केली नामक केटी पनि काम गर्थिन् । नाचघरका मालिक फ्रेड कार्नोको एउटा शोमा दुबैले सँगै काम गर्ने मौका पाए । केली गायन समूहको सदस्य थिइन् भने चार्ली जँड्याहाको पात्रमा थिए । रिहर्सल चल्दै गर्दा पहिलो पटक देखादेख भयो । चार्लीलाई देख्नेबित्तिकै उनले आफूले समाइराखेको ऐना हातमा थमाइदिए अनि सोही ऐनामा हेर्दै आफ्नो कपाल मिलाउन थालिन् । एकछिनको घुलमिलपछि चार्लीले प्रस्ताव राखे– ‘यो आइतबार मसँग घुम्न जान्छौ ?’

कुरा सुनेर केली जोडसित हाँसिन् । अनि जवाफ दिइन्, ‘तिमीले आफ्नो नाकको चुच्चोमा रातो रंगको बल राखेका छौ, मलाई अहिलेसम्म यो पनि थाहा छैन कि जोकरको मेक अप पछाडिको तिम्रो असली अनुहार कस्तो छ !’ 

भोलिपल्ट चार्लीले आफ्नो फोटो देखाए । अनि बल्ल केली उनीसँग घुम्न जान राजी भइन् । आइतबार चार्ली चाहिनेभन्दा बढी नै उत्साहित थिए । शोको बीचमा घुम्न जाने तय भयो । बाटोभरि चार्ली केलीलाई प्रभावित पार्न कोसिस गर्दै गए । ठुल्ठूलो गफ, अनेक हाउभाउ गर्दै । केली बोलिनन्, खालि हाँसिरहिन् । चार्लीले उनलाई एउटा महँगो होटलमा लगे तर घरमा भर्खर खाएर आएको भन्दै केलीले केही पनि खान मानिनन् । घुम्दै टहल्दै उनीहरू थेम्स नदीको किनारमा पुगे । त्यहाँको रमणीय दृश्य हेरे, घुमे । केलीसितको सामीप्यले चार्ली यति धेरै प्रसन्न देखिए कि केलीलाई घर पु¥याएर पुनः नदी किनार पुगे र आफ्नो खल्तीमा जति पैसा थियो त्यो सबै त्यहाँ सुतिरहेका मगन्तेहरूलाई बाँडे । 

चार्लीले आफ्नी प्रेमिकाबारे जे–जति कल्पना गर्ने गरेका थिए, त्यो सबै उनले केलीमा देखे । ३ दिनसम्म उनीहरू नाचघरमा रहे भने फुर्सदमा बाहिर घुमे । चार्ली एकछिन पनि चुप बस्दैनथे, कुनै न कुनै प्रसंग कोट्याइरहन्थे । तर, चौथो दिन सबैथोक बदलियो । केलीको व्यवहार रुखो बन्यो भने उनी उदास देखिन थालिन् । एक्कासी केलीमा आएको परिवर्तन देखेर उदास हुँदै चार्लीले भने, ‘सायद तिमी मलाई माया गर्दैनौ क्यारे !’
केलीले जवाफ फर्काइन्, ‘तिमी १९ को, म भर्खर १५ को । हामीबीच धेरै अन्तर छ ।’ 

उनीहरूबीच निकै लामो संवाद भयो । कुरै कुरामा दुबैको स्वर ठूलो हुँदै गयो । चार्लीले पटकपटक एउटै कुरो सोधिरहे कि ‘तिमी मसित प्रेम गर्दिनौं ?’ चार्लीले यो सवाल जति पटक सोध्थे, केलीको जवाफ एउटै हुने गथ्र्यो– ‘मलाई थाहा छैन ।’ एउटै सवाल र एउटै जवाफपछि चार्लीलाई रिस उठ्यो । उनले भने ‘तिमीलाई थाहा छैन, यसको अर्थ तिमी मलाई प्रेम गर्दिनौ । उफ, धेरै भयो अब । आज अन्तिम दिन हो, हाम्रो भेटघाटको । आज पछि हामी कहिल्यै भेट्ने छैनौं ।’ 

