युद्धका साक्षी र शान्तिका दुत

युद्धका साक्षी र शान्तिका दुत

-सुरेन्द्र नेपाल श्रेष्ठ

गत महिना युद्ध संग सम्बन्धित दुइ पुस्तकहरु पढ्ने मौका मिल्यो । दुवै पुस्तकहरु  कसैले शिफारिश गरेर वा पढ्नै पर्छ भनेर पढिएका थिएनन । मैले काम गर्ने स्कुलको एउटा कक्ष्या कोठामा एउटा सानो पुस्तकको बन्डल देखे।सबै पुस्तकहरु एउटै थियो। आवरणमानै नोबेल पुरस्कार बिजेता लेखक द्वारा लिखित पुस्तक भनिएको थियो। मैले सोचे यहि पुस्तक लेखे बापत पुरस्कार पाएको होला। १९८६ मा साहित्यमा कुन पुस्तकका लेखकले नोबेल पुरस्कार पाएको रहेछ भनेर गुगल गरे तर यो पुस्तकको नाम देखिएन। लेखकको नाम बाट खोज्दा उनले विश्व शान्तिको लागि पुर्याएको योगदानको लागि उक्त पुरस्कार पाएका  रहेछन । अगाडिका केहि पानाहरु  पढ्दा यो पुस्तक पुरै पढ्नै  पर्ने जस्तो लाग्यो।१२५ पृष्ठको सानो आकारको यो पुस्तक ” NIGHT” केहि दिनमा सकियो।यस प्रकृतिको पुस्तक यस अगाडी कहिल्यै पढेको थिइन्,बिषय प्रश्तुति  सारै राम्रो लाग्यो।अध्ययनको क्रममा  मनमा धेरै प्रश्नहरु उठे तर मलाई थाहा छ जवाफ त्यति सहज हुने छैन।

समय, मेसो  मिल्दा म प्राय विद्यालयको पुस्तकालयमा पसेर विभिन्न पुस्तकहरु पल्टाउने गर्छु। केहि पानाहरु पढ्ने गर्छु। पुस्तकका  नामहरु पढ्ने मलाइ एक किसिमको शौख नै बन्न लागेको छ। सोच्ने गर्छु यति धेरै जानकारी लिन कतिवटा जुनी लिन पर्ने होला ? अनि फेरि मन शान्त पार्छु संसारबारेका   उपलब्ध सबै जानकारी लिन नै किन पर्छ र ? यो सानो ज्यानलाई( दिमागलाई ) ति सबै बोझ पो किन बोकाउनु आबश्यक पर्छ र ?

एक बिहान खै किन हो जीवनी खण्डमा सिमित रहने निर्णय लिन पुगेछु। संसारका ख्याती प्राप्त धेरै मानिसहरुका, आफैले वा अन्य लेखक मार्फत जीवनी लेखिएका हुन्छन । पुस्तकहरु ओल्टाई पल्टाई गर्ने क्रममा एउटा पुस्तकमा मेरा हातहरु रोकिए र आँखाहरु थप सक्रिय भए अनि बसेर नै पढ्न थाले। पुस्तकको नामनै मन पर्यो ” AN ORDINARY MAN , THE TRUE STORY BEHIND HOTEL RWANDA” . पुस्तकको प्राकथक पढे पछि छोड्नै  मन लागेन। केहि दिन लगाएर सक्काए। यी दुवै पुस्तक लेखकहरु  ठुलो कालको मुखबाट बचेका तर आफ्नो आँखा अगाडी हजारौ, अझ लाखौ मानिसहरु मारिएका  देख्ने प्रत्यक्ष दर्शीहरु  थिए। नमारिए पछिका उनीहरुको सिंगो जीबनमा कस्तो छाप रह्यो होला ? बाँकी जीबन कसरि बिताए होलान  ? यसबारे थप जानकारी लिन उत्सुकता लागेर  केहि सन्दर्भ सामग्रिहरु पढे पछि यसबारे केहि लेख्ने रहर लाग्यो।

