अरुलाई दुखाएर रमाउने अचम्मको अपराधी

अरुलाई दुखाएर रमाउने अचम्मको अपराधी

जर्मनीमा जन्मेका पिटर कुर्तेन हेर्दा शालिन र भलादमी देखिन्थे तर महिला, पुरुष, बच्चा जसको पनि विभत्स हत्या गर्थे । उनमा ठूलो यौन विकार थियो । शिकार छट्पटाएर मर्दै गरेको देखेपछि अचम्मको आनन्द आउँथ्यो, स्वर्गीय यौनसुख प्राप्त गर्थे ।

मर्दै गरेको व्यक्तिको शरीरबाट रगत चुहिन थालेको देखेर स्खलित हुन्थे । उनले मानव मात्र होइन आनन्दको लागि पशु हत्यासमेत गरे । हत्याको अभियोगमा पटकपटक पक्राउ परे । अदालतले ९ पटक त मृत्युदण्डको सजायँ नै सुनायो । उनको अन्तिम इच्छा पनि गिलोटिन मेशिनबाट आफ्नो टाउको छिनाल्दाको समय रगत झर्दै गरेको आवाज सुन्नु थियो । उनलाई मृत्युदण्ड गिलोटिन मेशिनले टाउको काटेरै दिइयो । अपराध जगतमा उनी ‘ड्युसलडोर्फको पिशाच’ का नाउँले बदनाम छन् ।

कोलोन नगरको गरिब परिवारमा जन्मेका उनी १३ सन्तानमध्येका थिए । बुबा नामुद जँड्याहा, दिनैपिच्छे पत्नी र छोराछोरीलाई निर्दयी तरिकाले पिट्थे, यातना दिन्थे । १५ जनाको परिवार एउटै कोठामा सुत्थ्यो । दिनहुँ यौन हिंसा हुन्थ्यो, पत्नीमाथि बलात्कार र सबैजना केटाकेटी टुलुटुलु हेरी बस्थे । एकदिन १३ वर्षकी छोरीलाई पनि बलात्कार गरे । उनीहरू बस्ने घरको माथिल्लो तलामा अर्को एक जना पनि बस्थे ।

जसको कामै कुकुरलाई समाउने र यातना दिने हुन्थ्यो । उनले पिटरलाई पनि पशुमाथि कस्तो खालको पासविक अत्याचार गर्न सकिन्छ सिकाए । ९ वर्षको कलिलो बालक पिटरले बाबुले गर्ने यौन हिंसा र ती व्यक्तिले सिकाएको पशुवत व्यवहार छिट्टै सिके र लगत्तै स्कूलका दुई छात्रालाई पानीमा डुबाएर मारे । बिस्तारै उनमा यौन विकृतिको लत बस्यो । पशुहरूलाई निर्मम रुपमा चक्कुले रोपेर घाइते बनाउँथे, अनि मर्न छटपटाउँदै गरेको हेरेर स्खलित हुन्थे, यौन सन्तुष्टि लिन्थे । उनले प्रायः पशुसित यौन सम्बन्ध बनाउँदै गर्दा छुरा प्रहार गर्थे ।

यसबीच उनको भेट अगुस्टा सार्फ नामक वेश्यासित भयो । अगुस्टा उमेरमा उनीभन्दा दोब्बरकी थिइन् । उनी पनि यौन विकारबाट ग्रस्त । रुचि समान भएकै कारण दुवै छिट्टै नजिकिए । उनैको संगतमा लागेर पिटरको मन पशुबाट मानवतिर सर्‍यो । २ वर्षको प्रेमपछि पिटर र अगुष्टाले बिहे गरे । अगुष्टाका अनुसार पिटर उनलाई यौन सन्तुष्टि प्रदान गर्न सक्षम थिए । अपराध गर्ने क्रममै पिटर चोरीको आरोपमा २ वर्ष जेल परे । त्यहीं थप अमानवीय अत्याचार गर्न सिके । जेलबाट निस्केलगत्तै जंगलमा एउटी किशोरीमाथि बलात्कार र हत्याको प्रयास गरे ।