यति भनेर उनी हिँडे । उनले सोचेका थिए केलीले उनलाई रोक्नेछिन् तर त्यस्तो केही भएन । केली चुपचाप उभिइरहिन् । चार्लीले पनि फर्केर हेरेनन् । उनी उदास मनले घर पुगे । घर पुगेर आफ्नो व्यवहारप्रति पश्चाताप गरे । भोलिपल्ट केलीको घर पुगे । ढोका केलीकी आमाले खोलिन् । चार्लीलाई देख्नेबित्तिकै रणचण्डी बनिन् र गाली गरिन् ‘तिमीले मेरी छोरीलाई के ग¥यौ, के भन्यौ, हिजो ऊ रुँदै घर आइपुगी । केही नखाइकनै रुँदारुँदै सुती । अब तिमी ऊसित भेट्न सक्दैनौ ।’

चार्लीले निकै अनुनय–विनय गरेपछि बल्ल केलीसँग भेट्न दिइयो । रातभर रोएकाले होला, आँखा सुनिएको थियो । उनी उदास थिइन् । अनुहारमा पीडा साफ झल्किएको थियो । केलीको त्यस्तो अवस्था देखेपछि चार्ली एकछिन अक्क न बक्क बने । के भन्ने के नभन्ने सोच्नै सकेनन् । गला अवरुद्ध पार्दै एउटै कुरो दुईपटक दोहो¥याए– ‘म फेरि एकचोटि तिमीलाई अलबिदा भन्न आएको ।’ दुबैपटक केलीले भनिन् ‘ठीक छ, अलबिदा ।’

चार्ली केलीको घरबाट बाहिरिए । उनले पछाडिबाट विस्तारै ढोका बन्द भएको आवाज सुने । सन् १९०८ को कुरो हो यो । यसपछि चार्ली र केलीको कहिल्यै भेट भएन । तर, ३ दिनको केलीसितको उक्त प्रेम जीवनभर बिर्सन सकेनन् । उनको जीवनमा केलीको पातलो सर्लक्क परेको शरीर, सुडौल र अण्डाकार अनुहार, गुलाबको पत्र जस्तो पातलो ओंठ अनि सुन्दर सेता दाँत हाबी भइरह्यो । पछि चार्ली चार्ली च्याप्लिनको नाउँले हाँस्य अभिनेताको रूपमा विश्वविख्यात बने ।

धेरै चलचित्रमा अभिनय गरे । तर सबै चलचित्रका अभिनेत्रीलाई एउटा कुरो गर्न लगाए, त्यो हो, केलीजस्तै हिँड्ने र आँखा झिम्क्याउने कला । उनले जिन्दगीभर केलीमाथि आफूले गरेको व्यवहारलाई लिएर मन दुखाइरहे । उनलाई लागिरह्यो कि ‘३ दिनमै तिमीसित कति धेरै प्रेम गर्न थालेँ भनेर मैले बताउन सकिन ! आफ्नो भावना व्यक्त गर्नुको साटो किन बारम्बार तिमी मलाई प्रेम गर्दैनौं ? भनिरहें, जुन कुरो आफँैले भन्नुपयो । यो कुरो केलीको मुखबाट सुन्ने आशा गरिरहनु मेरो केटाकेटीपनबाहेक केही थिएन ।’

चार्लीले यसरी आफ्नो पहिलो प्रेम केटाकेटी पाराले गुमाउन पुगे । बिनासोचविचार एकै प्रहारमा ती सबै पुल भत्काइदिए जसबाट हिँडेर उनी फेरि केलीको नजिक पुग्न सक्थे । ७५ वर्षको उमेरमा सन् १९६४ मा चार्लीले आफ्नो जीवनीकथामा लेखे, ‘यद्यपि मैले उनीसित पाँच पटक भेटेको थिएँ तर हाम्रो कुनै पनि भेटघाट बीस मीनेटभन्दा लामो थिएन, त्यो छोटो भेटले मलाई लामो समयसम्म असर गरिरह्यो । सन् १९२१ मा अमेरिकी सुपरस्टार बनेर लण्डन फर्केपछि थाहा पाए कि केलीको त ३ वर्ष पहिल्यै निधन भइसकेको रहेछ । 