पहिलो पुस्तक

अहिले अन्तराष्ट्रिय समाचारमा फेरि एक पटक रुवाण्डा छाएको छ । वर्तमान कानागे सरकार विरुद्ध लागि रहेको एक विद्रोही समुह NATIONAL LIBERATION FRONT – FLN  ले सन् २०१८ मा गरेको हमलामा ९ जनाले ज्यान गुमाउन परेको थियो । यो घटना संग सम्बन्धित भनेर सन् १९९६ देखि निर्वासित जीवनमा रहेका Paul   Rusesabagin  लाई नाटकीय ढंग बाट रुवाण्डा सरकारको नियन्त्रणमा रहेको सार्वजनिक गर्यो ।  अन्य २० जना सहित Paul Rusesabagin लाई पनि हत्या हिशा र आतंक कारी गतिविधिमा संलग्न रहेको भनी  मुद्धाहरु  लगाइएको छ ।

Paul Rusesabagin सन् १९९४ मा रुवाण्डामा भएको नरसंहारकारी घटनाताका किगालीमा संचालित एक अन्तराष्ट्रिय होटलका मेनेजर थिए । उनी हुटु समुदायका भए पनि उनको होटलमा शरण को लागि आएका बहुसंख्यक तुत्सी  नागरिकहरु सहित करिब १३०० जनालाई ६८ दिन सम्म सुरक्षित राख्न सफल भएका थिए । जम्मा  ३०० जना सम्म ग्राहक राख्न सकिने होटलमा यति धेरै मानिसलाई त्यति लामो समय सम्म गास बास दिन सक्नु चानचुने विषय थिएन । त्यसमाथि पनि बिद्रोही  शेनाहरुको उपस्थितिमा पनि तीमध्ये एक जनाले पनि ज्यान गुमाउन नपर्नु अर्को आश्चर्यको विषय थियो ।

उनैले अर्को एक जना लेखक संग मिलेर आफ्नो जीवनीका साथै  यस घटनाको सचित्र बयान सहित लेखिएको किताब थियो त्यो ! उनले पुस्तकमा  बिद्रोही  शेनाहरुलाई फकाउन होटलमा भएका विभिन्न महंगो ब्रान्डका पेय पदार्थहरू, खाना र पैसा दिनुका साथै मिठो बोलिका कारण सबैको ज्यान जोगाउन  सफल भएको बताएका छन् । होटलमा पानी, बिजुली ,फोनको आपूर्ति बन्द भएपछिका दिनहरू अतिनै कष्टकर रह्यो । होटल को स्वीमिङ पुलमा जम्मा भएको पानीलाई सबैको भागमा बराबरी हिसाब गरेर प्रत्येक दिन निश्चित मात्रामा पानी वितरण गरेको , सीमित खानामा भर परेको बताएका छन् । जम्मा १०० दिनमा आठ लाख भन्दा बढी मानिसले ज्यान गुमाउन परेको त्यो घटनामा प्रत्येक मिनेट पांच नागरिकले ज्यान गुमाएको तथ्याङ्क छ । त्यस्तो अवस्थामा पनि एकै ठाउँमा जम्मा भएको करिब १३ सय  जना मानिस सकुशल राख्न सक्नु भनेको होटलका म्यानेजर Paul को कुशलता नै थियो । उक्त नरसंहार रोकिए पछिका दिनहरू भने उनको लागि सजिलो भएन । सन् १९९६ मा उनी माथि झण्डै ज्यान जाने गरी हमला भए पछि सपरिवार बेल्जियममा राजनीतिक  शरण लिन पुगेका थिए । त्यही कै नागरिकता प्राप्त गरे पछि अमेरिकाको ग्रिनकार्ड पनि लिएका थिए ।

