मोरङ ४ मा को असली कम्युनिष्ट ?

मोरङ ४ मा को असली कम्युनिष्ट ?

-रमेश उपाध्याय

मंसिर ४ गते आइतबार प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । मोरङ क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धन र एमालेका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । हुन त मोरङमा ६ वटा क्षेत्र छन् । तर अहिले ४ नम्बर निर्वाचन क्षेत्रकै चर्चा गरिँदैछ । 

एमालेले अन्य क्षेत्रमा जीतको आशा नगरेको बताइन्छ । एमाले कार्यकर्ताहरुकै मनोविज्ञानअनुसार अन्य क्षेत्रमा यस पटक विजयी हुन त्यति सजिलो छैन । त्यसैले पार्टीको सबै तागत निर्वाचन क्षेत्र नम्बर ४ मा लगाइएको छ । 

यस क्षेत्रको चुनावी दृश्यमा दुई जना महत्वपूर्ण व्यक्तित्व देखिन्छन । लोकतान्त्रिक वाम गठबन्धनका अमनलाल मोदी र एमालेका नेता विनोद ढकाल । मोदी र ढकाल दुवै कम्युनिष्ट नामका पार्टीसँग सम्बन्धित् छन् । प्रतिनिधि सभामा यस क्षेत्रबाट जो विजयी भए पनि एउटा कम्युनिष्ट विचारको व्यक्तिले प्रतिनिधित्व गर्ने लगभग निश्चित छ । अब मतदाताले फैसला गर्नु पर्ने छ, मोदी र ढकालमध्ये कुन कम्युनिष्टलाई छान्ने ?  

जसरी चिनी हुनका लागि त्यसको स्वाद गुलियो हुनैपर्छ । त्यसैगरी कसैले आफू कम्युनिष्ट भएको दाबी गर्छ भने उसमा केही विशेषताहरु हुनै पर्दछ । कम्तिमा पनि उ जनताको सेवक, नैतिक आचरणमा बसेको र शिक्षा, स्वास्थ्यजस्ता आधारभूत अधिकार निःशुल्क हुनुपर्ने कुराको वकालत गर्ने हुनुपर्दछ । 

मोरङ क्षेत्र नम्बर ४ मा निर्वाचन लड्दै गरेका मोदी र ढकालमध्ये तुलनात्मक रुपमा कम्युनिष्ट चरित्र अमनलाल मोदीमा रहेको भन्नेमा सम्भवतः कसैको पनि विमति नहोला । विगतमा ढकालको छबि नकारात्मक देखिएको थियो । उनले जनताको सेवाभन्दा पनि जनतालाई दुःख दिने अपराधी र गुण्डाहरुको संरक्षण गरेको आरोप लाग्दै आएको छ । 

एमालेको सत्ता र शक्तिका आडमा छोटो अवधिमा अकुत अर्थोपार्जन गरेको भन्नेहरु पनि कम छैनन् । महँगो शुल्क असुल्ने नीजि स्कुल सञ्चालन गरेर समाजवादको खिल्ली उडाएको भन्दै खिसिटियुरी हुँदै आएको छ । अर्कोतिर मोदी यी कुराबाट टाढा देखिन्छन् । 

सप्तरीको बरमझियामा पेडाका धेरै पसल छन् । ती सबैले शुद्ध पेडा बिक्रीको दाबी गरेका हुन्छन् तर सबै शुद्ध छैनन् । मोरङ क्षेत्र नम्बर ४ मा पनि कम्युनिष्ट पार्टीका नाममा ढकाल र मोदीले भोट मागिरहेका छन् । बरमझियामा पेडा खरीद गर्ने ग्राहक अलमलिएजस्तै यहाँ पनि मतदातामा अन्यौल हुन सक्छ । 

मोदीले चुनाव जितेर संसदमा शिक्षा र स्वास्थ्यको व्यापारीकरणको विरुद्ध नीति वा कानून बनाउन भूमिका खेल्न सक्छन् जुन ढकालबाट अहिलेसम्म आश गर्ने ठाउँ देखिँदैन । मोदी भ्रष्टाचारविरुद्ध खरो उत्रन सक्लान् तर ढकाल सक्दैनन् भन्नेहरु धेरै छन् । मोदी अहिले पनि शोषित, पीडित र निम्न वर्गका मानिससँग घुलमिल गरिरहेका छन् तर ढकालको सम्बन्ध उच्च घरानियासँग मात्र रहेको अधिकांशले देखेकै हुन् । त्यसैले सो क्षेत्रका मतदाताले कसलाई मतदान गर्ने भन्ने निक्र्यौल गर्न अब ६० घण्टा मात्र बाँकी छ ।

(लेखक स्वतन्त्र वाम वुद्धिजीवी हुन्)

टिप्पणीहरू