३ दिनको केलीसितको असफल प्रेमपछि उनी साँचो प्रेम पाउन छट्पटाइरहे । एक समय धेरै युवती उनको नजिक पुग्न लालायित भए । उनी भने १८ वर्षभन्दा कम उमेरका युवतीतिर मात्र झुकाव राख्थे । प्रायः उनीहरूसँग सम्बन्ध बनाउँथे र पछि छाडिदिन्थे । एकपटक एक जना पत्रकारले सोधे कि तिम्रो आइडल महिला को हुन् ?’  प्रश्नको जवाफमा उनले भने ‘सायद म उनलाई प्रेम गर्दिनँ तर उनी मेरो प्रेममा पागल छिन् ।’

उनलाई महिलाको सामीप्य मन पथ्र्याे । तर, कहिल्यै कुनै महिलामाथि भरोसा गरेनन् । महिलाप्रतिको यो रवैया उनका चलचित्रमा देख्न सकिन्छ । तर, रिल र रियल लाइफमा रवैया फरक देखियो । ४ पटक त बिहे नै गरे । ११ सन्तानको बाबु बने । धेरै महिलासित सम्बन्ध बनाए तर प्रायः सबै सम्बन्धमा बिबाद देखाप¥यो । उनका तीनै जना पत्नीले बाहिर सम्बन्ध बनाउँदै हिँडेको आरोप लगाए । दोस्री पत्नी लिटा ग्रेले त उनलाई ‘सेक्स मेसिन’ नै भनिन् । तुलनात्मक रूपमा ऊना ओ’निलसित मात्र बढी तालमेल बस्यो । ऊनासँग प्रेम गर्दै दाम्पत्य जीवन जोडे । करिब ४० वर्ष ऊनासितै बिताए । सन् १९७७ मा उनको निधनको बेलासम्म ऊना साथमा थिइन् । चार्ली र ऊनाको प्रेमबारेको लेख ‘अन्तिम प्रेमको अतृप्त अध्याय’ जनआस्थाको २०७५ वैशाख ५ को अंकमा प्रकाशित छ । 

चार्लीसँग छुटेको ६ वर्षपछि केलीले सन् १९१५ मा सैनिक लेफ्टिनेन्ट एलान एडगर होर्नीसँग बिहे गरिन् । रोचक कुरो त के भने, बिहेको समय केली २१ की थिइन् भने एलान २६ का अर्थात् केलीले जति उमेरको फरक देखाई चार्लीको प्रेम प्रस्तावलाई लत्याएकी थिइन् उनको र एलानको उमेरमा पनि त्यति नै फरक थियो । बिहेपश्चात् पति÷पत्नी लण्डनको टिन्ले स्टेटस्थित एलानको घरमा बस्न थालेका थिए तर, एक्कासी त्यतिबेला चलेको रुघाखोकीको महामारीले केलीलाई पनि समात्यो । २४ वर्षको कलिलो उमेरमै उनको मृत्यु भयो ।

स्मरणीय छ, प्रथम विश्वयुद्ध समाप्तिसँगसँगै युरोपभरि रुघाको महामारी फैलिएको थियो । ‘स्पेनिस रुघा’ नाउँ दिइएको उक्त महामारीमा लगभग ५ करोडको ज्यान गएको थियो । चार्ली च्यापलिनले केलीबाट तिरस्कार पाएको १० वर्षपछि अर्थात् सन् १९१८ को जुलाईमा केलीको नाउँमा एउटा पत्र लेखेका पनि थिए तर त्यो बेला केली बिरामी भइसकेकी थिइन् । सन् १९९२ मा एउटा चलचित्र बनेको छ ‘च्याप्लिन’ । उक्त चलचित्रमा केलीको भूमिका अमेरिकी अभिनेत्री मोइरा केलीले निभाएकी छन् । उक्त चलचित्र महात्मा गान्धीको जीवनीमा बनेको ‘गान्धी’ का निर्देशक रिचर्ड एटेनबोर्गले निर्देशन गरेका हुन् । 
 

टिप्पणीहरू