उनको पुस्तकको आधारमा हलिउडले होटल रुवाण्डा चलचित्र बनाए पछि उनि एका एक विश्व विख्यात बन्न पुग्यो । धेरै ठाउँमा भ्रमण गरी सार्वजनिक मन्तव्यहरु दिन थाले । सन् २००५ मा राष्ट्रपति  जर्ज बुश बाट   President Medal of Freedam प्राप्त गर्यो ।   बेल्जियममा नै उनले पहिलो पटक रुवाण्डा बाहिर बसोबास गर्ने हरुको नेतृत्व गरेर सन् २००६ मा The Party For Democracy In Rwanda – PDR- Ihumure को स्थापना गर्यो । सन् २००९ मा उनलाई निशाना गरी उनको घरमा नै आक्रमण भयो । त्यस पछि उनी अमेरिकाको San Antonio Texas मा बसोबास गर्न थाल्यो । सन् २०१६ को रुवाण्डा को राष्ट्रपति निर्वाचनमा आफू पनि उमेद्वार बन्ने चाहना राखेका थिए तर त्यो सम्भव भएन । उनको राजनीतिक सक्रियता र रुवाण्डा को वर्तमान राजनीतिक  शक्ति विरुद्धको क्रियाकलाप लाई देखेर रुवाण्डा सरकारले उनी विरुद्ध कानूनी कार्यवाही गर्न पटक पटक बेल्जियम र अमेरिकी सरकार लाई पत्राचार गरेको थियो । जुन अहिले पनि चली रहेको छ । त्यसैले बेल्जियम सरकारले आफूले कानुनी प्रक्रिया चलाई रहँदा एक्कासी रुवाण्डामा अर्को मुद्धा चलाएकोले आपत्ति जनाए को छ ।

सन् २०१८ को घटनामा संलग्न भनिएका एक चर्चका पास्टर Constantin Niyomwungere लाई रुवाण्डा सरकारको निर्देशनमा पोल रुसेसाबागिन लाई पक्राउ गर्ने योजना बन्यो । पाष्टरले पोल लाई बुरुण्डिको एक चर्चमा विश्व शान्ति सम्बन्धी एक कार्यक्रममा प्रमुख वक्ताको रूपमा निमन्त्रणा गर्यो ।  पोललाई थप विश्वस्त बनाउन पास्टर आफै उनलाई लिन दुबई पुगेका थिए । २७ अगस्टमा  दुबई बाट दुवै जना एक विशेष विमान बाट उडान गर्दा पोललाई बुरुन्डी जाँदै छु जस्तो नै लागेको थियो । तर कहाँ विमान झारेर कता पुर्याइयो भन्ने बारे उनलाई रुवाण्डा सरकारले  ३१ अगस्टका दिन किगालीमा हतकडी लगाएर सार्वजनिक गर्दा मात्रै थाहा भयो । उनले आफुलाई अन्तराष्ट्रिय कानुन विपरित अपहरण गरेको आरोप लगाउँदै आफू कुनै आतंककारी गतिविधिमा संलग्न नभएको बताउँदै आएको छ । साथै उनी आफू  बेल्जियन नागरिक र अमेरिकी ग्रीन कार्ड बाहक भएको हुँदा रुवाण्डा को अदालतमा मुद्धा खेप्न नपर्ने जिकिर गरि रहेका छन। तर रुवाण्डको अदालतले यही मार्च १० तारेखमा  उनलाई थुनामा नै  राखी मुद्धा किनारा गर्ने आदेश भै सकेको छ । अन्तर्राष्ट्रिय रुपमा उनको पक्राउलाई गैर कानूनी रहेको आवाज उठेको पनि छ । त्यति ठूलो नरसंहार मा आफू सहित झण्डै १३ सय मानिसलाई बचाउन सफल भएर विश्वमा नै ख्याति कमाउन सफल व्यक्तिको जीवनको उत्तरार्धमा उनि माथि लगाइएको १३ वटा कसुरको फैसला पछि बाँकी जीबन   कसरी कहाँ बित्छ होला ? उनमा देखिएको राजनीतिक नेतृत्वको ईच्छा शक्तिले उनको भविष्य कता दोहर्याउँछ हेर्न बाँकी नै छ ।

