चुनौती दिनेलाई तह लगाउने ओलीको जुक्ति, पाण्डेको चेतावनी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफूलाई चुनौती दिनेलाई तह लगाउने गरी अघि बढेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहलाई उद्घाटन सत्रमा बोल्न निषेध गरेका उनले बन्द सत्रमा पनि त्यस्तै गरेका गरेका हुन् ।
यसअघिका महाधिवेशनमा बन्दसत्र सञ्चालनका लागि अध्यक्षमण्डल बनाउने परम्परा थियो । तर, यसपटक ओलीले अध्यक्षमण्डल नै गठन गरेनन् ।
केही बेरअघि सुरू भएको बन्द सत्रलाई सम्बोधन गरेका उनी एक्लैले छलफल अघि बढाएका छन् । अध्यक्षमण्डल बनाउँदा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षलाई पनि समेट्नुपर्ने हुन्थ्यो । त्यसलाई छल्न यस्तो गरिएको ईश्वर पक्षीय नेताहरूको बुझाइ छ ।
यता, उपाध्यक्ष सुरेन्द्र पाण्डेले अध्यक्ष ओलीको ‘मनपरीतन्त्र’विरुद्ध लड्न महाधिवेशन प्रतिनिधिहरुलाई आह्वान गरेका छन् । दिउँसो बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकबाट ओलीले विधान संशोधनगरी पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने निर्णय कायम गर्ने निर्णय गराएपछि पाण्डेको यो प्रतिक्रिया आएको हो ।
सामाजिक सञ्जालमार्फत् उनले विधान महाधिवेशनको औचित्य जोगाउन प्रतिनिधिहरूलाई आग्रह गरे ।
‘हिजो विधान अधिवेशनअगाडि संख्या घटाऔँ भन्ने, अनि आज फेरि कोटाका नाममा त्यही संख्या बढाऔँ भन्ने-यो सरासर मनपरी होइन भने के हो ?’, पाण्डेले भनेका छन्, ‘अहिले आएर दाँया–बाँया गर्ने हो भने विधान अधिवेशनको औचित्य नै समाप्त हुन्छ । यो मनपरीतन्त्रको विरुद्धको लडाइँ जारी छ । पार्टी विधान, विधि र प्रक्रिया अनुसार चल्नु अनिवार्य छ ।’
टिप्पणीहरू