सन् १९१३ मा ३० वर्षमा पुगे । २५ मेका दिन एउटा धर्मशालामा १३ वर्षकी क्रिस्टिना क्लिनलाई सुतिरहेको अवस्थामा फेला पारे । बायाँ हातले डेढ मिनेटसम्म उनको घाँटी थिचे । दायाँ हातले खल्तीमा भएको सानो चक्कु झिके र गर्धनमा घोप्न थाले । अन्त्यमा सोही चक्कुले गर्धन काटिदिए । कृष्टिनाको गर्धनबाट रगतको धारा छुट्न थाल्यो र उनको हात रगतले लत्पतियो । हातमा लागेको रगत देखेर निकै रमाए । हत्या गर्न सिर्फ ३ मीनेट लगाएका थिए । भोलिपल्ट क्रिष्टिनाको हत्याको खबर चारैतिर फैलियो । उक्त खबर सुनेर उनी झन दंगदास भए । सानो बेलामा दुइटी बालिकालाई पानीमा डुबाएर मारेपछि यो नै उनको पहिलो हत्या थियो ।

सन् १९२९ को अगस्त २९ मा ड्युसलडोर्फको उपनगर फ्लेहमा मेला लागेको थियो । राति १० बजे ५ वर्षीया गरट्रुड हाम्सेर र १३ वर्षीया लुइसा लिजेन घर फर्कंदै थिए । झाडीमा लुकेर बसेका पिटरले लुइसालाई नजिक बोलाए र चुरोट किनेर ल्याइदिन भने । त्यतिञ्जेलमा बहिनीको हेरचाह आफूले गर्ने भने । लुइसा जब चुरोट किन्न गइन्, पिटर बच्चीलाई बोकेर झाडीमा गए । घाँटी थिचे र चक्कुले गर्धन छिनाइदिए । एकछिनपछि लुइसा फर्किन् र चुरोट दिइन् । पिटरले मौकाको फाइदा उठाउँदै लुइसाको गर्धन पक्रेर घिसार्दै झाडीभित्र लगे ।

लुइसा चिच्याउन खोजिन् तर पिटरले बच्चीलाई मारेकै चक्कुले उनको गर्धन पनि छिनाइदिए । यसको १२ घण्टा नबित्दै २६ वर्षीया गरट्रुड सुल्टलाई आफ्नो नाउँ फ्रिट्ज बौमगर्ट भएको बताएर घरसम्म पुर्‍याइदिन सक्ने बताए । बाटो जंगलमा पथ्र्यो । जब उनीहरू जंगलमा पुगे सुल्टमाथि बलात्कार गर्न खोजे । सुल्ट उनलाई धकेल्न सफल भइन् र बलात्कृत हुनुभन्दा मर्नु उचित ठान्छु भनिन् । पिटरले ‘त्यसो भए मर्न तयार होऊ’ भन्दै गर्धन, काँध र पीठमा चक्कुले हान्न शुरु गरे । सुल्ट पीडा सहन नसकी चिच्याइन् । धन्न, त्यसैबेला अरु मान्छे त्यहाँ आइपुगे र पिटर कुलेलम ठोके ।

पिटरको अपराध यतिले रोकिएन । छोटो समयमै १८ वर्षकी युवती, ३० वर्षीय युवक र ३७ वर्षीया महिलाको हत्या त्यसैगरी गरे । यी ३ जनाको हत्या मात्र आधा घण्टामा गरेका थिए । इडा रायटर र एलिजाबेथ डोरियरको हत्या हथौडाले हानेरै गरे । मात्र ५ वर्षको बालक गरट्रुड एल्बरमैनलाई फलफूल काट्ने छुराले मारे । बालकको शरीरमा कूल ३६ वटा घाउ थियो । यी सबै हत्या उनले फ्रिट्ज बौमगर्टको नामबाट गरेका थिए तर प्रहरीले फ्रिट्ज अरु कोही नभएर पिटर नै भएको निश्कर्ष निकाल्यो र उनको खोजी रफ्तारमा गर्न थाल्यो । सन् १९२९ मे १५ को दिन मारिया बुडलिक काम खोज्ने सिलसिलामा ड्युसल्डोर्फको रेलवे स्टेशनमा उत्रिइन् । एकजना ब्यक्तिले बाटो देखाइदिने भन्दै जंगलको बाटोतिर लगे ।

जंगलभित्र पुगेपछि मारियालाई डर लाग्यो र भाग्न थालिन् । त्यसैबेला हेर्दा भलादमी देखिने एकजना मान्छे त्यहाँ आइपुगे । बाटो देखाउने भन्दै जंगलतर्फ लाने पुरुष भागे । मारिया अब भलादमी देखिने ती व्यक्तिको पछिपछि लागिन् । सो व्यक्तिले मारियालाई आफ्नो कोठामा लगे । एक गिलास दूध र स्यान्डविच खुवाए । अनि दुवै जना छात्रावासतर्फ लागे । जंगलको बीचमा पुगेपछि पुरुषले भने, ‘तिमीलाई थाहा छ, यो कुन ठाउँ हो रु पख मै भन्छु । तिमी जंगलको बीचमा मसँग एक्लै छौ । तिमी जति चिच्याउन सक्छौ चिच्याऊ ।’