दोश्रो पुस्तक

हिटलरले नेतृत्व गरेको नाजी पार्टीले शासन गरेको जर्मनीले दोश्रो विश्व युद्धमा विशेषत पूर्वी युरोका देशहरूमा अति नै ज्यादती गरेको थियो । झण्डै साठि लाख जिउजहरुलाई मारिएको त्यो घटनालाई होलोकस्ट पनि भन्ने गरिन्छ।  उनीहरुलाई मानिस भएर   ज्युन लाएक छैनन भनेर मारेका थिय  ।सबै भन्दा बढी मारिनेमा पोलिसहरुथिए । रोमानिया , लिथुआनिया, लात्भिया, इस्टोनिया लगायतका देशहरूबाट पक्राउ गरी करिब एक करोड बीस लाख मानिसहरूलाई दाश बनाइएको थियो।

रोमानियाको एउटा गाउँ सिघेटमा सन् १९२८ मा जन्मिएका एक बालक जो सपरिवार गाउँ भरिका जिउजहरुलाई पक्राउगरी दुई ठाउँमा बन्दी बनाइयो । जर्मनीको दबाबमा हंगेरीका शेनाहरुले उनीहरुलाई सन् १९४४ को में महिनामा त्यो गाउँ बाट जबर्जस्ती उठाएर लग्यो। उनीहरुलाई राखिएको ठाउँ लाई Auschwitz Concerntatuon Camp भनिन्थ्यो। त्यहाँ पुर्याइएका मध्य झण्डै ९०प्रतिशत मानिसहरूको सामूहिक हत्या गर्यो । उमेर बढीभएका , महिला, रोगीहरूलाई काम गर्न नसक्ने तर खाना मात्रै खुवाउनपर्ने हुँदा मारिन्थ्यो। बाँचेका मानिसहरूलाई भने दासलाई जसरी काममा लगाउँथे। समूहबाट मानिसहरूलाई छान्दा दाँया र बाँया लाग्न भनिथ्यो । बाँया जानेहरू सिधै मारिन्थे भने दायाँ जानेहरू निकै सास्तिका साथ बाँच्ने तर दिन प्रतिदिन पीडा भोक र रोगका कारण मर्दै मार्दै जान्थे । शुरुमा नै उनको आमा र बहिनी बाँया लाइनमा परेको थियो । दिदी दायाँ लाइनमा परे पनि महिला भएकोले अर्कै समूहमा थियो । बाबुछोरा भने पछि सम्म साथ साथै भए ।

ठूलोसमूह र सीमित खानापिन भएको हुँदा उनीहरूले कहिल्यै पनि पेट भरी खाना खान पाएनन्। दिन भरिमा खानको लागि एक टुक्रा पाउरोटी र थोरै सुप दिन्थे। सुप पिएर भोलि रोटी पाइने हो वा होइन भनी आधा टुक्रा रोटी लुकाएर भोलि लाई साँच्न पर्ने हुन्थ्यो । ठाउँ सर्दै जाँदा खाली खुट्टा हिउँका डाँडा काँडा काट्दा खुट्टा नै नभएको जस्तो महशुश  हुन्थ्यो। त्यही पीडाले धेरै दिन बीमारी पनि हुन्थ्यो । विमार पर्दा पनि सक्दिन भन्न नपाइने , भनेको नमान्दा पिटाइ खानु पर्ने पीडा सहन नसक्दा अन्तत उनको बुबाले पनि साथ छाडेर गयो । १९४५ को अप्रिल ११ का दिन युद्धको गति कम हुँदै गएको कारण अमेरिकी सेनाको सहायतामा बाचेका  बन्दि  जति स्वतन्त्र भएका थिए । उनको कानमा बुबाले अन्तिम पटक पानी पानी भनेको सम्झना अझै ताजा भएको वर्णन गरिएको छ।    आजको रात बिताउन पाए भोलिको उज्यालो हेर्न पाइने त्यो उत्कट इच्छानै उनीहरू बाँच्नुको मुख्य उद्देश्य हुन्थ्यो र  त्यो रात अति प्यारो हुन्थ्यो ।  त्यसैले यो पुस्तकको शीर्षक NIGHT राखिएको रहेछ ।

