गएका मन्त्रीलाई गुन

गएका मन्त्रीलाई गुन

मन्त्री फेरिए तर सचिवको ताल फेरिएन । हटेका मन्त्रीको गुन तिर्न सचिव अनेक प्रपञ्च रच्दैछन् । शहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारीले हटिसकेका मन्त्री मोहम्मद इस्तियाक राईनको चाकडीका लागि गरेका काम देखेर कर्मचारीहरु लज्जित छन् । बहालवाला मन्त्री र राज्यमन्त्री ती हर्कतबारे बेखबर छन् ।

जगेडामा रहेका मधुसूदनलाई तत्कालिन मन्त्री राईनले सहसचिव कृष्णप्रसाद दवाडीको सल्लाहमा शहरी विकास मन्त्रालय सरुवा गराएका थिए । त्यही गुन तिर्नका तत्कालिन मन्त्री राईनका प्रेस सल्लाहकार दिनेश पाण्डेलाई हुँदै नभएको पद श्रृजना गरेर जागिर खुवाउने अन्तिम तयारीमा मधुसूदन लागेका छन् । यसमा शहरी विकास तथा भवन निर्माण विभागका प्रमुख मणिराम गेलालको पनि मौन समर्थन रहेको छ ।

नयाँ शहर आयोजनामा काम र प्रेस संयोजकका रुपमा एडिभीबाट सीधै तलब/भत्ता पाउनेगरी पाण्डेलाई बिनाप्रतिस्पर्धा नियुक्तिको तयारी भएको हो । सचिव मधुसूदनले लकडाउनका समय गुपचुप विज्ञापन निकाल्न लगाएर पाण्डेलाई जसरी पनि नियुक्ति दिलाउन निरन्तर दबाब दिंदै आएका छन् । उनले विज्ञापनमा पाण्डेको योग्यताअनुसारको अनुभव मागेको आरोप पनि लागेको छ । तलब स्केल पनि नेपाल सरकारका सचिवको भन्दा आकर्षक राखिएको छ ।

सचिवको यस्तो हर्कतबारे बहालवाला मन्त्री वसन्त नेम्वाङ र राज्यमन्त्री रामवीर मानन्धर बेखबर छन् । यदि प्रेस संयोजक नै राख्न परे पनि खुल्ला प्रतिस्पर्धाबाट सक्षम, योग्य र विषयविज्ञ पत्रकारहरुलाई राखिनु पर्नेमा सचिवले निरन्तर पाण्डेको नाममा दवाव दिंदा विभागका कर्मचारी पनि अचम्मित छन् । यतीबेला मन्त्रालयमा पनि पाण्डेले बेला बेलामा आएर कर्मचारीलाई आफू समाजवादी पार्टीको सल्लाहकार रहेको र राईन पुन मन्त्री भएर यही मन्त्रालयमा आउने भन्ने गरेको कर्मचारीहरु बताउँछन् ।

आगामी आर्थिक वर्षको बजेटमा समेत मन्त्री नेम्वाङ र मानन्धरलाई भन्दा राईनकै आदेशमा सचिवले योजना बनाएको देखिन्छ । यी सचिवले आफू पनि कम्युनिष्ट विचारधारा मन पराउने गरेको सार्वजनिक समारोहहरुमा बताउने गरेका छन् । तर घाँटी र मन भने समाजवादी नेता राईनसँग जोडिएको छ। सचिवको यसखाले धन्दाले बालुवाटार पनि हैरान भएको चर्चा छ ।

टिप्पणीहरू