संक्रमण फैलनमा सरकार कहाँ चुक्यो ? फेरि कहाँ-कहाँ चुक्दैछ ?

संक्रमण फैलनमा सरकार कहाँ चुक्यो ? फेरि कहाँ-कहाँ चुक्दैछ ?

नेपालमा कोभिड- १९ (कोरोना भाइरस) को संक्रमण बढ्ने खतरा अत्यधिक छ, तर कतिपय संवेदनशील पक्षमा पूर्वतयारीको स्थिति भने धीमा गतिमा चलिरहेको देखिन्छ ।

हवाई प्रतिबन्ध

विदेशी मुलुकबाट काठमाडौं अवतरण हुने जहाजलाई निषेध गर्न ढिलाई हुँदा नेपालमा प्रवेश गर्न नसकेको संक्रमणले प्रवेश पायो ।

जस्तो कि, सरकारले कोभिड- १९ को संक्रमणलाई दृष्टिगत गर्दै चैत लागेदेखि नै अनेकन सजकता अपनायो । त्यसक्रममा अन्तर्राष्ट्रिय उड्डयन कम्पनीका अवतरण तर्फ पनि कडाई गरियो । तर, विभिन्न बहानामा त्यस्ता जहाजको अवतरण भने जारी रह्यो ।

त्यसक्रममा दुवईबाट फर्किएर दिल्लीमा अलपत्र भएका २८ नेपालीको उद्दारका नाममा एयर इण्डियाको जहाज काठमाडौंमा अवतरण भयो । त्यसपछि सिल्क एयर र एयर इत्तेहादबाट काठमाडौं ओर्लिएका ७० नेपाली खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका छन् । यससँगै कतार एयरलाइन्सका जहाज अवतरणको क्रम बढ्यो । सरकारले त्यस्ता जहाजलाई रोक्न सकेन । फलतः कतार एयरलाइन्सको क्युआर- ६५२ कलसाइनको विमानबाट चैत ४ को उडानबाट दोहा हुँदै नेपाल अवतरण भएकी १९ वर्षीया युवतीमा कोभिड- १९ को संक्रमण भेटियो । ती युवती त तत्कालै क्वारेन्टाइनमा लगिइन् । तर, उनीसँगै सोही उडानबाट अवतरण भएका १ सय ५२ यात्रुबारे सरकार बेखबर रह्यो । अहिले यदि संक्रमण बढ्यो भने तिनै १ सय ५२ भित्रबाट बढ्ने खतरा छ ।

यसबाट बुझिन्छ कि, सरकारले संक्रमण नियन्त्रणका लागि प्रयास गर्दागर्दै पनि संक्रमणका कतिपय खतरालाई शुरुबाटै नजरअन्दाज गर्दै आयो ।

संक्रमण बढिहालेमा…

जसरी कोभिड-१९ संक्रमणका खतराबाट देशलाई मुक्त गर्न भएका अघिल्ला प्रयास पर्याप्त नहुँदा संक्रमण भित्रिएको छ, अब यो संक्रमण फैलिएमा यसबाट देशवासीलाई कम क्षतिसहित सुरक्षित राख्ने मौका सरकारसँग छन् । तर, त्यस्ता प्रयास भइरहेका देखिदैनन् ।

चीनले पटक-पटक नेपालका लागि संक्रमण फैलिएपछि आवश्यक पर्ने स्वास्थ्य सामाग्री तथा उपकरण उपलब्ध गराउने भनिरहेको छ । तर, ती सामाग्री लिने कुराको तत्परता कम भएको छ ।

चीनको प्रस्तावलाई मध्यनजर गर्दै सरकारले अहिले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा आएका बोइङ- ७४७ जत्रै बढी यात्रु क्षमताका कम्तिमा चार जहाज तयारी हालतमा राख्नुपर्ने हो ।

ती जहाजमा ४ सयका दरले यात्रु अटाउँछन् । सबैमा गरेर करिब हजार यात्रु (चिनियाँ स्वास्थ्यकर्मी) आउन सक्छन् । तर, त्यत्तिको संख्यामा स्वास्थ्यकर्मी चाहिदैन । त्यसैले दुई जहाजमा स्वास्थ्यकर्मी र तिनका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामान ल्याउन सकिन्छ भने अरु दुई जहाजमा कोभिड उपचारका लागि चाहिने औषधी तथा उपकरण ल्याउन सकिन्छ ।

यदि सरकारले समयमै यी प्रवन्ध मिलाउन सके संक्रमण फैलिएको अवस्था काठमाडौंलाई तिनै चिनियाँ स्वास्थ्यकर्मीले बचाइदिन्छन् । तर, यतातर्फको सरकारी तयारी न्यून छ ।

किनभने डेढ अर्ब जनसंख्या भएको भारत पनि यही खतराका कारण लकडाउनमा छ । साढे दुई करोड जनसंख्या भएको नेपालका निम्ति देशभर पनि हैन, मुख्य मुख्य शहरी क्षेत्रमा मात्र सजकता अपनाए पुग्छ । नेपालका कतिपय ग्रामीण क्षेत्र सडक सम्पर्क र आफैंमा सुरक्षित छन् ।

टिप्पणीहरू