बाबु आमा र बहिनी गुमाएका करिब १७ वर्षको केटो अन्य बाचेका १००० बालकहरू सहित फ्रान्स सरकारको उद्धारमा एउटा गाउँमा पुग्छन।  केही समय पछि पेरिस पुगेर उनी पत्रकारितामा संलग्न भएका थिए। १९ वर्षको उमेर देखि उनी पत्रकारितामा निकै सक्रिय भए। शुरुमा  आफूले भोगेका कुनै पनि अनुभवहरु सार्वजनिक नगर्ने निधो गरेको भएतापनि पछि भने  केही साथीहरूको अनुरोधलाई नकार्न सकेनन् । पत्रकारीता कै सिलसिलामा उनी इजरायल पनि पुगे । उनले पहिलोपटक ९०० पानाको पुस्तक “And The World Remined Silence” Yiddish भाषामा   लेखेका थिए । त्यसैलाईअलि छोटो बनाएर सन्१९५५ मा फ्रेन्च र१९६० मा अङ्ग्रेजी भाषामा उल्था गरिएको थियो । पछि विभिन्न ३० भाषामा प्रकाशन भयो । अमेरिकामा मात्रै एक करोड प्रति बिक्री भएको थियो।

सन् १९५५ पछिउनी स्थायी रूपमा अमेरिकामा नै बसोबास गर्नथाले । सन् १९६९मा एक अस्ट्रियन महिलासँग विवाह गरेर एक छोरा भयो । आफ्नो बाबुको सम्झनामा छोराको नाम पनि बाबुकैजस्तो SHLOMO  WIESELराखेका थिए ।

उनको बाँकी  जीवन पुरै विश्वशान्तिको लागि बिताए ।करिब ५० वटा पुस्तकहरू ,विशेष त होलोकस्ट संग सम्बन्धित कथा निबन्धहरुनै थिए ।  लामो समय सम्म  अन्तर्राष्ट्रिय होलोकस्ट शोशाइटीको   प्रमुख बने । सन् १९७५मा एक अर्को साथीसँग मिलेर MOMENT म्यागजिनको शुरुवात गरेका थिए । उनले आफ्नो अनुभवहरू सँगालेर अर्को दुई पुस्तकहरु  पनि लेखेका छन् । शुरूदेखि सन् १९६९ सम्मको घटनालाई  “All Rivers Run To The Sea”  १९९४ मा र त्यसपछिको कहानी सन् १९९९ मा “And The Sea Is  Never Full ” मार्फत व्यक्त गरेका छन् । उनले सन् १९८६ मा विश्वमा शान्ति स्थापना गर्न खेलेको भूमिका बापत नोबेल पुरस्कार प्राप्त गर्यो । यस बाहेक उनले संसार भरीबाट सयौ पदकहरु र ९० वटा कलेज बाट मानार्थ डाक्टरेटको सम्मान पाएका छन् । सन्२०१६ जुलाई २ मा ELIE WIESEL ले  आफ्नो भौतिक शरीर अमेरिकाको म्यानहयाटनमा छाडेका थिए ।भौतीक शरिरको अवसान पछि पनि उनले लेखेका कृतीहरु शान्तिको कामना फैलाइरहेका छन् । त्यो क्रम सायद शब्दहरुको आयु हुञ्जेल वा मान्छेको अस्तित्व रहुञ्जेलसम्म चलिरहन्छ । किनकी मानव जाती र शान्ति आपसी कुरा हो । बाँच्नका लागि शान्ति हुनुपर्छ तर युद्ध पनि सँगसँगै आइरहेको हुन्छ, चलीरहेको हुन्छ ।

अन्तरास्ट्रिय दिबसको प्रसङ्ग

दोस्रो विश्वयुद्धको समयमा आफ्नो ज्यान गुमाउनेहरूका लागि सम्झने  र मेलमिलापको दिन भनेर  संयुक्त राष्ट्र संघको साधारण सभाबाट नोभेम्बर २२, २००४ मा निर्णय भए  पछी प्रत्यक वर्ष मे ८ र ९ तारेखमा   वार्षिक अन्तर्राष्ट्रिय स्मरण दिबस मनाउदै आएको छ।त्यस्तै मे आठ कै दिन शान्ति स्थापनार्थ बिशुद्ध मानव भाव लिइ लामो समय देखि बिश्वमा सक्रिय रुपमा  क्रियासील रहेको अन्तरास्ट्रिय रेडक्रस दिवस पनि हो   !!!

युरोपमा दोश्रो विश्व युद्धको युद्ध विराम भएको दिन सन् १९४५  मेको  ८ गते राति र समय अन्तरालको कारण रशियामा  मे को ९ तारिखको दिनलाई  युद्धमा वीरगति पाएका र घाइते भएका हरुलाई सम्झिने  चलन छ । यसलाई Victory in Europe Day पनि भनिन्छ ।  १ सेप्टेम्बर १९३९ मा शुरू भएर छ वर्ष दुइ दिन चलेको  यो युद्ध र युद्ध संग सम्बन्धित भोकमारी र महामारीको कारण  झण्डै आठ करोड मानिसले ज्यान गुमाएको अनुमान गरिन्छ ।घाइते ,बेपत्ता , शरणार्थी लगायत मानबिय र भौतिक क्षतीको हिसाबले  सारा संसार नै यो युद्ध बाट तहस नहस नै भएको थियो।  त्यस पछाडि पनि  विभिन्न देशहरूमा भएका र हुँदै गरेका अनगन्ती स्थानीय र बहुदेशिय युद्धहरुमा मानव जातिले ठूलो क्षति भोग्न परी रहेको छ । युद्धमा मारिएकाहरु त छँदै छ  तर बाँचेकाहरुले  त्यो युद्धमा भोग्न परेका पीडाहरुलाई आफू नमरुन्जेलसम्म कसरी  व्यहोर्न पर्छ होला ?त्यो सम्झिदा पनि कहाली लाग्दो हुन्छ ।राजनीतिक परिवर्तनका लागि बलिदान गर्नेहरूको इतिहास कहिले सम्म लेख्दै जानु पर्ने नियती होला ? युद्धका घाउहरू निको हुन लाग्दा फेरि कन्याएर चहर्याउनेहरु राज्य शक्तिमा फेरि पुर्नस्थापित हुने परम्परा कहिले देखि नामेट हुन्छ होला ? प्राकृतिक रूपमा झेल्न पर्ने साना–ठूला विपत्ति त् छदै  छ त्यस  माथि मानव सृजित नरसंहारले विश्वसमुदायले कहिले मुक्ति पाउने होला ? यी र यस्तै अनुत्तरित प्रश्नहरू सहित आज सम्म कुनै पनि नाममा गुमेका ज्ञात–अज्ञात सङ्ला जीवनहरु र जीवन बचे पनि शारीरिक र मानसिक पीडामा रहेका संसारका सबै शान्तिप्रिय मानवहरुको सम्मान सहित सम्झना गर्न चाहन्छु ।

टिप्पणीहरू