कुरो सकिन नपाउँदै मारियामाथि झम्टे । गर्धन पक्रेर घिसार्दै एउटा रुखमुनि लगे । अनि बलात्कार गर्न खोजे । तर मारिया उनको पञ्जाबाट छुट्न सफल भइन् । त्यसैबेला उक्त स्थानमा कसैको पदचाप सुनिन आएपछि ती व्यक्ति भागे । तर, मारियाले ती व्यक्तिको ठेगाना थाहा पाइसकेकी थिइन् । उनी र उनको एकजना साथी मिलेर प्रहरीलाई सबै कुरो सुनाए । प्रहरीले मारियालाई संगै लिएर ती व्यक्तिको खोजी गर्न शुरु गर्‍यो । मारियाले प्रहरीलाई ती व्यक्तिको घर लगिन् । उक्त घरको चौथो तलामा ती व्यक्तिको कोठा थियो, जहाँ एकदिन अगाडि मारियाले दूध र स्यान्डविच खाएकी थिइन् । उनीहरू पुग्दा पिटर त्यहीं थिए । मारियाले चिनिहालिन् । उनीमाथि बलात्कारको कोशिश गरेको आरोप लाग्यो तर सबुत प्रमाणको अभावमा छुटे । अब भने उनलाई लाग्यो कि प्रहरीको फन्दामा पर्नबाट बच्न गाह्रो छ । त्यसैले अर्को दिन पत्नी अगुष्टालाई ‘ड्युसल्डोर्फको राक्षस आफैँ भएको’ सुनाए ।

अगुष्टाले यो कुरो सुनेपछि छांगाबाट खसेको महसुस् गरिन् र सुटुक्क प्रहरीकोमा पुगिन् । ड्युसल्डोर्फको राक्षस अरु कोही नभई आफ्नै लोग्ने भएको बताइन् । प्रहरीले पहिला त पिटरको नाउँमा घोषित इनाम हडप्न ती महिलाले पतिको नाउँ लिएको विश्वास गरे किनभने त्यतिबेलासम्म कसैलाई पनि ‘ड्युसल्डोर्फ पिशाच’ को नाउँले बदनाम पिटरको अनुहार कस्तो छ भन्ने नै थाहा थिएन । तर अगुष्टाले विश्वास दिलाएपछि उनैको सहयोगमा चर्च छिर्न लागेको समय पारेर प्रहरीले झ्याप पार्‍यो ।

उनीमाथि ९ हत्यालगायत ६८ अपराधको आरोप थियो । पटकपटक गरी २० वर्ष जेल बसिसकेका उनीविरुद्ध सन् १९३१ को अगस्त १३ मा मुद्दा दायर भयो । अदालतमा पेश गरिको दिन उनलाई हेर्न ठूलो भीड जम्मा भयो । प्रहरीले उनको सुरक्षार्थ फलामको पिंजडामा कैद गरेर अदालतमा पेश गर्‍यो । उनले न्यायाधीशसमक्ष अपराध स्वीकार गर्दै आफूमा यौनिक विकार भएको, मर्दै गरेको मान्छे छट्पटाउँदा आफूलाई यौन सन्तुष्टिको अनुभूत हुने गरेको र मृतकको शरीरबाट चुहिने रगत देखेपछि आफू स्खलित हुने गरेको बताए ।

धेरैले पिटरले प्रहरीसमक्ष आत्मसमर्पण गरेको भन्ने गरेका छन् । यसो भन्नेहरूका अनुसार उनैले पत्नीलाई प्रहरीकोमा पठाएका थिए । अदालतले उनलाई फाँसीको सजायँ सुनायो । गिलोटिन मेशिनतर्फ लाँदै गर्दा अन्तिम इच्छा सोधियो तर उनले ‘केही छैन’ भनी जवाफ दिए । र, जब गिलोटिनको नजिक पुगे, जेलको मनोचिकित्सकसँग ‘टाउको छिनाइसकेपछि शरीरबाट चुहिने रगतको आवाज सुन्न सकिन्छ कि सकिन्न’ भनेर सोधे । उनको भनाइ थियो, ‘रगत चुहिँदै गरेको आवाज सुनेर प्राप्त हुने जस्तो आनन्द अरु कुनै श्रोतबाट प्राप्त हुँदैन ।’ सन् १९३२ को जुलाई २ मा फाँसी पाउँदा उनी ४८ वर्षका थिए ।
   

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू